चमेरोगुफा-कविलास-घ्याङश्वारा पदयात्रा [पञ्‍चकन्या सेरोभेरो]

पुर्वमा दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा तादी र दक्षिणमा शिवपुरी गाउँपालिकाले घेरिएको पञ्‍चकन्या गाउँपालिका घुम्ने मन धेरै अधिदेखि थियो । शिवपुरी पदयात्रा गर्दा ककनी,सुर्यचौर,गुर्जे,अल्छे,शिवपुरी पिकबाट पञ्‍चकन्या थुम्को धेरैपटक देखियो । नजिकै भएर पनि नपुगेको ठाउँ, परैबाट देखेर पनि पाइला नटेकेको ठाउँ, इच्छा हुँदाहुँदै पुग्न नपाएको ठाउँ रमणिय थुम्को पञ्‍चकन्या । शिवपुरीबाट हेर्दा लुखुको वगरले थुम्कोलाई निकै शोभायमान बनाएको थियो ।

 

 

भौगोलिक रुपमा लेक बेशी, पहाड, डाँडाँकाडाँ भूभाग मिलेर बनेको सुन्दर र रमणिय थुम्को पञ्‍चकन्या जाने मेलोपेसो निकै प्रयास गरेपछि यसपाली मिल्यो । हाम्रो यात्रालाई सहजीकरण गाउपालिकाका सुचना अघिकारी सुवास विश्वकर्माले गरिदिएपछि निकै सजिलो भयो । ह्याप्पी हाईकर्स समुहका ३२ जाना पदयात्री एकाविहानै सामाखुशी, टोखा,झोरहुदै गुर्जेबाट छहरेतर्फ लाग्यौ । करिव २ घण्टाको बसयात्रामा हामी छहर्रे पुग्यौ । त्यहा हामीलाई पर्खेर बसेका थिए गाउपालिकाका प्रतिनिधि प्रदिप दाहाल र विष्णु तामांग । उहाहरुकै पथप्रदर्शनमा हामी पदयात्रा गर्ने तय भएको थियो । छहरेमा बिहानी खाजा खाएर हामी पदयात्रा गर्न चौघडातर्फ लाग्यौ ।

छहरेदेखि चौघडासम्मको मैदानी भागमा बसमा सरर गुड्दा तराईमै गुडेको अनुभूति भयो । हावापानी पनि तराईकै जस्तो परिवेश पनि तराईकै जस्तो । लिखु फाटमा किसानहरु कतै धान रोप्दै त कतै बिउ काट्दै गरेको दृश्य निकै मनकारी थियो । नुवाकोटको छहरे थानसिङ इलाका ककनी पुग्दा देख्थेँ, गुर्जेभञ्ज्याङ पुग्दा देख्थेँ । सडकछेउ उभिइ उत्तरतिर फर्केर हेर्दा मास्तिर लहरे हिमाल र त्यस मुन्तिर पसारिएको फाँट इलाका । २ वर्ष अधि गोसाईकुण्ड जादा पनि यहि बाटोमा गुडेको थिए हाईकर मित्र सहदेव गुरुंगको साथमा । निकै सजिलो भुगोलमा केहि बेर यात्रा गरेर हामी चौघडा हुदै बानियाटारको कुनेटार पुग्यौ ।

बसबाट ओर्लेपछि बानियाटारबाट हिँडाई शुरु गरेर दुप्चेश्वर जाने बाटोलाई छोडेर कुनेटार गाउतिर पस्यौ । गाउलाई विकासले छोएको रहेछ । ढलाने बाटो पुगिसकेको रहेछ । अबको हाम्रो गन्तब्य थियो चमेरे गुफा । गाउको सिरानमा गुफा थियो । आफ्नो गाउको गुफा हेर्न काठमाडौदेखि पर्यटक आएको खबर पाएपछि गाउलेहरु पनि निकै उत्साहित हुदै बाँटो देखाउन उत्साहित भए । गाउको बिचबाट ढलानें बाँटो हुदै हामी गुफातर्फ लाग्यौ । कतै रोड त कतै पदमार्गमा हिड्दै करिव ३० मिनेटमा हामी गुफाको मुखमा पुग्यौ । वालबालिका उत्साहित हुदै हामीसंगै त्यहि आएका थिए ।

