अहिले पनि यस्ता पुस्ता बाँकी छन्, जो किशोरवयमा डन्डिबियो खेल्दै हुर्किए । उनीहरूको मानसपटलबाट विस्मृत हुँदै गएको त्यही खेल अहिले पुनः ब्युँताइएको छ, सिनेमामार्फत ।चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनित ‘डमरुको डन्डिबियो’मा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अङ्कित खड्का, नमिता घिसिङलगायतका कलाकारको अभिनय रहेको छ । नेपालमा लोप हुँदै गएको खेल डन्डिबियोको कथालाई चलचित्रले पर्दामा देखाउन खोजीए को छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो चलचित्रको ७५ प्रतिशत छायाङ्कन लमजुङको घले गाउँमा भएको हो ।छेतेन गुरुङको निर्देशन रहेको यसमा प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको सङ्गीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको छ। चलचित्र हरी हुमागार्इंले खिचेका हुन् । चलचित्रमा खेलको अलवा पारिवारिक कथा पनि बुनिएको छ।
‘डमरुको डन्डिबियो’ आफैंमा जोखिमको खेल हो । यस्ता विषयवस्तुमाथि सिनेमा निर्माण गर्नुअघि गहन खोजको आवश्यकता हुन्छ । विषयको लम्बाइ, चौडाइ मात्रले पुग्दैन, गहिराइ पनि चाहिन्छ । त्यसमा इमोसन, इगो, रोमाञ्चजस्ता सूक्ष्म तत्वहरूलाई सघन रूपमा घुसाइनुपर्छ । तब मात्र त्यस्ता फिल्मले दर्शकको मनमा उथलपुथल पैदा गर्न सक्छ ।डन्डिबियो खेलेर हुर्किएका पुस्ता यो फिल्म हेरेर पुराना स्मृतिमा रमाउन सक्छन् । नयाँ पुस्ताले हराइसकेको खेलबारे ताजा जानकारी हासिल गर्छन् । फिल्मले परिमार्जित रूपमै भए पनि डन्डिबियो के हो, कसरी खेलिन्छ, किन खेलिन्छ भन्ने सिलसिलाबद्ध जवाफ दिन्छ ।करिब एकै शैलीको फिल्म हेर्दा-हेर्दै थाकेको आँखालाई यो फिल्मले केही सेकताप गर्न सक्छ । फिल्मको विषयवस्तु, शैलीमा नयाँपन मिल्छ ।
यस हिसाबले खगेन्द्र लामिछाने र छेतन गुरुङले उठाएको जोखिम चानचुने होइन । अर्को कुरा, यस्ता विषयवस्तुलाई कसरी कमर्सियल भ्यालुमा लाने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जब कि अहिले कमेडी जनराको हल्काफुल्का सिनेमामा दर्शक रमाइरहेका छन् । उनीहरूलाई फरक स्वादमा लोभ्याउनु कम्ता चुनौतीको काम होइन ।यो बहु-प्रतिक्षित फिल्म थियो । ‘हल्का मनोरञ्जन’को कन्टेन्ट भुत्ते हुँदै गएको अवस्थामा ‘डमरुको डन्डिबियो’ले एकदमै फ्रेस र गहन विषय उठान गरिदियो । कथा नेपाली फ्लेबरको छ।
कथा सार
लक्का जवान डम्बर गाउँ फर्किएका छन् । गाउँमा उनकी प्रेमिका माला छिन् । उनीहरूबीच खुल्लमखुल्ला प्यार चल्छ ।तर, डम्बरलाई प्रेमिकाको तिर्सनाले गाउँसम्म तानेको होइन । बरु गाउँमा उनलाई बुबा पुस्ताले खेलेर अहिलेका पुस्ताले बिर्सिएको खेल ‘डन्डिबियो’ ब्युँताउनु छ । यसका लागि उनले शहरको सुख त्यागेका छन् । शहरमा उपलब्ध हुने रोजगारका अवसहरू त्यागेका छन् ।
डमरु अर्थात् डम्मर चाहन्छन्, डन्डिबियोलाई संस्थागत गर्न, आफ्नो माटोमा उब्जेको खेललाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन । तर, उनले सोचेजस्तो सबै कुरा ठिकठाक हुनेवाला छैन । किनभने, उनकै पिता जसमा डन्डिबियो फोबिया छ । यो फोबिया किन पैदा भएको छ भने, डन्डिबियोलाई राष्ट्रिय खेल बनाउने चक्करमा उनले आफ्नो जवानी डुबाएका छन् । जब कि त्यसमा उनले हार व्यहोरेका छन् ।
स्थानीय विद्यालयका हेडमास्टर समेत रहेका बुबा आफ्ना छोरा डमरुलाई लोकसेवा दिएर सरकारी अफिसर बनाउने ध्याउन्नमा छन् । डमरुको ध्याउन्न छ, डन्डिबियोलाई जगाउने । बाबु-छोराको वैचारिक द्वन्द्वसँगै अघि बढेको फिल्मले कसरी डन्डिबियोको पक्षमा वकालत गर्छ त ? यही जिज्ञासाले तान्दै २ घण्टा १८ मिनेट बित्छ ।
