महिला साफ च्याम्पियनसिप : नेपाल उपाधि जित्ने दाउमा

पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएसँगै विराटनगर फुटबलमय बनेको छ । सहिद रंगशालामा मंगलबारबाट सुरु हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सको सहभागिता रहनेछ । उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।

‘पूर्वाधारका हिसाबले प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय मापदण्ड पूरा भइसकेको छ’, उनले भने । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको जानकारी राईले दिए । प्रतियोगितामा सहभागी हुने टिम, अफिसियलको आवास, खेल मैदानलगायतको सम्पूर्ण व्यवस्था मिलाइसकिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले जानकारी दिए ।

प्रतियोगिताको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागी सबै विदेशी टिम आइतबार विराटनगर आइसकेका छन् । विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

‘मदिराको बिक्री र सेवनमाथि पनि निगरानी बढाइएको छ । मदिराका कारण कुनै घटना नहोस् भन्ने उद्देश्य छ,’ एसपी केसीले भने, ‘सबै ठाउँलाई उच्च निगरानीमा राखेर चेकजाँच बढाइएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सुरक्षामा कुनै कमजोरी भएमा नेपालको छवि बिग्रनेमा हामी सचेत छौं ।’ प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन् । समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स र भारत छन् । आन्तरीक कारण देखाउँदै पाकिस्तान सहभागी नभएपछि पाँचौं महिला साफ च्याम्पियनसिपमा ६ राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ । टोलीलाई प्रशिक्षणका लागि सशस्त्रको रानी मैदान, डिपिएस स्कुल र दुहबी रंगशाला तयार गरिएको छ ।
 
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानविरुद्ध खेल्नेछ। बुधबार समूह बी अन्तगर्त भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदा बिहिबार समुह ए का भुटान र बंगलादेश आमने-सामने हुनेछन् । शुक्रबार माल्दिभ्स र श्रीलंका खेल्दा शनिबार नेपाल र बंगलादेश मैदान उत्रिनेछन् । उक्त खेलले समूह विजेताको टुंगो लाग्नेछ। आइतबार समूहको अन्तिम खेलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुनेछ।

फुटबल प्रतियोगिता हेर्न आउने दर्शकलाई पानीको बोतल र सिक्क मैदानमा लैजान प्रतिबन्ध लगाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरक्षाको कारण देखाउँदै पानीको बोतल र सिक्का मैदानमा लैजान प्रतिबन्ध लगाएको हो । खेलको दौरानमा हुन सक्ने सम्भावित उत्श्रृङ्खल गतिविधि नियन्त्रणका लागि सिक्का र पानीका बोतललगायत हातले फाल्न सकिने सामाग्री मैदानमा ल्याउन रोक लगाइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । उनका अनुसार एन्फाले नै मैदानभित्र पानीको व्यवस्थापन गर्ने छ ।

मुख्य चुनौती भारत

साफ महिला फूटबल च्याम्पियनसिप आयोजक नेपालका लागि धेरै हिसाबले अर्थपूर्ण छ । पहिलो, काठमाडौं बाहिर दक्षिण एशियाली स्तरीय फूटबल प्रतियोगिता पहिलो पटक हुँदैछ । भूकम्पमा क्षतिग्रस्त काठमाडौंको दशरथ रंगशाला पुनर्निर्माण नभइसकेकाले विराटनगरले यो अवसर पाएको हो । दोस्रो, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एकपछि अर्को सफलताले मनोबल उच्च रहेको नेपाली महिला फूटबल टोली घरेलु मैदानमा पहिलो दक्षिण एशियाली उपाधि जित्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटेको छ ।

काठमाडौं बाहिर दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने अवसर पाएकाले विराटनगर महानगरपालिका र प्रदेश–१ सरकारले मन खोलेर आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताका खेलहरु सञ्चालन हुने शहीद मैदानको स्तरोन्नतिका लागि महानगरपालिकाले रु.१ करोड १५ लाख र प्रदेश सरकारले रु.५० लाख दिएको छ ।

मैदान व्यवस्थापन सहसंयोजक एवं पूर्व फिफा रेफ्री मधुसूदन खनालका अनुसार सुरक्षित मैदानका लागि ८ इन्च माटो राखिएपछि घाँस नपलाएकाले माथिबाटै दूबो रोपिएको छ । प्रतियोगितालाई ध्यानमा राखेर विराटनगरका सडक मर्मत र स्तरोन्नतिको काम तीव्र पारिएको छ । महानगरका मेयर भीम पराजुली प्रतियोगिता उद्घाटनअघि नै भित्री सडकको मर्मत समेत सक्ने गरी दिनरात नभनी काम भइरहेको बताउँछन् ।

