एउटा अब्बल फिल्मले कलाकारको उचाईमा दरिलो ईट्टा थप्ने कुरा त स्वभाविक हो । तर कहिलेकाहीँ औसत फिल्मले पनि कलाकारको अब्बल अभिनयकै कारण सम्झनलायक जीवन पाउँछ । उदाहरण हो, हरि लम्साल निर्देशित फिल्म ‘बा एक योद्धा’ । एउटा बाले आफ्नो परिवार जोगाउनका लागि गर्ने त्याग र कठोर संर्घर्ष नै फिल्मको मूल मर्म हो । यो फिल्ममा धनबहादुर पात्रले घरै बेच्न लागिपरेको मुख्य पात्र रुद्रप्रसादलाई भनेको एउटा संवाद छ, ‘यो घरमा तपाईंको प्राण अडिएको छ ।’ कथाको संवादजस्तै यो फिल्ममा पनि रुद्रप्रसादको पात्र बाँचेका दिव्यदेवकै प्राण अडिएको भान हुन्छ । फिल्ममा दिव्यदेवको आवाज, एक्सप्रेसन वा बडी ल्यांग्वेज यति विश्वसनीय छ कि त्यहाँ दर्शकले सजिलै उनको उमेर विश्वास गरिदिन्छन् ।

चरित्र जति स्वभाविक देखिन्छ, यथार्थावादी कथामा बनेका फिल्महरू उत्तिकै जीवनसँग नजिक हुँदै जान्छन् । ५८ वर्षको रुद्रप्रसादका एक छोरा र छोरी छन् । जीवनको लामो समय अहेब बनेर स्वास्थ्यसेवामा खटिएको ऊ रिटार्यड जीवन बाँचिरहेको छ । तर रिटायर्ड जीवनपछि नै रुद्रप्रसादको नयाँ संघर्ष सुरु हुन्छ । बाको पिओभीबाट खिचिएको फिल्ममा रुद्रप्रसाद नै केन्द्रमा छ । ३७ वर्षको मान्छेले आफूभन्दा २१ वर्ष बढी उमेरको भूमिकामा देखिनु कलाकारका लागि जोखिमपूर्ण अवसर हो । बाहिरी आवरण भन्दा पनि पात्रले गर्ने महसुस, त्यो उमेर गुजारिरहेको रुद्रप्रसादको मनस्थिति, उसका हाउभाउहरूलाई दिव्यदेवले नजिकबाट काम गरेका छन् भन्ने देखिन्छ । न उनी कतै लाउड सुनिन्छन्, न अतिरञ्जित नै । कुनै ठूलो परिस्थितिसँग जुधिरहेको बाले त्यतिबेला गर्ने महसुस र जनाउने प्रतिक्रिया कस्तो हुन्छ ? उनले त्यो मानक बाको परीपूर्ति फिल्ममा गरेका छन् ।

खुसी हुँदा उनको हिँडाइको चाल वा दु:खी र निरीह हुँदा हिँड्ने गति फरक देखिन्छ । जब कुनै अपराधमा मुछिएर प्रहरी चौकी जाँदै गर्दाको चाल यति मर्मस्पर्शी लाग्छ कि दर्शकहरूलाई थाहै नपाई आँखा भरिन सक्छ । खुसी हुँदा रुद्रप्रसादको ठडिरहने शीर र विस्तारै गल्दै गएपछि झुक्न थालेको शीरले जीवनमा आइरहेको अवरोहलाई दर्शकले महसुस गर्न सक्छन् । रुद्रप्रसादका संवादहरू सुनिरहुँझैं लाग्छन् । झट्ट प्रतिक्रिया दिइनहाल्ने र दु:ख व्यक्त नगरिहाल्ने रुद्रप्रसादले त्यसलाई व्यक्त गर्न जे जे गर्छ ती मेटाफोरिकल लाग्छन् । जस्तो कि काठमाडौं पुग्दा कुनै एउटा ठूलो पीडामा जमिरहेको बेला ऊ चुरोटको साहरा लिन खोज्छ । त्यसका लागि ऊ भौँतारिन्छ । त्यतिबेला उसको मनमा चलिरहेको आँधी क्यामेराले सुन्दर तरिकाले कैद गरेजजस्तो लाग्छ । वियोगको बेला प्रतिक्रियाबिहीन देखिने रुद्रप्रसादको आँखाले धेरै कुरा बोलिरहेझैं लाग्छन् । कथाको काल्पनिक पात्र रुद्रप्रसादलाई दिव्यवदेवले साँच्चिकै नयाँ जीवन दिएको प्रतित हुन्छ ।

