कहिले छ नेपालीको खेल ?

पेरिस ओलम्पिक, २०२४ आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । एक सय वर्षपछि ओलम्पिक पेरिस फर्किएको छ र यसपटक विगतको भन्दा फरक शैलीमा उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोह रंगशालामा नभएर पेरिस भएर बग्ने सेन नदीमा हुँदैछ । विश्वभरका उत्कृष्ट खेलाडी जम्मा हुने खेल कुम्भमेलामा १० हजार भन्दा बढी खेलाडीको सहभागिता छ । उद्घाटन समारोहमा नेपालबाट टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले नेपालको झण्डा बोक्नेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले लैंगिक समानता बनाउन टोकियो ओलम्पिक २०२० देखि हरेक देशबाट समान एक महिला र पुरुष खेलाडीले झण्डा बोक्ने निर्णय गरेको थियो । विश्वका २०६ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन । ब्रेक डान्सले पेरिस ओलम्पिकमार्फत ओलम्पिकमा डेब्यु गर्दैछ ।

फ्रान्सेली मौसम विभाग मेटेओ फ्रान्सका अनुसार उद्घाटनका बेला पानी पर्ने थोरै मात्र सम्भावना छ । पानी परेमा पनि उद्घाटन समारोह योजना अनुसार नै हुने बताइएको छ । खेलाडीहरूले डुङ्गामा चढेर मार्चपास गर्नेछन् । नेपाली खेलाडी श्यान्टु र मनितासहित पेरिस ओलम्पिकमा नेपालबाट विभिन्न ६ खेलका ७ खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेकज्यान्डर शाह र डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र सुटिङकी सुस्मिता नेपालले पनि पेरिस ओलम्पिकमा सहभागिता जनाउने छन् ।

पौडीका एलेकज्यान्डर बाहेक बाँकी ६ खेलाडी पहिलो पटक ओलम्पिक खेल्दैछन् । त्यसमा पनि ब्याडमिन्टन र टेबल टेनिसबाट पहिलो पटक नेपाली खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । टेबल टेनिसका श्यान्टुले दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाएका हुन् । उनी नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक पुग्ने तेस्रो खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । एथ्लेटिक्स खेलाडी सन्तोषी बाहेक उद्घाटन समारोहमा नेपालका सबै खेलाडी उपस्थित हुनेछन् । सन्तोषीले प्रतिस्पर्धा गर्ने महिला म्याराथन अन्तिम दिन रहेकोले उनी जुलाई ३० मा मात्र पेरिस जानेछिन् । नेपाली टोलीको सेफ दी मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ छन् । नेपालबाट ७ खेलाडीसहित २७ सदस्यीय टोली पेरिस ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । नेपाली खेलाडीको स्पर्धा पेरिस ओलम्पिक उद्घाटनको भोलिपल्टदेखि नै सुरु हुनेछ । सुरुको पाँच दिनमै नेपालका ६ खेलाडीको प्रतिस्पर्धा भइसक्ने छ । एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठको स्पर्धा भने अन्तिम दिन अर्थात् अगष्ट ११ मा हुनेछ ।

श्यान्टु र प्रिन्सको खेल शनिबार

श्यान्टु र प्रिन्स आ–आफ्नो खेलको पहिलो नेपाली ओलम्पिक बन्दैछन् । छनोट चरण पार गरेर ओलम्पिक पुग्ने तेस्रो र टेबल टेनिसबाट ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी श्यान्टुको प्रारम्भिक चरणको खेल शनिबार हुनेछ । पुरुष र महिला फुटबल, रग्बी सेभेन्स, ह्यान्डबल र आर्चरीका खेलहरु भने उद्घाटन अघि नै सुरु भइसकेको छ । टेबल टेनिसको बुधबार भएको ड्र अनुसार पुरुष सिंगलमा श्यान्टुले प्रारम्भिक चरणमा सेनेगलका इब्राहिमा डायवसँग प्रतिस्पर्धा गर्नेछन् । टेबल टेनिसका खेल जुलाई २७ देखि सुरु हुनेछ र श्यान्टुले पहिलो दिनै खेल्नेछन् ।

पुरुष सिंगल्समा कूल ६७ खेलाडीको सहभागिता छ र त्यसमा श्यान्टु ६७औं वरीयतामा छन् । वरीयतामा पछि रहेका खेलाडीबीच प्रारम्भिक चरणमा खेल हुनेछ । प्रारम्भिक चरणमा ३ खेल हुनेछन् । यस चरणका विजेता खेलाडीहरू राउण्ड अफ ६४ मा प्रवेश गर्नेछन् । प्रारम्भिक चरणको खेल जितेमा श्यान्टु राउन्ड अफ ६४ को चरणमा प्रवेश गर्नेछन् । प्रारम्भिक चरणमा विजयी भए उनले हङकङका वाङ चुन टिङसँग खेल्नुपर्नेछ । श्यान्टुले ओलम्पिक खेल्ने सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गरे । ‘ओलम्पिक खेल्ने सपना पूरा हुँदैछ । त्यसमा एकदमै खुशी छु । अझ मार्च पासमा राष्ट्रिय झण्डा बोक्न पाउनु गर्वको विषय हो । ओलम्पिक इतिहासमै रंगशाला बाहिर हुन लागेको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा उत्साहित छु ।’ यस्तै आधा शताब्दी भन्दा लामो नेपाली ब्याडमिन्टनको इतिहासमा प्रिन्स ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी बन्दैछन् । प्रिन्स समूह पी मा छन् ।

