भोर :सार्थक गन्तव्य

१२५ वर्षअघिको सतीप्रथामा आधारित ‘झोला’ बनाएर आफ्नो फरक पहिचान बनाएका निर्देशक यादवकुमार भट्टराईले यसपटक ‘भोर’ चलचित्र निर्माण गरेका छन् । ‘भोरले’ मधेसको विद्यमान विकराल समस्याका रूपमा रहेको दाइजोलाई मुख्य विषयवस्तु बनाइएको छ ।मधेसको जनजीवनमा आधारित यो चलचित्रले मधेसका हरेक कथा, व्याथा र परिस्थिति उत्कृष्टताका साथ झल्काउने प्रयास गरको छ ।कृष्ण धरावासीको कथा भोर अँध्यारोबाट उज्यालोतिरको यात्रा हो । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको यो चलचित्रमा मिथिला नाट्य समूहका कलाकारलगायत नयाँ कलाकार पनि समावेश छन् । प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पूजा कर्ण आदि कलाकारले अभिनय गरेका छन् ।  चलचित्रका सबैजसो कलाकार स्थानीय छन, जहाँ रंगमञ्चका धुरन्धरदेखि नयाँ अनुहारसम्म अटाएका छन् । यो चलचित्रलाई दीपक बज्राचार्यले खिचेका हुन् ।चलचित्रलाई दृष्यको माध्यम मान्नेहरुका लागि भने दर्शकहरुले क्यामेरा म्यान दीपक बज्राचार्यलाई पनि धन्यवाद दिन्छन्। भाषिक रुपमा मैथिली भाषाको समेत प्रयोग गरिएको चलचित्रले प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको छ ।

परिवेश र कथावस्तु

चलचित्रले आफ्नो काँधमा सम्पूर्ण मधेस बोक्ने प्रयास गरेको छ । सम्पूर्ण कथा र त्यसले ल्याउने उत्कर्षमा कतै पनि परम्परागत नेपाली चलचित्रको झलक आउँदैन ।आँखाअघि मधेसको भाषा, चरित्र, जनजीवन देखिदै जान्छ र समस्यामाथि समस्या थपेर चलचित्र उत्कर्षमा पुग्छ । चलचित्रमा मधेसको गाउँ, त्यहाँको प्रहरी चौकी, ठूला बडा भनिनेहरुको पञ्चायती, खेतीपाती, एउटै घरमा अनगिन्ती बालबच्चाहरु र उनीहरुले साइकल सिक्दै गरेको दृष्यहरुले हरेक दर्शक मधेसमा पुग्छन् ।

छैठ पर्वको पूर्वसन्ध्यामा चलचित्र सुरु हुन्छ र अर्को छैठपर्वमा चलचित्रको सकिएको हो कि भन्ने आभास हुन्छ । चलचित्रमा मोटरसाइकल चढ्ने, घरमा ट्याक्टर राख्ने जस्ता प्रशस्तै मानिस देखिए पनि एउटा किसानको साढे दुई लाख रुपैयाँका लागि भौंतारिनु परेका दृश्यहरुले मधेसको परिवेश छर्लङ देखिएको महसुस हुन्छ ।

थोरै जमिन भएको जनकपुर नजिकको कुनै गाउँको किसानको जीवनमा आइपरेको घटनामा आधारित कथालाई चलिचत्रले आफ्नो विषय बनाएको छ ।छोरा जन्माउने आशामा ५ छोरीका पीता भएका ती किसान आफ्नो आयस्थाले परिवारसमेत राम्रोसँग चलाउन सक्तैनन् । जेठी छोरी अपाङ्ग भएका कारण माइली छोरीको विवाह खाडी मुलुकमा काम गर्ने एकजना मध्यमबर्गीय परिवारमा गर्ने तय हुन्छ । विवाहका लागि बाधक बन्छ दहेज ।

उमेर पुगिसकेकी छोरीलाई घरमा राख्ने अवस्था नभएपछि साढे सात लाख दिने सर्तमा छोरीको विवाह त हुन्छ, तर किसानले कसैगरी पनि श्रीमतीले लगाएको औंठी, घरको लैनो भैंसीसहित ५ लाखभन्दा बढी रकम दिन सक्तैन । यही दाइजोको पूरा रकम दिन नसकेपछि चलचित्रले गति लिन्छ र किसानलाई एकमाथि अर्को समस्या आउन थाल्छ । तर, यो समस्याको समाधान अन्य चलचित्र झैं कुनै हिरो आएर गर्दैन, त्यही घरभित्रकी अपाङ्ग छोरीको सक्रियतामा चलचित्रको ह्याप्पी इन्डिङ हुन पुग्छ ।

सबल पक्ष

 

धेरैजसो कलाकारहरु नाट्य क्षेत्रबाट आएका तर मूलधारमा नचिनिएका मधेसी समुदायबाट लिइएकाले कलाकारहरु जीवन्त लाग्छन् । उनीहरुको लवाइ, खवाइ, बोल्ने शैली र विषयसँगको एकाकारले उनीहहरु अभिनय गरिरहेका छन् भन्ने लाग्दैन ।सुरुमा दहेजको मोलमोलाइका केही दृश्यलाई निर्देशकले नाटकीय बनाउने प्रयास गर्दा भएका अभिनयका त्रुटी बिर्सने हो भने कतै पनि कथालाई बिझाउने तरिकाले कलाकार प्रस्तुत भएका छैनन् । स–साना नानीहरुको अभिनय पनि स्वाभाविक नै देखिन्छ ।