के दिव्यदेवको अभिनयजत्तिकै अब्बल छ त फिल्म ? हेर्दै जाँदा कथाकारसँग गुनासाहरू थपिँदै जान्छन् । फिल्मको कथासार बुझौँ । बा, आमा, छोरा, छोरी र बुहारीको सुन्दर परिवार छ । त्यो परिवामा रुद्रप्रसादले ऋण गरेर छोरीको बिहे धुमधामले गर्छ । जब उसले छोरीलाई एउटा जमिनको लालपूर्जा थमाउँछ, घरमा छोराबुहारी चिढिन थाल्छन् । परिवारको आन्तरिक द्वन्द्व त्यहीँबाट सुरु हुन्छ । छोरा बुहारी अष्ट्रेलिया जाने तयारीमा छन् । ऋणले थिचिँदै गएको रुद्रप्रसादसँग त्यसका लागि पैसा हुन्न । छोरा बुहारीले बाप्रति गर्ने व्यवहार चिसिँदै जान्छ । तर रुद्रप्रसाद बा हुनुको कर्तब्यबाट च्युत हुँदैन । त्यही कर्तब्यबोध निभाउँदै गर्दा उसको जीवनमा आउने अवरोहसँगै फिल्म बग्छ ।

पछिल्लो समय नेपालमा सामाजिक र पारिवारिक कथामा मेलोड्रामा बनाउने प्रवृत्ति हाबी छ । फिल्मको आइडिया नयाँ होइन । मधन्यान्तरसम्म कथा सुस्त बगे पनि ग्रामीण जीवन र त्यो जीवनमा आइपर्ने घटनाहरूले दर्शकहरूलाई कथासँग नजिक गराउँछन् । तर मध्यान्तरपछि फिल्मको लय नै परिवर्तन हुन्छ । पारिवारिक र सामाजिक कथा भनिरहेको फिल्म त्यसपछि सस्पेन्स र क्राइमतिर जान थाल्छ । एउटा कथाको लयमा बगिरहेका दर्शकलाई अर्को कथासंसारमा पुगेजस्तो हुन्छ । फिल्ममा मुख्य पात्रको यात्रा र उद्देश्य नै प्रष्ट नहुनुको कारण कथाले यहीँबाट बाटो बिराउनुले हो । घरसँग परिवारका सदस्यको जुन सम्बन्ध हुन्छ, त्यो घर नै गुमाइसक्दासम्म लाग्छ- अब भन्न बाँकी के होला ? त्यसपछि भनिएको कथा अघिल्ला द्वन्द्वहरूबाट अलग्गिन्छ । नयाँ द्वन्द्व सुरु हुन्छ ।

पात्रहरूलाई धेरै दु:ख र समस्या थपिदिँदैमा कथा बलियो हुने होइन । ती दु:ख र समस्याहरुबाट उम्कन उसले के के गर्छ, कथालाई यो कुराले रोचक बनाउँछ । तर यो फिल्ममा दु:ख पाउने पात्रले पाइरहेको छ, कठोर पात्र कठोर बनिरहेको छ र एन्टागोनिस्ट अस्वभाविक लागिरहेको छ । रुद्रप्रसादको छोरीसँगको सम्बन्ध जति न्यानो छ, त्यो सुन्दर लाग्छ । तर बा र छोरीको सम्बन्ध सुरुमा स्थापित गरिएजसरी अपेक्षाअनुसार कथा अगाडि बढ्दैन । मालाई योद्धा भनिए पनि विस्तारै निरीह बनाइएको छ । छोरा र बुहारीले बा आमालाई जति चिसो व्यवहार गर्छन् । त्यो स्वभाविक लाग्दैन । किनकि त्यति कठोर व्यवहार गर्नुको पछाडि उनीहरूको मनस्थिति र बलियो कारण स्थापित गर्न सकिएको छैन । बुहारीलाई कथामा आवश्यकता भन्दा बढी नकारात्मक चित्रण गरिएको छ । बा आमा सबैभन्दा कठिन परिस्थितमा गुज्रिरहेको बेला छोरा बुहारीको कठोर व्यवहार कथासुहाउँदो पटक्कै लाग्दैन ।

