पेम्बाको कलाकारिता

वि.स. २०५९ सालदेखि नेपाली गायनमा सुनिदै आएको नाम हो पेम्बा छोटी शेर्पा । स्कूले जीवनदेखिनै गायनमा अभिरुचि लिदै आएकी पेम्बाको स्वरले एउटा निश्चित आकार र ठाउँ पाएपछि शेर्पा समुदायमा खुशीको लहर नै छायो । नेपाली गायनमा शेर्पा सम्प्रदायबाट पाइला चाल्ने प्रथम गायिका भएकाले उनको महत्व बढ्दै गयो ।
हिमाली जिल्ला सोलुखुम्बु गोलीमा जम्मिएकी पेम्बामा एउटा अद्भूत प्रतिभा देखिएको थियो । सानैदेखि साँस्कृतिक क्रियाकलापमा उनको लगाव थियो । हिमाल आरोहणमा विशेष दक्षता देखाएर संसार प्रसिद्ध भएको शेर्पा जाती कला संस्कृतिमा पनि अब्बल छ भनेर देखाउने काम पेम्बाले नै गर्र्दै आइरहेकी छिन् । आफ्नो जातीको कला संस्कृतिको उत्थानमा ईटा थप्न उनले संगीत क्षेत्र रोज्न पुगिन् । साम्बदेव सापकोटा, शिलाबहादुर मोक्तान र चन्दन श्रेष्ठसँग संगीत प्रशिक्षण लिएर गायनमा देखापरेकी पेम्बाका आधा दर्जन एल्बम प्रकाशित छन् । शेर्पा र नेपाली भाषाका गीत गाउँदै आएकी पेम्बा अहिले स्पेनमा बसेर आफ्नोे कलाकारिताको साथमा कर्म गरिरहेकी छिन् । बेला बेलामा नेपाल आएर गीत र एल्बम बनाउँदै र युरोपका कार्यक्रममा सहभागी बनिरहेकी छिन् । आफ्ना गीतमा आफै अभिनय पनि गर्दै आएकी छिन् । आफ्नै जातीय भेषभुषामा सजिएर अभिनय गर्न उनलाई मनपर्छ । एल्बमका कभर या स्टेज कार्यक्रममा पनि उनले यथोचित रुपमा आफ्नै मौलिक भेषभुषालाई महत्व दिदै आएकी छिन ।


उनका गीतहरु विभिन्न एल्बमहरुमा सुन्न सकिन्छ । हाम्रो नादिङ, दाक्पी शेर्वी लू नामक एल्बमका उनको शेर्पा भाषामा गाएका गीतहरु छन् भने ‘कच्चा चोला’ र ‘सेलोमा’ नामक एल्बममा नेपाली भाषाका गीतहरु । दुवै भाषामा मज्जाले खुलेकी छिन् । यी बाहेक यिनका शुभकामना सोल्टी ज्यू अल्लारे जोवन जस्ता फुटकर एल्बममा पनि गाएकी छिन् ।
स्पेनलाई कर्मभूमि बनाएर उतै बसेर सांगीतिक कर्म गरिरहेकी पेम्बालाई स्पेनिसहरुको शेर्पाप्रतिको बुझाई गलत लाग्यो । युरेपियनहरुले शेर्पा भन्ने बित्तिकै हिमाल चढ्ने, टे«किङ पथप्रदशक, भरिया भनेर बुझेको मनपरेन । यो त पेशागत कुरा भयो । शेर्पाको संस्कार, संस्कृति र भाषाको बारेमा उनीहरुमा केहि पनि ज्ञान नदेखेपछि पेम्बालाई उनीहरुलाई बुझाउन एउटा वृत्तचित्र बनाउने सोच पलायो । शेर्पा समुदाय र पर्यटन क्षेत्रमा काम गर्ने शेर्पा पेशाको भिन्नता मा सत्य र वास्तविक पहिचान दिलाउने सोच बनाइन् । अन्ततः त्यो सोच स्पेनी निर्देशक जोसेप्रेजसँग सहकार्य गरेर पु¥याइन् ।


आफ्नो वृत्तचित्र ‘पेम्बा रिटन्स टु गोली’ मा शेर्पा समुदायको पहिचान, ऐतिहासिकता, भौगोलिक तथा सांस्कृतिक पेरिवेशहरुको वृत्तान्त समेटिन् । शेर्पा समुदायको जीवनशैली, भाषा, संस्कृति, संस्कार, भेषभुषा रितिरिवाजहरु सबै समेटिएका छन् उनको वृत्तचित्रमा । भुकम्पले तहसनहस पारेको गाउँ जस्तोसुकै दुखमा पनि नेपालीहरुको हसिलो मुहारका दृश्यहरुले अति नै सजिवता दिएका छन् । कातालोनिया, शेर्पा र खास गरी तीन भाषालाई संवादमा प्रयोग गरिएकोे उक्त वृत्तचित्र स्पेनमा विश्वविद्यालय र विभिन्न २० स्थानहरुमा प्रदर्शन भैसकेको छ । नेपालमा पनि प्रदर्शन भैसकेको छ । अमेरिका, फ्रान्स, साईप्रस लगायतका देशमा पनि प्रदर्शन भैसकेको छ । स्पेनमा भएको वृत्तचित्र प्रदर्शन पश्चात गायिका पेम्बा छोटीले दर्शकहरुसंग धेरै अन्तरक्रिया गरिन् । शेर्पा समुदायको सत्यतथ्य वर्णन अत्यन्त सकारात्मक हुँदा उनको मन प्रफुल्ल भयो । स्पेनका टेलिभिजन र पत्रपत्रिकामा उनको बारेमा छापिए । नेपाल र शेर्पा जातीलाई विश्वमा चिनाउन पेम्बाले पनि आफ्नो ठाउँबाट अहम भूमिका खेल्दै आएकी छिन् ।