सबल पक्ष
हिमालको पृष्ठभूमिमा उभिएको सुन्दर गाउँ, रहरलाग्दो भेडीखर्क, शरद ऋतुको मोहक मौसम, घतलाग्दा गाउँलेहरूलाई आकर्षक ढंगले फ्रेमभित्र समेटिएका छन् । फिल्मको पूवार्द्धका दृश्यहरूमा हरि हुमागाईंले लोभलाग्दो काम गरेका छन् । कालिप्रसाद बास्कोटाको संगीतमा आफ्नै मीठास छ ।मेनुका प्रधान, बुद्धि तामाङ, आशन्त शर्माजस्ता माझिएका कलाकारहरूको स्वाभाविक अभिनय एवं संवाद-शैली लोभलाग्दो छ । नेपाली परिवेशमै उब्जिएको र वर्तमान अवस्थामा हराइसकेको खेलका लागि यो फिल्म एउटा दस्तावेज बन्न सक्छ ।फिल्मले उठान गरेको विषय आफैमा ताजा र गहन छ , मौलिक पनि ।
कमजोर पक्ष
तालमेल मिलेको भए, यो फिल्मले हराइसकेको खेललाई पुनः ब्युँताउन सक्थ्यो । एउटा नयाँ मुद्दाले सशक्त रूपमा प्रवेश पाउँथ्यो । तर, त्यसो भएन । डन्डिबियोलाई सतही रूपमा बुझेर ‘चक दे इन्डिया’ वा ‘भाग मिल्खा भाग’ जस्तो फिल्म बनाउने अभ्यास आफैंमा पूर्ण छैन ।खगेन्द्र लामिछानेले डन्डिबियो खेलबाट नयाँ मुद्दा उठान गर्ने तथा दर्शकलाई मनोरञ्जन पनि दिलाउने चक्करमा फितलो घटनाक्रम जोडिएको छ । डन्डिबियो खेलप्रति डमरुको बुबालाई उक्साउन, साथीभाइलाई कन्भेन्स गर्न, जनमानसमा क्रेज पैदा गर्न एकपछि अर्को प्रसंगको सिलसिला यसरी मिलाइएको छ, जुन स्वाभाविक लाग्दैन ।
शहरमा पढेका केटो गाउँ फर्केर डन्डिबियो खेल स्थापित गर्न लागि पर्छन् । साथीभाइलाई कन्भिन्स गर्छन् । खेलको नियम सिकाउँछन् । आखिरमा आफ्नै बुबासँग उनको भिडन्त हुन्छ । अब, यही ठाउँमा पुगेपछि फिल्म बत्तिन्छ ।स्थानीय स्तरको प्रतियोगितामा बुबासँग भिडेको छोराको हार हुन्छ । त्यही हारको पीडाले उनलाई कतिसम्म सताउँछ भने, उनी गाउँ छाडेर शहर लाग्छन् । दिलोज्यान दिएर लागेको खेललाई चटक्कै त्याग्छन् । प्रेमिकालाई छाड्छन् । उनको रहर, उद्देश्य सबै बदलिन्छन् । कति नाटकीय ?
कुनै अपरिचित खेललाई संस्थागत गर्न लागिपरेको एउटा जोसिलो तन्नेरी सामान्य प्रतियोगितामा आफ्नो पिताबाटै पराजित भएपछि त्यसरी बद्लिन सक्छन् ? जब कि उनी खेलाडी बन्न होइन, खेललाई स्थापित गर्ने मनोभाव पुगेर गाउँ पुगेका हुन्छन् । खेलमा जित हुन्छ वा हार । हरेक खेलाडीसँग हारलाई पचाउने सामथ्र्य हुन्छ । तर, सिंगो खेललाई नै ब्युँताउने, जगाउने, फैलाउने उद्देश्य लिएका युवा सामान्य हारबाट कति विचलित हुन्छन् भने, त्यसैले कथामा बाँकी उथलपुथल पैदा गर्छ ।
खगेन्द्र लामिछाने आफैंमा माझिएका कलाकार हुन्, लेखक हुन्, नाटककार हुन् । अर्का पात्र अनुप बराल पनि नेपाली रंगमञ्चका उम्दा अनुहार हुन् । मेनुका, आशन्त, बुद्धिजस्ता रंगकर्मबाट उठेका कलाकर्मी फिल्ममा छन् । तर, यत्तिका कलाकर्मी सम्मिलित फिल्मका कतिपय घटना अस्वाभाविक एवं नाटकीय लाग्छन् । कतिपय घटना अनावश्यक लाग्छन् ।खेलमा जोश हुन्छ, रोमाञ्चकता हुन्छ, इमोशन हुन्छ, इगो हुन्छ । यी कुराहरूले दर्शकको मनमा स्पर्श गर्न सक्नुपर्छ । ‘डमरुको डन्डिबियो’ले दर्शकमा न जोश पैदा गर्छ, न त इमोशन । कतिसम्म भने, खेलमा जित र हारले ल्याउने उथलपुथल समेत दर्शकसम्म आइपुग्दैन ।
डन्डिबियो खेल्ने खेलाडीहरूमा जति भावावेग उत्पन्न गरिएको छ, सोहीअनुसार दर्शकमा गर्न सकिएको छैन । दर्शकहरू उफ्रिएका, हौसिएका, खुसी भएका, विस्मात मानेका दृश्य, सबै नाटकीय लाग्छन् ।शहरका बौद्धिकबर्ग डमरुको डन्डिबियोबाट रमाएता पनि आम दर्शकलाई बाँधेर राख्न गाह्रो हुन्छ ।