कथामा कतिपय परिस्थितिहरू स्वभाविक भन्दा पनि नियतबस निर्माण भएका देखिन्छन् । जस्तो कि रुद्रप्रसादले नयाँ छोरा बनाउनु । त्यो पात्र कतैबाट टुप्लुक्किएजस्तो महसुस हुन्छ । यसले कता कता बलिउड फिल्म ‘बागवान’को झल्को पनि दिन्छ । तर बालाई केन्द्रमा राखिरहँदा आमालाई भने ओझेल पारिएको भान हुन्छ । बालाई योद्धा र मानक बनाइरहँदा आमालाई भने अन्य फिल्ममा झैं कमजोर चरित्रचित्रण गरिएको छ । आमाको भूमिका सहायक बनाइएको छ । नेपाली समाजमा आमाले निर्वाह गर्ने आन्तरिक भूमिका यति कठिन र संघर्षपूर्ण हुन्छन् । ती कुरालाई फिल्मले नजरअन्दाज गरेको छ । आमाको पात्र स्टेरियोटाइपमै अल्झिएको छ । आमाको हकमा मात्र नभई छोरा बुहारीको हकमा पनि यो फिल्ममा लागू हुन्छ ।

फिल्मको सुन्दर पक्षमध्येको एक हो संगीत । ब्यागराउन्ड म्युजिक कतै अतिरञ्जित सुनिन्नन् । बरु ब्यागराउन्ड संगीतले फिल्मको कथामा प्राण भर्न महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको भावनात्मक दृश्यमा बज्ने संगीतले कताकता हृदय रेटेजस्तो लाग्छ । फिल्ममा संवादहरू सान्दर्भिक र पात्रअनुकूल छन् । कतिपय संवादहरू फिल्म हेरेपछि पनि सम्झिरहन मन लाग्छन् । जब रुद्रप्रसादले छोरालाई विदेश जान पैसा जुटाउने क्रममा बाइक बेचेर घर फर्किन्छ, उसको हातमा हेल्मेट हुन्छ । श्रीमतीले ‘बाइक बेचेपछि हेलमेटचाहिँ किन ल्याएको’ भनेर सोध्छे । उसले भन्छ- यो छोराले किनेको हेलमेट हो ।

बाले आफ्नो सन्तानलाई कति अथाह माया गर्छन् भन्ने बुझ्न यही संवाद काफी हुन्छ । अर्को छोरीलाई सुस्केरासहित बाले बोल्ने संवाद छ- तिमीहरूको खुशीको लागि कहिले हात्ती बनियो, कहिले घोडा बनियो । हुँदाहुँदा कुकुर पनि बन्नुपर्यो । रुद्रप्रसादले सुस्तरी बोल्ने यो संवाद कुनै कविताको पंक्तिजस्तो सुनिन्छ । रुद्रप्रसाद आफू जुन आदर्श पात्र हो, उसले बोल्ने काब्यात्मक संवादहरूले दर्शकलाई हुरुक्कै बनाउँछन् । फिल्ममा क्यामेराले परिवाका सदस्यहरूको कथा नजिकबाट नियालेजस्तो लाग्छ । कारुणिक दृश्यहरूमा पात्रहरूलाई नजिकबाट खिचिएको छ । गाउँ छाडनेबेलाको ड्रोनसटले गाउँको स्मृति बोकेर घर छाडिरहेका पात्रहरूको मनोदशा झल्काउँछ ।

फिल्ममा दिव्यदेवसँगै बाँकी पात्रहरूको अभिनय पनि प्रशंसनीय छन् । थुप्रै नेपाली फिल्ममा अभिनेताका ‘ड्रिम गर्ल’ बन्ने झरना थापा यो फिल्ममा आमाको भूमिकामा छिन् । उनको अभिनय पात्र सुहाउँदिलो छ । छोरीको भूमिकामा सुहाना थापाले आफूलाई परिपक्व प्रस्तुत गरेकी छन् । छोराको भूमिकामा रहेका सागर खनाल हुन् वा बुहारीको भूमिकामा सुप्रज्ञा शर्मा, ज्वाइँको भूमिकामा रहेका शिशिर शिवाकोटी । उनीहरुको खारिएको अभिनयले फिल्मलाई स्वादिलो बनाउन मद्दत गर्छन् । अन्तत: सामान्य कथालाई पनि अब्बल कलाकारले सम्झिनलायक बनाउन सक्नु नै यो फिल्मको सबैभन्दा प्रशंसायोग्य पक्ष हो । दिव्यदेवले फिल्म ‘चिसो एस्ट्रे’मा जस्तै ‘बा एक योद्धा’मा पनि आफूलाई पुन: प्रमाणित गरे । त्यसकारण फिल्म हेरेका दर्शकहरूले उनलाई स्मृतिबाट सजिलै हटाउने छैनन् ।
– समर्पण श्री


