एउटा अदभुत पदमार्ग सिमभञ्ज्याङ-जुरेथुम-मार्खु

नेपालभरिकै उत्कृष्ठ हावापानी भएको ठाउॅको रुपमा परिचित दामन सिमभञ्ज्याङ क्षेत्र जति घुमे पनि धित पर्दैन । ह्याप्पी हाईकर्स टोली नै ४ पटक पुगिसक्यो । यसपाली सिमभञ्ज्याङबाट मार्खु पदयात्रा गर्ने योजना मुताविक विहान ९ बजे नै हाम्रो टोली चित्लांग , बज्रवाराही , टिस्टुंग ,कुन्छाल , पालुङ्ग हुदै नांगेचुली सामुदायिक बन छिर्ने मोडमा पुग्यौ । बसलाई सिमभञ्ज्याङ तिर पठाएर हामी चाहि जंगल यात्रामा लाग्यौ उकालो चढेर । सुरुमै ढकमक्क फुलेर गुरॅासले स्वागत गर्यो । गुरॅासकै खोजीमा हिडेका हामी यसरी गुरॅास देख्दा दंग परिहाल्यौ । हामीलाई बाटो देखाउन सिमभञ्ज्याङदेखि अमित पाख्रिन भाइ त्यहि आईपुगेका थिए । पदमार्ग निकै राम्रो रहेछ । सुरुमै राम्रो जंगल र बाटोमा हिड्न पाएकोमा हामी निकै उत्साहित भएका थियौ । उकालो गज्जबको थियो हामी उक्ली रहेका थियौ ।

माथी टपमा पुगेपछि वरिपरी चारवटा रुखमा दुई थरी गुरॅास फुलेको भेटेपछि हामी निकै खुसी भयौ । हामीसंग आएका नयॅा हाईकर भाइबहिनीहरु पनि निकै प्रफुल्ल देखिए । नांगोचुली डाडा हराभरा थियो । हामी क्रमश हिडिरहेका थियौ । उकालो सकिएपछि ओरालो आयो । अलि पर गए पछि फेरि उकालो आयो । माथी चुलीमा टेलिफोन र रेडियोको टावर रहेछ । नागेचुलीको चुलीमा एनसेल र रेडियो नेपालले अधिक्रमण उहिल्यै गरिसकेका रहेछन् । आलिसान टावरको प्रांगणबाट हामी सिमभञ्ज्याङतिर झर्यौ । आरालो बाटो फटाफट झर्दा ५ मिनेटमै मार्खुतिर जाने ट्रेल भेटियो । तर हामी त्यो ट्रेल गएनौ । हाम्रो लागि सिमभञ्ज्याङमा ब्रेकफास्ट पाकिरहेको थियो । अनि हामी मार्खु जाने बाटो पनि अर्कै तय भएको थियो ।

मार्खु जाने ट्रेलबाट अर्को पॅाच मिनेट हिडेपछि सिमभञ्ज्याङको बजार क्षेत्रमा आईपुग्यौ । हाम्रो लागि अण्डा सेल र तरकारी तयार थियो । हामी भोकाएका पनि थियौ । फटाफट ब्रेकफास्ट खाएर मार्खु यात्राको लागि तयार भयौ । हामी सिमभञ्ज्याङ घुम्न आएकोमा उत्साहित भएर नव जागरण पौरखी क्लब र सिमभञ्ज्याङ बजार व्यवस्थापन समितिले हामीलाई लालीगुरॅासको मालाले स्वागत गर्यो । स्वागत समारोहमा हामी निकै उत्साहित भयौ । केहिबेर नाचगान र फोटो खिच्न ब्यस्त भयौ । सिमभञ्ज्याङबाट विदा भएपछि हामी ओरालो झर्दै मण्डुखोलातर्फ लाग्यौ ।

सिमभञ्ज्याङको आत्मिय स्वागत तथा विदाइ पछि हामी केहि क्षण त्रिभुवन राजपथको कालोपत्रे सडकमै हिड्यौ । एउटा ओरालो पदमार्ग आयो । ओरालो वरिपरी सेतो चिमाल र केहि गुरॅासका बुटाले हामीलाई स्वागत गरिरहेका थिए । तिनको दर्शन गर्दै हामी भिरालो चौरतर्फ लाग्यौ । चौरमुनी बाटो , बाटो मुनी सानो खोला निकै मनमोहक ठाउ थियो । संग्लो पानीले हाम्रो ध्यान खिच्दै लगिरहेको थियो । खोला सानो तर निकै कन्चन थियो । नजिकै यसको मुल रहेछ । एउटा सानो सिमसार क्षेत्रबाट यो उत्पति भएको रहेछ । घना जंगलको मुनी पातलो वन क्षेत्रमा हामी सडक नै सडक हिडिरहेका थियौ । गाडीको घाईघुई नआउने सडक भएकाले हिड्न कुनै बाधा थिएन । नदीको तिरैतिर हिडिरहेका थियौ । दुइतिर अग्ला अल्ला पहाड बिचको खोचबाट हामी हिडिरहेका थियौ । खोलाको किनार नै किनार गए कुलेखानी पुगिने रहेछ । तर हाम्रो गन्तब्य थियो मार्खु ।

