नेपालको साफ च्याम्पियनसिपमा विजयी सुरुवात

आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे । नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो ।

खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् । एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् ।

खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।खेलअवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ । अब भोलिको खेलमा समूह बि बाट भारत र माल्दिभ्स भिड्नेछन्। च्याम्पियनसिपको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । 

नौ वर्षअघिबाट सुरु भएको साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणको पहिलो खेल सकिँदा नेपाल र भुटानको यो तेस्रो भेट हो। यस अघिका दुवै खेलमा सानदार जित हात पारेको नेपाल भुटानमाथि तेस्रो भेटमा पनि हाबी भयो। पाकिस्तानमा सम्पन्न तेस्रो साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालले ८–० को फराकिलो जित निकालेको थियो। नेपालको फराकिलो जितमा अनु लामा, दीपा अधिकारी, सजना रानाले समान दुई गोल गरेका थिए। त्यसैगरी सावित्रा भण्डारी र मेनुका गिरीले समान एक गोल गरेका थिए।

भारतमा सम्पन्न चौथो साफमा पनि नेपालले भुटानमाथि ८–० गोलअन्तरकै नतिजा निकालेको थियो। नेपालको जितमा सावित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिइन्। त्यसैगरी शर्मिला थापा र कृष्णा खत्रीले एकएक गोल गरेका थिए। पहिलो र दोस्रो साफ महिला च्याम्पियनसिपमा भने नेपाल र भुटानको भेट भएको थिएन। भुटानका मुख्य प्रशिक्षक सङजाइ लिले मैदान नयाँ भएको र गर्मीले खेलाडी थाकेका कारण हार बेहोर्नु परेको बताए। ‘नेपाल बलियो टोली भएकाले पनि हामीलाई पराजयको नतिजा हात लाग्यो,’ उनले भने, ‘नेपाल आएर व्यवस्थित रूपमा सोमबार अभ्यास गर्न नपाउनु पनि हाम्रा लागि दुर्भाग्यपूर्ण बन्यो।’ उनले होटेलदेखि मैदानसम्मको व्यवस्थापन चित्तबुझ्दो नभएको गुनासो गरे।

नेपालका प्रशिक्षक हरि खड्काले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा अन्तर बढाउन नसकिएको बताए। गर्मी भएर पनि खेलाडीले थकान महसुस गरेको उनले बताए। ‘जस्तो टिम त्यस्तै खेल हुन्छ,’ उनले भने, ‘समूह चरणमा गोलअन्तरले फरक पार्ने भएका कारण पनि आगामी दिनमा त्यसमा ध्यान दिइनेछ।’ उद्घाटन खेलमा दर्शकको उपस्थिति भने अत्यन्तै न्यून थियो । समूहको पहिलो खेलमा भुटानविरुद्ध ३-० गोलको जित निकालेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले अवसर सदुपयोग गर्न नसक्दा अपेक्षाकृत नतिजा निकाल्न नसकेको बताएका छन्। खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले खेलाडीहरुले गोलका अवसर खेर फाल्दा अपेक्षाकृत नतिजा नआएको बताए।

“हामीले पाएका धेरै अवसरलाई सदुपयोग गर्न सकनौ, अर्को कुरा हामीलाई मौसमले पनि साथ दिएन। त्यसैले सोचेको जस्तो नतिजा निस्केन”, मुख्य प्रशिक्षक खड्काले भने। तुलनात्मक रुपमा कमजोर भुटानविरुद्ध धेरै गोल गर्ने नेपालको रणनीति रहेपनि भुटानी युवा टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ३ गोलमात्र गर्‍यो। यसअघिका दुई संस्करणमा नेपालले भुटानविरुद्ध ८-० गोलको जित निकालेको थियो। “आजको खेलमा गोल आवश्यक थियो। जसले हामीलाई अघिल्लो चरण पार गर्न सहज हुने थियो। तर, भुटानको प्रदर्शन पनि उत्कृष्ट भयो जसले गर्दा सोचे जस्तो नतिजा हात लागेन”, प्रशिक्षक खड्काले भने।

भुटानका प्रशिक्षक सुङ जाइ लिले नेपाली व्यवस्थापनको आलोचना गरेका छन्। आयोजकले राम्रो होटेलको व्यवस्था नगर्दा धेरै समय होटल परिवर्तनमा समय खेर गएको भन्दै प्रशिक्षक सुङले खेलाडी मानसिक रुपमा कमजोर भएको बताए। जसले गर्दा नेपालविरुद्ध राम्रो प्रदर्शन गर्न नसकेको प्रशिक्षक सुङको दाबी छ। उनले भने, “नेपाल धेरै राम्रो टिम हो। मलाई लाग्छ- हामीले कोसिस गरेका हौं। आजको हारले हामी दबाबमा परेका छौं। हारले हामीलाई कमजोरी सुर्धाने मौका मिलेको छ। हामीले राम्रो तयारी गर्न पाएनौँ। होटेल यता-उता गर्दैमा समय गएको थियो।”