गायीका दिया यात्रीले नेपाली मौलिक लोक लयमा आधारित नयाँ तीजको कोशेली ‘प्लेन चडी माइत जाउ’ बोलको तीज गीत नेपाली लोक सांगितिक दुनियाँमा उदाएकी छिन् । म्युजिक नेपालको प्रस्तुती ‘प्लेन चडी माइत जाउ’मा दर्पण यात्रीको शव्द र संगीत रहेको छ । यस एल्वममा गायीका दीया यात्रीलाई साथ दिएकी छिन् अर्की गायीका तुल्सा बास्तोलाले । दुई गायीकाहरुको स्वरमा सजीएको गीतको भिडियोमा आरुसी मगर र शर्मिला राईको अभिनय रहेको छ ।
गीतमा नेपाली समाजमा बिद्यमान आर्थिक तथा सामाजिक बिकृति र बिसंगतीमाथि प्रहार गर्दै सभ्य समाजको निर्माणका लागि पहल गरिएको छ । आफ्नी श्रीमती र छोराछोरीको खुसी किन्नका लागि बिदेशमा पसिना बेचिरहेका श्रीमानको वाध्यतालाई बुझेर प्लेन नचढ्ने बरु गाडी चढेरै तीजमा माइत जाने श्रीमतीको आशयलाई यो गीतमा प्रस्तुत गरिएको छ । प्लेन चढ्दा श्रीमानलाई चरम आर्थिक भार पर्न सक्ने भएकाले गाडी चडेर भए पनि माइत जानु पर्छ भन्ने संदेश गीतले दिन खोजेको छ ।
श्रीमान बिदेशमा पैसा कमाउन गएका छन् भन्दैमा आफ्ना छोरा छोरीलाई महंगा बोर्डिङ्ग स्कुलमा नपढाएर सस्ता तथा गुणस्तरीय स्कुलमा पढाउँदै भेदभाव र गलत सोँचाई हटाउनका लागि गीतले आव्हान गरेकोे पाइन्छ । श्रीमानलाई बिदेश पठाएर महंगा साडी र आइफोनमा रमाउनु भन्दा स्वदेशमै एक अर्कासंग सुख दुख साट्नु पर्छ भन्ने खालको सामाजिक संदेश यस गीतले दिएको छ । यस गीतले सामाजिक बेथितिलाई उजागर गर्दै घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने संदेश दिएको छ । मौलिक भाका, उत्कृष्ट शब्द संयोजन, कर्णपृय आवाज तथा दमदार नृत्य रहेको गीत र भिडियोले दर्शक / स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।