अवको गन्तब्य थियो जुरेथुम । यो खोचमा हिड्न निकै आनन्द आईरहेको थियो । वरिपरी सेतो र बैजनी गुरॅास हेर्दै हिड्नुको मज्जाको सिमै थिएन । ३५ यात्रु आ– आफ्नै पाराले रमाईरहेका थिए । बालुवाचौरको यात्रा निकै सजिलो र आनन्ददायक थियो । चौरमा बख्रा चराउन आएका केटाकेटी पनि हामीलाई देखेर रमाई रहेका थिए । करिव एक घण्टाको यो सजिलो हिडाइ पछि एउटा दोवाटो आयो । सिधै गए कुलेखानी पुगिने बाटो रहेछ । तर हाम्रो अन्तिम गन्तब्य थियो मार्खु । त्यसैले हामीले सिधा पुर्व लाग्ने सडक छोडेर उकालो उत्तर पुर्व लाग्यौ । बाटो ढलान गरिएको थियो अलि परसम्म । गाजर मुला रोप्न तयार पारिएका बारी वरिपरी निकै राम्रा देखिएका थिए । सुख्खा क्षेत्र भएर होसा किसानहरु रोप राप गर्न पानी कुरिरहेका थिए । ठाउॅ ठाउॅमा घर र मान्छेहरु भेटिन्थ्यो । हामी हल्का फुल्का गफ गर्दै अधि बढिरहेका थियौ । करिव एक घण्टाको हिडाई पछि जुरेथुम पुगियो ।

त्यहि भेट भएका एकजाना दाइले गाउॅको माथी टुप्पाको सरकारी चौरमा जान सल्लाह दिए । आफु पनि हाम्रो पछि लागे । उनको अनुहार हेर्दा लाग्थ्यो, हामी घुम्न आएकोमा उनी निकै प्रशन्न छन् । जुरेथुमको यो सरकारी डाडा निकै राम्रो भ्यु पोईन्ट रहेछ । मौसमले साथ दिएको बेला हिमाल र वरिपरीका सबै पहाड देखिने रहेछ । हामी निकै बेर त्यहॅा रमायौ । आग्रा, पालुङ्ग, टिस्टुंग , मुलाबारी चौर,बज्रवाराही,कुन्छाल,चित्लांग,डाडीखेल,चन्द्रागिरी,फाखेल,दक्षिणकाली क्षेत्र, फुलचोकी, भट्टेडाडा ,लट्टरम्मेश्वर आदि सबै आफुले पदयात्रा गरिसकेको क्षेत्र त्यहाबाट देख्दा म निकै रोमान्चित भए । वरिपरी हरिया डाडा तल इन्द्र सरोवर ताल क्या गज्जब दृश्यपान ! कुन दिन यो ठाउमा पनि सरकारी आखॅा परेर भ्युटावर बन्ने हो ! टुंगो छैन । बिना भ्युटावर नै दृश्यपान गर्नुको आनन्द यो ठाउबाट लिन सकिन्छ । केहि बेर आराम र नाचगान गरेर हाम्रो टोली डाडामुनीको घरको आगनमुनी रहेको परमपरागत घास दाउरा गर्ने बाटो हुदै जघरधारीतिर लाग्यौ ।

निकै ठाडो ओरालो बाटो लड्दै पड्दै गुरासे जंगलको धारीबाट जघरधारी पुगियो । दुइ चारवटा घर भएको ठाउॅ रहेछ । तल खोचमा केहि जघरका बोट पनि रहेछन् । त्यहा केहिवेर आराम गरेर हाम्रो टोली त्यहि गाउको पश्चिमपट्टीको गहिरो कुनामा रहेको जलबिन्देश्वर महादेवको मन्दिरतर्फ लाग्यौ । घनाजंगलको बिचमा एउटा ओडार रहेछ । त्यहि ओडारबाट पानीको मुल आएको रहेछ । वरिपरीका गाउॅलेहरुले त्यतैलाई भगवान मानेर पुजा गर्दा रहेछन् । सानो माहादेवको प्रतिमा पनि बनाएका रहेछन् । ठाउॅ एकलास र मनकारी थियो । ध्यान गर्न अति उपयोगी । धर्मभिरुहरुको आखॅा पर्यो भने यहा पनि भव्य मन्दिन नबन्ला भन्न सकिन्न । यसरी मन्दिर अवलोकन पछाडी अब हाम्रो पाईला सानु माखुतर्फ सोझियो । अधि आएकै बाटो फर्किदै जघरधारी आएपछि आरालो लाग्यौ । अबको यात्रा झन् घना जंगलमा थियो । जंगलको नाम के हो थाहा भएन मैले चाहि तल महभिर झरना भएकाले यसको नामाकरण पनि महभिर वन राखिदिए ।