उनी रहेको समूहमा विश्व वरीयतामा दुई नम्बरमा रहेका डेनमार्ककका भिक्टोर एक्सेल्सन समेत छन् । ब्याडमिन्टन पुरुष सिंगलमा ३६ देशका ४१ खेलाडी छन् । प्रिन्सले आफ्नो पहिलो खेलमा दुई पटकको विश्व च्याम्पियन समेत रहिसकेका डेनिस खेलाडी भिक्टोरसँग उद्घाटनको भोलिपल्ट अर्थात जुलाई २७ मा प्रतिस्पर्धा गर्दै ओलम्पिक थालनी गर्नेछन् । खेल पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा हुनेछ । तर नेपालबाट ब्याडमिन्टनमा कोही प्रशिक्षक नगएकोले प्रिन्स पेरिसमा प्रशिक्षकविहीन हुनेछन् । प्रिन्सले समूहमा आयरल्यान्डका नहत गुएन र इजरायलका मिसा जिल्बरमनसँग खेल्नेछन् । समूह चरणको खेलपछि शीर्ष स्थानमा रहने खेलाडीमात्र क्वाटरफाइनल प्रवेश गर्नेछन् । जुनियर विश्व वरियतामा शीर्ष स्थानमा रहिसकेका प्रिन्सले सानैदेखि ओलम्पिक खेल्ने सपना देखेका थिए जुन उनी पूरा गर्दैछन् । कुनै बेलान टिकट काटेरै ओलम्पिक हेर्ने लक्ष्य बनाएका प्रिन्स अहिले आफैं ओलम्पिक बन्दैछन् ।

सुस्मिताको खेल जुलाई २८ मा

सुटिङकी सुस्मिता नेपाल पहिलो पटक ओलम्पिक खेल्दैछन् । वाइल्ड कार्डबाट पेरिस ओलम्पिकका लागि छानिएकी उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा जुलाई २८ मा हुनेछ । सुस्मिताले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेकी छन् । पहिलो दिन क्वलिफायरका खेल हुनेछ भने जुलाई २९ मा फाइनल चरणका खेल हुनेछ ।

मनिताको खेल जुलाई २९ मा

उद्घाटन समारोहमा श्यान्टुसँगै नेपालको झण्डा बोक्ने जुडोङ्की मनिता पहिलो पटक ओलम्पिक खेल्दैछिन् । उनी एसियाली कोटामार्फत पेरिस ओलम्पिकका लागि छनोट भएकी हुन् । मनिताले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । ड्र मा उनी पुल ए मा छिन् । जहाँ उनले पहिलो खेलमा सर्वियाका मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्नेछन् । यस खेलको विजेता राउण्ड अफ १६ मा प्रवेश गर्नेछ ।

पौडीका दुवै खेल जुलाई ३० मा

पेरिस ओलम्पिकमा नेपालबाट पौडीमा मात्रै दुई खेलाडीले सहभागिता जनाउँदैछन् । एलेक्ज्यान्डर (एलेक्स) शाह लगातार दोस्रो पटक ओलम्पिक खेल्दैछन् भने डुवाना लामाको यो पहिलो ओलम्पिक सहभागिता हुनेछ । एलेक्स र डुवाना दुवैको पहिलो खेल जुलाई ३० मा हुनेछ । पौडीको प्रतिस्पर्धा ओलम्पिक एक्वाटिक सेन्टर र पेरिस ला डिफेन्स एरेनामा हुनेछ । दुवै खेलाडी वैदेशिक प्रशिक्षण बाट सिधै पेरिस पुगेका छन् । एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्टको हिट चरणको खेल जुलाई ३० र फाइनल चरण जुलाई ३१ मा हुनेछ । यस इभेन्टमा ६५ देशका ७९ खेलाडी सहभागि छन् । अमेरिकामा अध्ययन र प्रशिषण गरिरहेका एलेक्स उतैबाट पेरिस गएका हुन् । यस्तै डुवानाले महिला २०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गर्नेछिन् । डुवाना सहभागि इभेन्टको हिट चरणको खेल जुलाई ३० मा हुनेछ भने फाइनल चरणको खेल जुलाई ३१ मा हुनेछ । यस इभेन्टमा डुवानासँगै २७ खदेशका ३१ खेलाडी सहभागि छन् । थाइल्याण्डमा अध्ययन र प्रशिक्षण गरिरहेकी डुवाना उतैबाट पेरिस गएकी हुन् ।

सन्तोषीको खेल अन्तिम दिन

नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषी महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । उनको यो पहिलो ओलम्पिक सहभागिता हो । सन्तोषी नेपालबाट ओलम्पिकमा महिला म्याराथनमा सहभागिता जनाउन लागेको यो तेस्रो पटक हो । यसअघि सन् १९९६ को एटलान्टा र १९८८ को सोल ओलम्पिकमा महिला म्याराथनमा भाग लिएको थियो । पेरिस ओलम्पिकको समापन अगष्ट ११ मा हुनेछ । त्यही दिन महिला म्याराथनको इभेन्ट राखिएको छ । जहाँ सन्तोषीसहित विश्वका ९५ धाविकाले भाग लिनेछन् ।