गुफा सानो तर निकै आकर्षक थियो । करिव ५० मिटर भित्रसम्म जान मिल्ने रहेछ । गुफामा चमेरा पनि भएकाले चमेरे नाम दिइएको होला । निकै साना प्रजातिका चमेरा त्यहा देखियो । टर्च बालेर गुफा भित्र पसेर केहि फÞोटो खिचेर गुफा अगाडीको सानो चौरमा केहि बेर सुस्तायौ । स्थानिय वासिन्दाले अलि पर चाङ्खाला गुफा पनि छ भने तर समयको पावन्दीले जान सकिने अवस्था थिएन । हामी कविलासतर्फ लाग्यौ । कविलास जाने बाँटो निकै सजिलो थियो । तल रोड माथी पदमार्ग थियो । केहि वैर पदमार्गमा हिडेपछि सड़क भेटियो । त्यहि सडकमा हिड्नुको विकल्प थिएन । तर गाडी अति कम गुड्ने भएकाले खासै समस्या पनि थिएन । पातलो गाउमा रमाउदै हामी निरन्तर हिडिरहेका थियौ ।

प्रशस्त मात्रामा खेति योग्य भुमि रहेको कविलासमा सिचाईको राम्रो सुविधा नहुदा खेतमा लगाएको गौ खाशै मौलाउन सकेको देखिएन । अधिका्स खेत बाझै थियो । कहि कहि मात्र गहु लगाईएको थियो । फागुनको महिना भएपनि गर्मी नै थियो । सिचाई सुविधा पुगेको भए यो ठाउ निकै हरियाली पुर्ण हुने अनुमान लगाउदै पर तादिको किनार र वरपरका गाउवस्ती हेर्दै हामी हिडिरहेका थियौ । यो क्षेत्र पदयात्रा गर्दा २ वर्ष अधि ध्यागफेदि हुदै सुर्यकुण्ड पुगेको पनि सम्झिरहेको थिए । २०५५ सालतिर आप्राबाट ट्कमा त्रिशुली पुगेको पनि सम्झिरहेको थिए । पहिलो खोलाको वगरमा गुडिएको थिंयो । अहिले सडक बनेछ तादीको डिलमा ।

कतै वस्ती त कतै फाटको बाटो उकाली ओराली गर्दै ६३५ मिटरको उचाईमा रहेको कविलास गाउबाट भने ठाडो उकालो शुरु हुन्छ । कविलासको उकालो चढेर कपिलेश्वर जाने बाटोमा रहेको वरपिपलको चौतारीमा सुस्ताउँदा पनि मनमा शान्ति छायो । ठूलो रुखमुनिको खुल्ला चौतारा त्यहाबाट नुवाकोटको राम्रो दृश्यावलोकन गर्न सकिने रहेछ । गुर्जे सुर्यचौर अनि सिंगों शिवपुरी पनि देखिने ठाउ । करिव ३० मिनेट उकालो चढेपछि कपिलेश्वर महादेव मन्दिर प्रांगणमा पुगेका थियौ । हामी अन्तत २ घण्टाको हिडाईले कपिलेश्वर पुग्यौ । धार्मिक सास्कृतिक एवं प्राकृतिक मनोरमका कारण यो ठाउ पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । कविलास क्षेत्र कपिलेश्वर महादेवको कारणले पनि प्रसिद्ध थियो । यहि प्रख्यातीले हामी यहा तानिएका थियौ । चौतारीमा थकाई मरेर हिडे पनि हामी थाकेका थियौ ।

