टेबलटेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकका लागि अस्ट्रेलियाबाट सिधै पेरिस लागेका छन् । पछिल्लो समय त्यहीं रहेर आफूलाई तयार पारेका उनी पेरिस ओलम्पिकको शुक्रबार हुने उद्घाटन समारोहमा सहभागी हुनेछन् । पेरिस ओलम्पिकमा यसपालि नेपालबाट सात खेलाडीले सहभागिता जनाउनेछन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झन्डा स्यान्टु र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोक्ने तय भएको छ । टोकियो ओलम्पिकदेखि लैंगिक समानताका लागि उद्घाटनको मार्चपासमा महिला र पुरुष दुवै खेलाडीको प्रतिनिधित्व गराइनुपर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको नियम छ । त्यहीअनुसार नेपालबाट दुई खेलाडी छानिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । केही वर्षयता स्यान्टु अस्ट्रेलियामा अध्ययनरत छन् । उनी आईटीमा मास्टर्स गर्दै छन् । उनी जेठ पहिलो साता ओलम्पिक छनोट खेल्न नेपाल आएका थिए । छनोटबाट पेरिसको टिकट सुरक्षित गरी उनी उतै फर्केका हुन् । दक्ष स्पाइरिङ पार्टनरका लागि उनले थप प्रशिक्षण क्याम्प अस्ट्रेलियामै गर्ने निर्णय गरेका थिए ।
स्यान्टुका प्रशिक्षकका रूपमा पेरिस जान लागेका प्रशिक्षक राजेन्द्र कपालीले कान्तिपुरसँग भने, ‘उनको तयारी राम्रो भइरहेको पाएको छु । उनले नियमित ट्रेनिङका फोटो, भिडियो पठाइरहेका छन् । आवश्यक सुझाव लिइरहेका छन् । यहाा भएको भए उसलाई स्पाइरिङ पार्टनरकै समस्या हुन्थ्यो, उता दक्ष पार्टनरसागै प्रशिक्षणरत छन् । यसले राम्रो नै भएको छ ।’ स्यान्टु ओलम्पिक छनोट भएसँगै नेपाली खेलकुदका केही संयोगहरू जोडिएका छन् । उनले नेपाली टेबलटेनिसलाई पहिलोपल्ट ओलम्पिकको मञ्चमा पुर्याए भने छनोट प्रतियोगिता जितेर ओलम्पिक खेल्ने देशको तेस्रो खेलाडीमा आफ्नो नाम लेखाए । आफ्नै भूमिमा ओलम्पिकको छनोट खेल्ने सौभाग्य पनि पाए । पहिलोपल्ट टेबलटेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट नेपालमै आयोजना भएको थियो ।
पछिल्लो पटक बेइजिङ २००८ मा तेक्वान्दोका दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए । त्यसअघि २००४ ग्रिसमा तेक्वान्दोकी संगीना वैद्यले छनोट भएर सहभागिता जनाएकी थिइन् । यी दुईबाहेक छनोट खेलेर ओलम्पिक पुग्ने तेस्रो खेलाडी स्यान्टु नै हुन् । नेपालमा ब्याडमिन्टन जति पुरानो छ, टेबलटेनिस खेल पनि त्यति नै छ । यसपालि यी दुवै खेलका खेलाडी एकै पटक ओलम्पिक छनोट हुनु अर्को संयोग हो । ब्याडमिन्टनबाट भने प्रिन्स दाहालले ओलम्पिक खेल्दै छन् ।पेरिस ओलम्पिकमा स्यान्टुले मेन्स सिंगलमा प्रतिस्पर्धा गर्नेछन् । टेबलटेनिसका १ सय ७२ खेलाडीमध्ये मेन्स सिंगलमा ६७ खेलाडीको सहभागिता रहनेछ । ‘ड्र’ हुन बाँकी भएको उनको प्रारम्भिक चरणको प्रतिद्वन्द्वी तय भएको छैन । स्यान्टु वरीयताको पुछारमा छन् । उनीभन्दा अगाडि जोर्डन र माल्दोभाका खेलाडी छन् । ६४ भन्दा बढी खेलाडी भएकाले राउन्ड अफ ६४ भित्र पर्न उनीहरूले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रशिक्षक कपाली भन्छन्, ‘हाम्रो लक्ष्य भनेको वर्ल्ड र्याङकिङमा सुधार गर्ने हो । विश्वका एकसेएक खेलाडी छनोट भएर आएका हुन्छन्, उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन दिन सक्नु हाम्रो उपलब्धि हुनेछ ।’ देशको नम्बर वान भइसकेका र थुप्रै अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी भएकाले स्यान्टुले पेरिसमा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको कपाली बताउँछन् । टेबलटेनिसबाट स्यान्टुले त ओलम्पिक खेल्छु भन्ने सपना त देखेका थिएनन् किनकि ओलम्पिक पुग्ने बाटो निकै कठिन थियो । एसियालीस्तरको छनोट चरण पार गरेर पुग्ने सम्भावना ज्यादै न्यून हुन्थ्यो ।दक्षिण एसियालीस्तरमा हो भने राम्रो गर्न सक्नेमा भने उनी आशावादी थिए । स्यान्टुले छनोट जितेपछि सुनाएका थिए, ‘ओलम्पिक खेल्ने विश्वास नै थिएन । जतिबेला दक्षिण एसियाली छनोट हुने खबर पाएँ, त्यसपछि मैले ओलम्पिक सपना बुन्न थालें अनि अस्ट्रेलियामै नियमित अभ्यास गरेको थिएँ, त्यही मिहिनेतको फल मिलेको छ ।’
