चार वर्षपछि कतारमा भेट्ने वाचासहित २०औं एसियन गेम्स (एसियाड) को आइतबार समापन भएको छ । जापानकोआइची-नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा समापन भएको हो । २०३० मा हुने २१औं संस्करणको आयोजक कतारको दोहालाई झण्डा हस्तानतरण गर्दै २०औं एसियाड समापन भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का शेख बिन जोअन बिन हमाद अल थानीले २०औं एसियाड समापन भएको घोषणा गरे ।
उनले आयोजक आइची प्रिफेक्चर र नागोया शहरलाई धन्यवाद दिए । यस्तै समापन समारोहमा ओसीए अध्यक्ष थानीले कतारका प्रधानमन्त्री शेह मोहमद बिन अब्दुलरहमान अल थानीलाई टर्च हस्तानतरण गरेका थिए । कतारले दोस्रो पटक एसियन गेम्स आयोजना गर्ने भएको हो । यसअघि सन् २००६ मा कतारको दोहामा एसियन गेम्स आयोजना भएको थियो । सन् २०३० मा कतारमा हुने दोहा एसियाडको उत्कृष्ट भिडियो प्रदर्शनी पनि समापन समारोहका प्रस्तुत गरिएको थियो ।
चार वर्षपछि २१औं एसियाड आयोजना गर्ने कतारले २०३० मा भेटाैंला भन्दै उत्कृष्ट भिडियो प्रस्तुति समेत देखाइएको थियो । १६ दिन सञ्चलान भएको २०औं एसियन गेम्सका लागि जापानको आइची नागोयामा एसियाका १७ हजार बढी खेलाडी अफिसियलहरू उपस्थित थिए, जहाँ ४६९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास्ट गरिएको थियो । समापन समारोहका २०औं एसियाडको भिडियो हाइलाइट्स देखाइएको थियो । यस्तै विभिन्न सांगितिक प्रस्तुतीहरू पनि देखाइएको थियो ।समापन समारोहमा नेपालबाट तेक्वान्दो, जुडो, कुस्ती लगायत खेलाडी मार्च पास्टमा सहभागी थिए ।

चीन शीर्ष स्थानमा
यसपटक पनि चीनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो । यसअघि घरमै भएको १९औं एसियाडमा २०१ स्वर्ण जितेको चीनले यसपटक १६९ स्वर्ण ८९ रजत र ८१ कांस्यसहित ३४१ पदक जितेर शीर्ष स्थानमा रह्यो । आयोजक जापानले यसपटक स्वर्ण संख्या बढायो । जापान ८३ स्वर्ण ८५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेर दोस्रो भयो । यस्तै दक्षिण कोरिया तेस्रो र भारत चाैथो स्थानमा कायम रहे ।
दक्षिण कोरियाले ३९ स्वर्ण ६३ रजत र ६८ कास्यसहित १५० पदक जितेर तेस्रो भयो भने भारतले चाैथो स्थान हात पार्दा २१ स्वर्ण २७ रजत र ३७ कास्यसहित ८५ पदक जित्यो । नेपाल दुई कास्य जित्दै संयुक्त रुपमा ३६औं स्थानमा रह्यो । १९औं एसियाडमा नेपाल ३३औं भएको थियो । सहभागी ४५ मध्ये ५ राष्ट्र र रिफ्युजी टिमले कुनै पदक जित्न सकेनन । भुटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर लेस्टे र यमनले कुनै पदक जित्न सकेन ।

नेपाललाई २ कांस्य
नेपालले यसपटक एसियन गेम्समा २१ खेलमा सहभागिता जनाएको थियो । १३५ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालले जम्मा दुई कांस्य पलक मात्र जपत्न सक्यो । करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टिमले कांस्य जिते । महिला कबड्डी टिमले लगातार दोस्रो पटक टिम गेममा पदक जितेको हो । करातेका भने नेपालले धेरै पदक आशा गरेपनि पुरुष ८४ केजीमाथि तेन्जिङले मात्र कांस्य जिते । १९औं संस्करणमा रजत जितेर इतिहास बनाएकी करातेकी एरिका गुङबाट यसपटक स्वर्ण अपेक्षा गरिएपनि उनी लगायत अन्य कराते खेलाडीले भने पदक जित्न सकेनन् ।