वरिपरी सालको जंगल फराकिलो सिढिको चडाई गर्मीको साथमा उकालोको थकान मिसिएको थियो । पहिले पहिले शिवपुरीबाट कलिलास हेरिन्थ्यो तर अहिले कविलासबाट शिवपुरी हेर्नुको आनन्द अर्कै थियो । ऐतिहासिक मन्दिरमा पुग्दा सबै थकान हराएको थियो । कपिलेश्वर क्षेत्र हिन्दु बुदिंष्टको साझा तिर्थस्थल रहेछ । कविलास डाँडालाई तिब्बतीहरु चाङ्खाला भन्दा रैछन् । तिव्बती भाषामा चाङ्ख भनेको नदी खा भनेको माथी र ला भनेको टुप्पो । ताडी र लिखु खोलाको माझमा ठडिएको यो डाँडा भएर नै होला, नदीमाथि टुप्पोमा रहेको भन्ने जनाउन चाङ्खाला भनिएको ।

तिब्बती नाम बोकेको यो डाँडा अर्थात् चाङ्खाला बुदिंष्टकहरुको पनि तीर्थस्थल पो रहेछ । चौतारीदेखि आकाशैभरि टनाटन लुङ्दर फरफराएका । बौद्ध मन्त्र अंकित रंगिन लुङ्दर टाँगिएका थिए । रंगिन लुङ्दरले वातावरणनै रंगिन बनाएको थियो । हावाको झोकासँग हल्लिने लुङ्दरहरू र तिनलाई स्पर्श गरेर आएको चिसो हावाले आनन्दित बनाए पनि यसको संख्या अति धेरै भएपछि दिक्क पनि लाग्ने रहेछ । तल तल अलि पातलो भएको ठाउमा त राम्रै देखिएको थियो । माथी माथी पुगेपछि त वरिपरीका दृश्य नै छोपिने गरि लुंगदर टागिएको देखे पछि बैराग लाग्यो ।

यो ठाउ वुद्धिष्टहरुको तिर्थस्थल कसरी भयो भन्ने सवालमा एउटा किम्बदन्ती पनि रहेछ – भकुण्डेबेसीबाट मास्तिरको तिमाल क्षेत्रको यारिनाग भन्ने ठाउँमा गुरु रिम्पोचेले कालो यक्षलाई परास्त गरेपछि तिब्बततर्फ फर्किने क्रममा नुवाकोटका ठाउँठाउँमा ध्यान गर्दै फर्केका थिए रे । यसै क्रममा चाङ्खाला अर्थात् कविलास डाँडामा पनि आएका थिए अरे । यसै स्थानमा शत्रुहरुको देउतालाई परास्त गरेर बौद्ध धर्मको रक्षा गरेका थिए भनेर विश्वास गरिन्छ । यसरी यो ठाउँ बौद्ध धर्मावलम्बीहरुको तीर्थ बनेको रहेछ ।

कपिलेश्वर मन्दिरमा सबै पदयात्री आईपुगेपछि हामी नाट्यस्वर मन्दिरतर्फ लाग्यौ । कपिलेश्वरकै मुनि भिरमा रहेको नाट्यश्वर पनि निकै प्रसिद्ध मन्दिर रहेछ । यो डाँडाको थोरै मुनि डाँडाको भित्तोमा प्राकृतिक रुपमा उत्पन्न ढुङ्गालाई नाट्येश्वरीका रुपमा पुज्ने गरिएको रहेछ । नेवारहरु यस देवतालाई नासः द्यो भन्दा रहेछन् । अर्थात् सिद्धिको देवता । यही नासः द्योलाई काठमाडौ उपत्यका लगायत स्थानहरुमा बस्ने नेवार समुदायले वाद्यवादन, नृत्य, गायन आदि कला सिकेपछि सो सिकेको कला प्रदर्शन गर्दा नर्भस नहोस्, दामी होस्, सिद्धि पुगोस् भनेर पूजाअर्चना गर्न पुग्दा रहेछन् । बाध्ययन्त्र बजाउन सिके पछि यहा पूजा गर्न आउने प्रचलनको कारण यहा दैनिक तिर्थयात्री आईपुग्ने रहेछन् । नाट्यश्वरको दर्शन गर्दै तल लिखुको फाटमा पानीले टिलपिल भएका खेत हेर्दै अबको हाम्रो यात्रा कालिकाकोटतर्फ लम्कियो ।

