फिल्म ‘गोपी’ निर्माण हुने

देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथाबस्तुमा आधारित रहेर आरोही इन्टरटेनमेन्टको ब्यानरमा फिल्म ‘गोपी’ निर्माण हुने भएको छ।यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । दीपेन्द्रले लामो समय रंग पत्रकारितामा अनुभव संगालेका छन् । उनले, चलचित्र ‘नालापानी’को कथा लेखेका थिए भने ‘घामपानी’ नामक चलचित्र निर्देशन गरेका थिए ।

‘कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि वर्तमान समयामा स्वदेशमै सपनाको खेति गर्ने युवाप्रति समर्पित फिल्म हो ‘गोपी’, निर्देशक दिपेन्द्र लामाले भने,‘दर्शकलाई मनोरञ्जन साथै केही प्रेरणा, आशा र केही ऊर्जा दिन फिल्म सफल हुने विश्वास हामीले लिएका छौँ।’दीपेन्द्र लामाको कथा/निर्देशन,  तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्म आरोही केसीले निर्माण गर्न लागेकी हुन्।फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अन्कित खड्का, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहने छ।फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन रहनेछ। चलचित्रको छायांकन भदौ १ गतेबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ ।

बधशाला’ बाहेक अन्य चलचित्रमा आफै कथा लेखेका नायक खगेन्द्र लामिछानेले भने-‘म सधै नै राम्रो कथा आएको खण्डमा अरुको कथामा पनि काम गर्छु भन्ने सोच्थेँ । ‘गोपी’ मैले खोजे जस्तै कथामा बन्न लागेकाले काम गर्न लागेको हुँ ।’नायिका सुरक्षा पन्तले चलचित्रको कथावस्तुले आफूलाई निकै मन छोएकाले काम गर्न लागेको बताइन् । यस्तै, चलचित्रका निर्देशक दीपेन्द्र लामाले चलचित्र हेरेपछि दर्शकमा केही प्रेरणा, केही आशा र केही उर्जा प्राप्त हुने दाबी गरे ।