छनोट यात्रा
बलियो टोली भारतका खेलाडी विश्व वरीयताभित्र रहेर ओलम्पिक छानिसकेकाले दक्षिण एसियाली छनोटमा भारतको सहभागिता थिएन । नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्स प्रतिस्पर्धी थियो । त्यसले गर्दा नेपालको पनि बलियो सम्भावना थियो । पुरुषतर्फ स्यान्टु र संयोग कपाली तथा महिलातर्फ नविता श्रेष्ठ र इभाना थापाले छनोटमा प्रतिस्पर्धा गरेका थिए । दुवैतर्फ च्याम्पियन हुने खेलाडी मात्र पेरिस पुग्ने थियो । पुरुषतर्फ दुवै नेपाली फाइनल पुगे । जो जिते पनि इतिहास रच्नेवाला थिए । अन्ततः स्यान्टुले संयोगलाई ४–३ को प्रतिस्पर्धात्मक सेटमा हराएर पेरिस यात्रा पक्का गरेका थिए । संयोग ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् । महिलातर्फ भने आशा गरिएकी नवितासहित इभाना पनि फाइनल पुग्न सकिनन् । महिलातर्फ माल्दिभ्सकी फतिमाथ अली ओलम्पिक छनोट भएकी थिइन् । उनले फाइनलमा श्रीलंकाकी बिमन्दी बन्दरालाई रोक्दै ओलम्पिकमा छनोट हुने पहिलो माल्दिभ्सको खेलाडी बनेकी थिइन् ।
स्यान्टुको खेलयात्रा
२४ वर्षीय स्यान्टु टेबलटेनिसका चार पटक राष्ट्रिय च्याम्पियन खेलाडी हुन् । उनको पुर्ख्यौली घर दोलखामा हो । तर, उनी काठमाडौं कोटेश्वरमा हुर्के, बढे । सानो उमेरमा उनी दाइहरूको संगतमा पौडी पोखरीहरूमा पुग्थे । बिस्तारै पौडीतिर आकर्षित भए । ३–४ वर्ष पौडी खेले । यता स्कुलमा टेबलटेनिस पनि सिकिरहेका थिए । उनी पढ्ने नोबेल एकेडेमीको टेबलटेनिस प्रशिक्षक भने नविता श्रेष्ठ थिइन् । जब उनले टेनिसमा जुनियर प्रतियोगिता जितेर घाँटीमा पदक झुन्ड्याए, तब उनको यस खेलप्रति रुचि बढ्न थाल्यो । पौडीलाई चटक्कै छाडिदिए । २–३ वर्ष खेल्दा पनि पौडीमा पदक नजितेको ईखले उनी टेबलटेनिसतिर फड्किएका थिए । आफ्नै चेला स्यान्टुसँग मिलेर नविताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको मिक्स डबल्स खेलेकी छन् । उनीहरूले चार अन्तर्राष्ट्रिय प्रतियोगितामा जोडी बाँधेर खेलेका छन् । महिलातर्फकी सात पटककी राष्ट्रिय च्याम्पियन नविता पनि पेरिसमा स्यान्टुले राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्छिन् । भन्छिन्, ‘स्यान्टु एट्याकिङ प्लेयर हो, माइन्ड गेम खेल्न खप्पिस छन् । प्रतिद्वन्द्वीलाई बुझेर खेल्न सक्छन् । त्यसले गर्दा उनले राम्रो गर्न सक्छन् भन्ने विश्वास छ ।’
सन् २०१३ मा धनगढीमा भएको २५ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको मेन्स टिममा कांस्य जितेसँगै उनको पदक यात्रा सुरु भएको हो । स्वर्ण भने उनले २०१४ काठमाडौंमा भएको ३६ औं संस्करणको राष्ट्रिय च्याम्पियनसिपको जुनियर ब्वाइजतर्फ जितेका थिए । त्यसपछि उनले दर्जनौं राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर स्वर्ण जित्दै आएका छन् । २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले एक रजतसहित चार पदक जितेका थिए । त्यो नेपाली टेबलटेनिसको कीर्तिमानी प्रदर्शन थियो । सागको एकै संस्करणमा चार पदक जित्ने उनी एक्ला खेलाडी हुन् । १८ औं एसियाली खेलकुद, आईटीटीएफ वर्ल्ड च्याम्पियनसिपलगायतका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिएका स्यान्टुले दक्षिण एसियाली जुनियर तथा क्याडेट च्याम्पियनसिपहरूमा भने उनले तीनै थरीका पदक जितेका छन् । तीन पटक एनएनआईपीए वर्ष खेलाडी उनी एक पटक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पनि जित्न सफल खेलाडी हुन्