पोर्चुगलले इरानसँग बराबरी खेल्यो

क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुकेको खेलमा पोर्चुगलले इरानसँग बराबरी खेलेको छ र विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । भीएआर विवादले भरिएको खेल पोर्चुगलले इरानसँग १–१ को बराबरी खेलेको हो । खेलको इन्जुरी टाइममा इरानले पाएको पेनाल्टी होस् वा ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय होस्, दुबै भीएआरबाट लिइएको थियो ।

खेलमा पोर्चुगलले पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिस्माको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै पोर्चुगलले पेनाल्टी पायो । भीएआर रिभ्यूबाट पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई इरानी गोलकिपर अली बेरानभान्डले रोके । खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो ।

दोस्रो हाफको अन्तिम मिनेटमा फेरि भीएआर रिभ्यूबाटै इरानलाई पेनाल्टी दिइयो । सेडरिक सोयरेसको ह्याण्डबलमा पेनाल्टी दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे ।समूह चरणको अन्तिम खेलमा इरानले १-१ गोलको बराबरीमा रोकेपछि पोर्चुगल ५ अंकसहित समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो। अब नकआउट चरणमा पोर्चुगलले उरुग्वेसँग खेल्नु पर्नेछ ।