महिला फूटबलमा मोरङको गर्विलो इतिहास छ । कुनै बेला राष्ट्रिय महिला फूटबल टोलीमा मोरङका मात्र ९ जना खेलाडी थिए । अहिले पनि राष्ट्रिय टोलीमा तीन जना खेलाडी मोरङकै छन् ।मोरङ जिल्ला फूटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल यो प्रतियोगिताले महिला फूटबलको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउँछन् । “यही प्रतियोगिताकै कारण काठमाडौंपछिको स्तरीय रंगशाला विराटनगरमा बनेको छ, ९ हजार ५०० दर्शक क्षमताको रंगशालामा सोलारबत्ती समेत जडान भएको छ”, धिमाल भन्छन्, “हामीलाई विश्वास छ, यसले महिला फूटबलप्रतिको आकर्षण बढाउनेछ र नयाँ नयाँ खेलाडी उत्पादनमा पनि योगदान गर्नेछ ।”

सुनसरीको इटहरीमा एक साताको प्रशिक्षण लिएपछि नेपाली टोली अहिले विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा अभ्यासरत छ । मुख्य प्रशिक्षक हरि खड्काको नेतृत्वमा ६ जना प्रशिक्षक नेपाली टोलीको स्तर सुधार्न लागिपरेका छन् ।

आशलाग्दो कुरा के भने हालसालै मात्र राष्ट्रिय महिला टोलीले ‘२०२० ओलम्पिक्स’ को एशियाली छनोट चरण पार गरेको छ भने १९ वर्षमुनिको महिला फूटबल टोली एशियन च्याम्पियनसिपको दोस्रो चरण पुगेको छ । प्रशिक्षक विवेकविक्रान्त अधिकारीका अनुसार साविक विजेता भारतलाई हालसालै उसकै मैदानमा पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च छ । “हामीले अहिलेसम्म दक्षिण एशियाको उपाधि जित्न सकेका छैनौं” अधिकारी भन्छन्, “यसपालि हामीसँग त्यो मौका छ, मनोबल पनि उच्च छ ।”

केही समयअघि भारतको उडिसामा सम्पन्न हिरो गोल्डकपमा नेपाली महिला टोलीले भारतलाई पराजित गरेको थियो । “हिरो गोल्डकपमा भारतमाथि जित हात पारेपछि खेलाडीको मनोबल बढेको छ” मुख्य प्रशिक्षक हरि खड्का भन्छन्, “ओलम्पिक छनोट र एशियन च्याम्पियनसिपमा देखिएका कमजोरीलाई पनि हामीले हिरो गोल्डकपमा सुधारेका छौं ।”

साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले पछिल्लो समय चीन र म्यानमारमा गएर समेत खेलेको थियो । नेपाली टोलीको लक्ष्य उपाधि नै हो त ? मुख्य प्रशिक्षक खड्का आफ्नो पहिलो लक्ष्य प्रत्येक खेल जित्ने रहेको बताउँछन् ।“पहिलो खेलमा भूटान र दोस्रोमा बाङ्लादेशलाई कसरी हराउने भन्ने रणनीति अनुसार हामी तयारी गरिरहेका छौं” उनी भन्छन्, “अवश्य पनि लक्ष्य साफ च्याम्पियनसिप जित्ने नै हो । प्रत्येक खेलमा कमजोरी सुधार गर्दै गएकाले उपाधि जित्ने सम्भावना पनि बलियो छ ।”

प्रतियोगिताका लागि नेपाली खेलाडी पूर्ण रूपले तयार रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताए । अभ्यासका क्रममा खड्काले भने, ‘टोली घरेलु मैदानको पूरै फाइदा लिँदै उपाधि उचाल्ने दाउमा छ । हाम्रो टोली मानसिक र शारीरिक रूपमा प्रतिस्पर्धा गर्न सक्षम छ,’ खड्काले भने, ‘यसमा प्रदेश १ का फुटबलप्रेमीको साथले टोलीलाई थप हौसला मिल्नेछ।’ 

गोर्खालीपन र भिड्न सक्ने टोलीको शैलीलाई मैदानमा कायम राख्ने बताउँदै खड्काले भुटान र बंगलादेशविरुद्धका लिग जित्दै  सेमिफाइनल पुग्नका लागि रणनीति बनाइरहेको बताए । सुरुआती दुई खेलपछि अंक हेर्दै भारतका विषयमा केन्द्रित हुने उनको भनाइ थियो।

नेपाल टोलीकी कप्तान निरु थापाले पनि घरेलु मैदानमा शतप्रतिशत नतिजा दिन आफूहरू तयार रहेको बताइन् । मैदानको तयारीलाई लिएर हर्षित थापाले विगत साफका तीता अनुभवलाई बिर्संदै यस पटक इतिहास रच्नेतर्फ टोली केन्द्रित रहेको बताइन्। मिहिनेतको फल प्राप्त हुने र त्यसका लागि टोली पूर्ण रूपमा तयार रहेको कप्तान थापाले दाबी गरिन् ।