जब महभिरको जंगलमा पसियो बल्ल पदयात्राको मज्जा आउन थाल्यो । घनघोर जंगल ! एकलासे ठाउ ! गज्जबको आनन्द आईरहेको थियो । यस्तो घनाजंगल छ भन्ने सोचेकै थिएनौ । पदयात्राको आनन्द बल्ल आउन थाल्यो । जंगलमा तेर्सो उकालो ओरालो सबै रहेछ । हिड्दा क्या आनन्दको अनुभूति हुने । घाम नझिर्ने भएकाले हिड्दा गर्मी हुन्थ्यो । रोकिदा जाडो । जंगलमा बाटो नै थिएन । उहि वरिपरिका गाउॅले दाउरा घास गर्र्दै हिड्दा हिड्दै बनेको १ फिटे बाटो । त्यहि बाटोमा हामी रमायौ । यो जंगलमा यसरी पदयात्रा गर्ने हामी नै पहिलो थियौ । जंगलका रुख पनि अनौठो मानेर हामीलाई हेरिरहेजस्तो लाग्थ्यो । सधै वरिपरिका गाउॅले बाहेक कोहि नछिर्ने जंगलमा यसरी ३५ जानाको टोली आउदा रुख पनि जिल्ल पो परेकी ? हाम्रो अनुमान !

लगभग २ घण्टाको हिडाईमा महभिर जंगल पार गरेपछि सानु माखु गाउॅको छेउमा आईयो । लखतरान हामी चौर देख्ने बित्तिकै लम्पसार परिहाल्यौ ।
पछाडीका साथीहरुलाई कुर्दै केहि बेर आराम पनि गरियो । सबै आईसके पश्चात माखु गाउॅतिर लाग्यौ । अब जंगल सकिएको थियो । गाउॅ नै गाउॅको बिचबाट हिड्नु थियो । अलिकति पर पुग्ने बित्तिकै तामा कलरको ढुंगाहरु देखिए । अहो ! यहा त तामा खानी पो रहेछ भन्ने लागेको थियो । पर गाउॅमा गएर सोध्दा यो अनुमानको पुष्टी भयो । पहिले पहिले पर जंगलको तामाखानीबाट तावा झिकेर ल्याएर त्यो चौरमा जहा हामीले तामा देखेका थियौ त्यहा तामा काटकुट गर्ने गरिएको रहेछ । खुसी लाग्यो नेपालमा पनि तामा खानी रहेको जानकारी पाउदा ।

सानु माखु गाउॅमा हामी प्रवेश गरेका थियौ । पर गहिरोमा इन्द्रसरोवर मुस्कुराई रहेको थियो । हामी त्यतै जादै थियौ । गाउॅमा मोटरबाटो पनि आईसकेको रहेछ । हामी चाहि त्यो बाटो छोडेर पुरानै बाटोमा हिडिरहेका थियौ । ओरालो कडा थियो । झर्दै झर्दै हामी महभिर झरनामा आईपुग्यौ । झरना जाने समय हामीसंग थिएन । पहिल्यै गईसकेकाले जान पनि मनलागेन । डिलबाट झरना हेर्दै हामी ठाडोखोलातर्फ लाग्यौ । बाटो सजिलो थियो । सयौं जंघार नाघेर आएकाले अबको बाटो केहि पनि लागेन । १५ मिनेटमा ठाडो खोलाको झोलुंगे पुलमा आईयो । एक घण्टाको हिडाईमा तालको किनार नै किनार हिडेर मार्खु आईयो । तालको किनारमा निकै सजिलो पदमार्ग बनाईएको रहेछ । हिड्दा निकै आन्नद आयो । तालको विबिध रुप हेर्दै आरामले रमाउदै हिडियो । मार्खुको गैरी गाउॅ हुदै मार्खु बजारमा आईयो । हाम्रो लागि सिम्लांगमा खाना पाकी रहेको थियो । लगभग ३० मिनेटको पट्यार लाग्दो हिडाईबाट हामी प्याराडाईज होटलमा पुग्यौ । तात्तातो खाना खाएर हामी बस चढेर काठमाडौतर्फ लाग्यौ । साझ सात बजे । यसरी हाम्रो सिमभञ्ज्याङ मार्खु २३ किलोमिटरको यात्रा सकिएको थियो ।

प्रस्तुति- राजाराम फुयाल

फोटो – सहदेव गुरुंग , प्रदिप कडेल ,निराकर श्रेष्ठ,गणेश विष्ट,