पहिलो विश्वकपलाई फर्केर हेर्दा

जुलाई १३, १९३० मा फुटबलमा नयाँ प्रतियोगिता सुरु गर्ने योजनाले पूर्ण रुप पायो । योसँगै विश्वकप फुटबलको जन्म भएको थियो । १९३० विश्वकप उरुग्वेमा आयोजना भएको थियो । आयोजक टोलीले नै पहिलो विश्वकपको उपाधि पनि जित्यो । अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै उरुग्वेले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

१९३० विश्वकप विजेता टोली

पहिलो पटक विश्वकपको आयोजना गर्न ५ राष्ट्रले निवेदन दिएका थिए । इटाली, स्विडेन, नेदरल्याण्ड्स र स्पेनले प्रथम विश्व कप आयोजना गर्न फिफा समक्ष माग गरेका थिए । तर उरुग्वेको स्वतन्त्रताको १ सय वर्षको उपलक्ष्यलाई मध्यनजर गर्दै फिफाले उरुग्वेलाई यो अवसर दिएको थियो । त्यो विश्वकपमा १३ राष्ट्रको सहभागिता थियो । सहभागी टोलीलाई सामेल गर्न फिफालाई चुनौती थियो ।

दक्षिण अमेरिकासम्म लामो दुरीको यात्रा तय गर्नुपर्ने भएकाले ४ युरोपेली राष्ट्रले मात्र सहभागिता जनाए । त्यस्तै एसिया र अफ्रिकाबाट कुनै पनि राष्ट्रको सहभागिता रहेन। त्यसैले पनि पहिलो विश्वकपको योजना सोच अनुरुप भएन ।उरुग्वेको राजधानी मोन्टेभिडियोमा सम्पन्न ड्रमा उरुग्वे, ब्राजिल, अर्जेन्टिना र अमेरिकालाई भिन्न समूहमा राख्दै समूह चरणको प्रतिस्पर्धाको ढांचा तयार गरियो । १९३० को विश्वकप एक मात्र त्यस्तो विश्वकप हो जसमा सहभागी टोलीले छनोट चरण पार गर्नु परेन ।

समुद्री बाटो हुँदै फ्रान्स उरुग्वे पुगेको थियो

                                 समुद्री बाटो हुँदै फ्रान्स उरुग्वे पुगेको थियो

करिब ३ साता आन्ध्र महासागरको यात्रा तय गर्दै उरुग्वे पुगेको फ्रान्सेली टोलीले विश्वकपको इतिहासमा पहिलो गोल गरेको थियो । लुसियन लौरेन्टले मेक्सिको विरुद्ध ४–१ को जितमा पहिलो गोल गर्दै विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बने । फ्रान्सले समूह १ को दोस्रो खेलमा अर्जेन्टिनाको सामना गर्दा अर्जेन्टिना १–० को अग्रतामा रहेको अवस्थामा रेफ्रीले खेलमा ६ मिनेट बाँकी रहँदै समाप्तिको घोषणा गरे । खेल पछि पुनः सुचारु गरिएपनि फ्रान्सले बराबरी गोल गर्न सकेन । समूह १ मा ४ टोलीको सहभागिता थियो भने अन्य ३ समूहमा समान ३ टोली थिए ।

पहिलो दिनको अर्को खेलमा अमेरिकाले समूह ४ मा विजयी सुरुआत गरेको थियो । बेल्जियमलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा सुरुआत गरेको अमेरिकाले समूह ४ को सम्पूर्ण खेल जित्यो । अन्य समूहको पहिलो खेलमा योगोस्लाभिया ब्राजिललाई ९समूह २ को खेलमा स्तब्ध बनायो भने समूह ३ मा पेरुलाई रोमानियाले ३–१ ले हरायो। योगोस्लाभिया समूह २ को विजेता भयो। आयोजक उरुग्वेले समूह ३ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो।

समूह विजेताको रुपमा अर्जेन्टिना, अमेरिका, उरुग्वे र योगोस्लाभियाले सेमिफाइनलमा स्थान बनाए। दुवै सेमिफाइनलमा ६–१ को नजिताले जित हासिल गर्दै उरुग्वे र अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरे। उरुग्वेले योगोस्लाभियालाई तथा अर्जेन्टिनाले अमेरिकालाई पराजित गरेको थियो ।

 विश्व कप फाइनलको एक तस्बिर

जुलाई ३०, १९३०मा पहिलो विश्वकपको फाइनल सम्पन्न भयो । कुन टोलीको बलले फाइनल खेलाउने भन्ने विवाद चर्किएपछि फिफाले पहिलो हाफमा अर्जेन्टिना र दोस्रो हाफमा उरुग्वेको बल प्रयोग गर्ने निर्णय लियो । उरुग्वेले सुरुआति अग्रता लिएपनि अर्जेन्टिनाले पहिलो हाफमा २–१ को अग्रता बनायो । दोस्रो हाफमा आफ्नो फुटबलले खेल खेलेको घरेलु टोलीले नतिजा उल्टाउँदै ४–२ ले जित हासिल गर्यो ।

फिफाका तत्कालिन अध्यक्ष जुल्स रिमेटले सुनौलो ट्रफी उरुग्वेका कप्तान होसे नासाजीलाई हस्तानतरण गरे । अर्को जुलाई ३१ उरुग्वेमा सार्वजनिक विदाको घोषणा गरियो । उपाधि विजेता टोलीका कप्तान नासाजी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । पहिलो विश्वकपको फाइनललाई फुटबल इतिहासले सदैब स्मरण गर्नेछ । सेन्टेनारियो रङगशालामा सम्पन्न उक्त खेलमा ८० हजार समर्थकको उपस्थिति थियो ।