२०औं एसियाली खेलकुद औपचारिक रुपमा सुरु

२० औं एसियाली खेलकुद औपचारिक रुपमै सुरु भएको छ । जापानका सम्राट नारिहितोले एसियाको सबैभन्दा ठुलो प्रतियोगिताको नागोयाको मिजुहो रंगशालामा उद्घाटन गरे । केही खेलहरु बुधबारबाटै सुरु भइसकेका थिए भने शनिबार औपचारिक उद्घाटन गरिएको हो । जापानका पूर्व खेलाडीहरु फुजिनामी आकरी, किताजिमा तेसितु, इतो कोजु, ताकाहासी आयेका, मुरोफुसी कोजीले ओलम्पिक फ्लेम प्रज्वलन गरेका थिए ।

ओलम्पिक काउन्सिल अफ एसियाक अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापानले यसअघि नै दुई पटक एसियाली खेलकुद र ५ वर्ष अघिमात्र ओलम्पिक आयोजना गरिसकेकाले यसपटक पनि भब्य आयोजना गर्नेमा आफू विश्वस्त रहेको जनाएका थिए ।  जापानले यसअघि सन् १९५८ मा टोकियो र १९९६ मा हिरोसिमामा एसियाली खेलकुद आयोजना गरेको थियो । त्यस्तै कोभिड १९ का कारण एक वर्षपछि सरेको २०२१ को ओलम्पिक पनि जापानले आयोजना गरेको थियो ।

एसियाली खेलकुुदमा १७ हजार खेलाडी तथा अफिसियल हुनेछन् । त्यसमा १५ हजार खेलाडीको सहभागिता हुनेछ । नेपालबाट यस एसियाली खेलकुदमा १ सय ३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । मार्च पासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको नेतृत्व गर्दै झन्डा बोकेका थिए । चन्द्रले गत वर्ष यूएईको दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । त्यस्तै मानमतीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले २०२३ मा चीनको हाउन्झाउमा कांस्य पदक जितेको थियो ।

मार्च पासमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं सेफ द मिसन विशाल श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष एवं डेपुटी सेफ द मिसन टासी घलेलगायत ४० खेलाडी तथा अफिसियल मार्च पासमा थिए । नेपालबाट महिलामा ५७ र पुरुषमा ७८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।  नागोया एसियाली खेलकुदमा ४५ देश र एउटा शरणार्थी टोलीले ४ सय ६९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । विभिन्न ५४ स्थलमा एसियाडका खेलहरु हुनेछन् । जापानले ९ सयभन्दा बढी खेलाडीलाई यसपटक एसियाली खेलकुदमा उतार्दै छ । चीनको खेलाडी संख्या पनि ८ सयभन्दा माथि रहेको छ । दक्षिण कोरियाका पनि झन्डै ८ सय खेलाडी उत्रिँदै छन् ।