 

कपिलेश्वर जादा उक्लिएको सिढि झर्दै तल रहेको चौतारीमा पुगेर अझै १५ मिनेट हिडेपछि छहरे झर्ने मुलसडक आईपुग्यो । बाटो पिच गर्ने तयारी चल्दै रहेछ । हामी त्यहि बाटो हुदै करिव १५ मिनेट हिडेपछि कालिकाकोटतर्फ लाग्ने पदमार्ग समाउन पुग्यौ । कठिन उकालो हुदै माथी गाउमा पुगेपछि सडक समाएर करिव ४० मिनेटमा कालिकाकोट पुग्यौ । सानो चिटिक्क मन्दिर रहेछ कोटमा । मन्दिर परिसरमा केहि बेर आराम गरेर हामी लाकुरीभन्ज्यांगतिर लाग्यौ । लाकुरीभन्ज्यांगमा गाउपालिकाको आलिसान कार्यालय हुदै हामी करिव ३० मिनेटमा घलेभन्ज्यांग पुग्यौ ।

घलेभञ्ज्याङमा सानो बजार र बसस्टप रहेछ । त्यहा केहिवेर सुस्ताएर पानी पिएर पञ्‍चकन्यातर्फ लाग्यौ । घलेभञ्ज्याङको शिरमा रहेछ पञ्‍चकन्या मन्दिर अनि संगै रहेछ सप्तकन्या मन्दिर र धनेश्वर मन्दिर । तिनवटा मन्दिर रहेको त्यो ठाउ पनि निकै आकर्षक थियो । थुम्कोबाट सबै छर्लंग देखिने । त्यहाबाट पनि हामी अधि बढ्यौ । अबको हाम्रो गन्तब्य थियो घ्याङश्वारा शहिद पार्क । बाँटो निकै सजिलो थियो । उकालो सकिने बित्तिकै एउटा झपक्क फुलेको गुरासको बोटले हाम्रो स्वागत गर्यो । त्यहि बाँटो हिड्दै हिड्दै करिब १ घण्टामा हामी घ्याङश्वारा पुग्यौ । निकै ठूलो चौर रहेछ । त्यहि भिरालो चौरमा पार्क बनाईएको रहेछ । पार्क माओवादी युद्धमा मारिएका त्यहाका स्थानिय शहिदको स्मृतिमा बनाईएको रहेछ । पार्कको बिचमा तिनै योद्धाहरुको सालिक राखिएको थियो ।

वरिपरीको झाडी फाडेर चियाको बोट रोपिएको रहेछ । केहि वर्ष पछि त्यो क्षेत्र निक्कै हरियाली बन्ने लक्षण देखियो । पार्क अवलोकन पश्चात हामी पार्कको शिरमा रहेको भुमेथान गयौ । भुमेथानबाट पनि नुवाकोटको दृश्यावलोकन निकै राम्रो हुने रहेछ । त्यहा एउटा मन्दिर बन्दै रहेछ । त्यहि मन्दिर अगाडि रहेको गाउलेले घासदाउरा गर्ने बाँटो हुदै हामी फेरि पञ्‍चकन्या मन्दिर आयौ । तल घलेभञ्ज्याङआईपुगेर हाम्रो १७ किलोमिटर पदयात्रालाई बिट मार्यौ । घलेभञ्ज्याङमा खाना खाएर साझ ६ बजे काठमाडौ प्रस्थान गर्यौ ।

प्रस्तुति- राजाराम फुयाल

फोटो – सहदेव गुरुंग , प्रदिप कडेल ,निराकर श्रेष्ठ