यसअघि नेपालले समूहचरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । बंगलादेशसँग भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेलमा जित र एकमा बराबरीको गरेको छ भने भुटानविरुद्ध पछिल्ला ५ खेलमा जित हासिल गरेको छ । ९ वर्षअघिबाट सुरु भएको साफ महिला फुटबलमा हालसम्म भारतले चारै पटक उपाधि जितेको छ नेपाल तीन पटक उपविजेता भएको छ । एक पटक बंगलादेश उपविजेता भएको छ। 

‘हामीले खेललाई सुरक्षित र भयरहित बनाउन सबै सुरक्षा निकायसँगको सहकार्यमा सुरक्षा रणनीति बनाएका छौं । दर्शक र मैदान सुरक्षाका लागि प्राइभेट सुरक्षाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथी हुन्छन् । खेलाडीलाई प्रहरीको स्कटिङ तथा बस्ने होटलमा समेत प्रहरीको सुरक्षा व्यवस्था मिलाएका छौं,’ राईले थपे, ‘दर्शक तथा प्रतियोगिताका अन्य पाहुनाको सवारीसाधन पार्किङका लागि ट्राफिक प्रहरीसँग सहकार्यमा त्यसको व्यवस्था मिलाएका छौं ।  रंगशालाको प्यारापिट र शौचालयलगायतका संरचना महिला तथा पुरुषमैत्री बनाएका छौं ।’ १० हजार दर्शकले प्यारापिटमा बसेर खेल हेर्न सक्ने राईले बताए। 

टिम सन्तुलित, उत्साहित र आक्रामक छ । उनीहरूलाई दिएको जिम्मेवारी पूरा गर्ने हो भने उपाधि टाढा छैन । हिरो गोल्डकपमा पनि टिमले त्यही मनस्थितिमा खेल्दा भारतविरुद्ध ऐतिहासिक जित दर्ता गरेको उनको बुझाइ छ । नेपाली टोलीमा गोर्खाली फाइटिङ स्प्रिरिट र विनिङ मेन्टालिटी छ । प्रशिक्षक खड्काले भने, ‘केटीहरूले त्यसलाई कायम राख्न सके जुनसुकै टिमविरुद्ध पनि बाजी मार्नसक्ने स्थिति छ ।’

उनले खेलाडीको प्रदर्शनका आधारमा टोलीको अन्तिम नामावली तयार गरिएको बताए । छनोट खेलाडीको दाँजोमा पूर्व कप्तान अनु लामाको प्रदर्शन कमजोर रहेकाले टोलीमा राख्न नसकिएको दाबी गरे । ‘टोलीमा पर्न उच्च प्रदर्शन चाहिन्छ,’ उनले भने, ‘अहिले अनुमा त्यस्तो पर्फमेन्स छैन ।’
नेपाली टोली मानसिक र शारीरिक रूपमा फिट रहेको खड्काले बताए । फरवार्ड सावित्रा भण्डारीको स्वास्थ्यको चिन्ता थियो । तर उनको स्वास्थ्य फिट भइसक्यो । खड्काका अनुसार सावित्रालाई चिकन फक्स भएको थियो । उनलाई चिकित्सकले खेलका लागि योग्य भएको ठहर गरिसकेका छन् ।

गृहमैदानमा नेपाली महिला टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्दै छ । यस्तोमा दर्शकको सर्मथक टिमलाई पक्कै रहनेछ । यसले फाइदा नै पुग्छ । तर घरेलु दर्शकसामु खेलाडी नर्भस हुन्छन् कि भन्ने चिन्ता खड्काको छ । दर्शककै कारणले टप म्याचमा प्रेसर बढ्छ । त्यसलाई नियन्त्रण गरी म्याचतर्फ ध्यान केन्द्रित गर्नेबारे आफूले खेलाडीलाई मानसिक रुपमा तयार गरेको खड्काले वताए ।

टोलीकी कप्तान निरु थापाले पनि समूह चरणमा बंगलादेश र उपाधिलाई भारत नै मुख्य चुनौती रहेको स्विकारिन् । ‘समूह चरणमा बंगलादेश राम्रो टिम छ । त्यसलाई पार गर्न सकियो भने समूह विजेता हुन समस्या हुन्न,’ उनले भनिन्, ‘समूह चरणमा पहिलो वा दोस्रो हुँदा त्यसले भारतसँगको सेमिफाइनल समीकरण तयार गर्नेछ । भारतलाई भर्खरै उसकै मैदानमा हामीले हराएर फर्केका छौं । उसलाई फेरि हराउन सक्छौं भन्ने टिमलाई आत्मविश्वास छ ।’ प्रतियोगिता चैत ८ गतेसम्म चल्नेछ।