चलचित्रमा निर्देशकले सम्वादले भन्दा बढी दृश्यले बोल्ने प्रयास गरेका छन् । यही कारण आधाभन्दा बढी सम्वाद मैथलीमा भए पनि दर्शकलाई नेपाली भाषाकै चलचित्र हेरेको भान हुन्छ ।सरकारी अड्डा, प्रहरी चौकी र पहाडी समुदायसँग बाध्यत्मकरुपमा नेपाली बोल्दा पनि कथाको मागअनुसार नै मधेसी शैलीमा नेपाली भाषालाई प्रस्तुत गरिएको छ । मधेस बुझेका हरेकलाई यस्ता दृश्यले मोहित बनाउँछ । यही कारण करिब दुईघण्टा लामो चलचित्र हेरेर बाहिर निस्कँदा दर्शकहरु कथाका पात्रलाई मात्रै होइन, समग्र मधेसलाई माया गर्दै निस्कन्छन् ।

चलचित्रको सबैभन्दा महत्वपूर्ण पाटो अपाङ्ग महिलाले गरेको संघर्ष र निडरपन हो । चलचित्रले ‘दाइजो’को विषय बोकेको भए पनि खासमा यो चलचित्र एकजना अपाङ्ग युवतीको संघर्षको कथा पनि हो । एकजना बहिनी मारिनु र अर्की बहिनी अपहरणमा पर्नु, अर्की बहिनीमाथि हातपात हुनु र आफ्ना विवश र लाचार बुबा बिरामी पर्दा पनि ती निडर युवतीले जसरी समस्या समाधान गर्ने हठ गर्छिन् र कुनै पनि मूल्यमा अदालतबाट जित्न लागेको मुद्दा फिर्ता लिन्नन् ।

सुरुमा सुन्दर युवतीको विवाह गरेर सुन्दर घर बसाउने सपनाबाट सुरु भएको चलचित्र अन्त्यमा एउटी अपाङ्ग महिलाले चलचित्रलाई ह्याप्पी इन्डिङ गरिदिन्छन् ।तर, मूलधारमा जस्तो उनी हिरोइज्म देखाउँदिनन् । खासमा चलचित्रमा हिरोको भूमिका निभाएकी यी नायिकाले जम्मा तीन शब्द मात्र बोलेको देखाएर निर्देशकले आफ्नो क्षमता पुष्टि गरेका छन् ।यसबाहेक निर्देशकले बिम्बहरुको भरपूर प्रयोग गरेका छन् । विशेष गरी केटाकेटीले साइकल सिक्दै गरेको दृश्य, बुढो हुँदै गएका बुबाले आफ्नी विवाहित छोरीलाई साइकलमा बोकेर हिँडेको दृश्य र उकालोमा छोरी ओर्लनुपरेको दृश्य, समय परिवर्तन हुँदा देखाउने दृश्यहरु र समस्या आउन लाग्दा पूर्वसंकेतका रुपमा आउने दृश्यले निर्देशकले धेरै कुरा बिम्बमा भन्न खोजेका जस्तो देखिन्छ ।

हरेक पात्र, परिवेश, उनीहरुको लवाइ खवाइ र परिस्थितिलाई ध्यान दिएर कथामा बुनिएको छ । धेरैजसो विवाहित पुरुषहरु मोटरसाइकलमा हिँड्नु र अविवाहित युवाहरु पैदल हिँड्नुका पछाडि विवाहितले दाइदोमा मोटरसाइकल पाएको हुनसक्ने अनुमान दर्शकले गर्छन्

कमजोर पक्ष

चलचित्र ‘भोर’ स्वाभाविक किसिमको सत्यकथा झैं लाग्ने चलचित्र हो । तैपनि चलचित्रमा अस्वाभाविक रुपमा आउने सस्पेन्स, द्वन्द्व र कथाको उत्कर्षलाई पटकथाकारले केही नाटकीय बनाउने प्रयास गरेका छन् ।दहेजको रकमसँग मात्रै सरोकार राख्ने ससुराको भूमिकालाई मुख्य खलपात्रका रुपमा सिर्जना गर्दा यो स्वभाविकरुपमा फिल्मी मसलाझैं लाग्छ ।।चलचित्रका प्रत्येक फ्रेमबाट केही न केही भन्ने प्रयास गर्दा कुनै कुनैबेला आम दर्शकलाई झर्को लाग्ने दृश्य पनि आउँछन् । विशेषगरी नेपाल–भारत सीमानामा हुने लागू पदार्थको दुव्र्यशन र नेपालको जंगे पिलरलाई कथावस्तु भन्दा पर भए पनि झर्को लाग्ने गरी देखाउँदा कताकता नमिलेको झैं लाग्छ ।

निष्कर्ष

यो भन्न हच्किनुपर्दैन, चलचित्र ‘भोर’ नेपाली चलचित्रको इतिहासमा पहिलोपल्ट मधेसलाई मात्रै केन्द्रमा राखेर बनेको आकर्षक चलचित्र हो । मधेस बुझ्न चाहने, मधेसलाई पर्दामा हेर्ने र नयाँखालको कथाको रस लिनेहरुका लागि ‘भोर’ हेर्नैपर्ने चलचित्र हो ।  यो टाइमपास गर्नका लागि हेरिने चलचित्र होइन । कुनै प्रगतिवादी साहित्यको झलक दिने यो चलचित्र स्कुल–कलेजका विद्यार्थीका लागि ज्ञान लिने, बौद्धिक व्यक्तिका लागि दाइजो र नेपाली कानुनका विषयमा बहस गर्ने र कामकाजी व्यक्तिहरुका लागि एक छिन बौद्धिक मनोरञ्जन लिनका लागि  सार्थक गन्तव्य भने अवश्य हो ।