कवि गीतकार दुर्गालाल श्रेष्ठको निधन

नेपाल भाषाका कवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । उमेरजन्य विभिन्न रोगबाट पीडित कवि श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित निवासमा निधन भएको पत्रकारसमेत रहेका नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले  जानकारी दिए । नेपाल भाषासाहित्य, नेपाली काव्य र गीति क्षेत्रका एक शीर्षस्थ स्रष्टा श्रेष्ठका नेपाल भाषा, नेपाली र अंग्रेजीमा गरेर ८० भन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् ।

मल्ल के सुन्दरका अनुसार, साहित्यकार श्रेष्ठ नेपाल भाषा, जातीय पहिचान र समान अधिकारका लागि संघर्षरत रहेका थिए । पद्मरत्न तुलाधर, दुर्गालाल श्रेष्ठ र आफू सामूहिक रूपमा उक्त संघर्षमा सक्रिय रहेको मल्लले बताए । कवि श्रेष्ठ नेपाल भाषा मंका खल, नेपाल भाषा एकेडेमीका संस्थापक पनि रहेको मल्लले बताए । शिक्षण पेसामा समेत रहेका दुर्गालाल श्रेष्ठ कवि र गीतकार मात्र नभएर एक कुशल नाट्य लेखकसमेत भएको उल्लेख गर्दै मल्लले भने, “उहाँ आफैँ नाटक निर्देशन गर्नुहुन्थ्यो र अभिनय पनि गर्नुहुन्थ्यो ।”श्रेष्ठका ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’, ‘फूलको आँखामा फूलै संसार, लगायत गीत चर्चित छन् ।