मालदिभ्सविरुद्ध भारतको ६ गोल

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद रंगशालामा आज (बुधबार) भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गर्दै शुखद सुरुआत गरेको हो । भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।

पहिलो हाफमा पाँच गोलको फराकिलो गोलअन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आफ्नो दबाबलाई कायमै राखेपनि एक गोल मात्रै गर्न सफल भएको थियो ।
खेलको आठौं मिनेटमा नै ग्रेसले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको १३औं मिनेटमा सन्धियाले गोल गर्दै भारतलाई २-० गोलको अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको २२औं मिनेटमा इन्दुमाथीले गोल गर्दै भारतलाई ३-० गोलको अग्रता दिलाइन् । खेलको २७औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४-० गोलको अग्रता दिलाएकी थिइन् भने पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गर्दै पहिलो हाफसम्म भारतलाई ५-० गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको भारतले दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो । तर माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६-० गोलको जित दिलाएकी हुन् । एकपछि अर्को आक्रमक खेल खेलेको भारतले राम्रो मौका गुमाएको थियो ।यता, माल्दिभ्सले भने भारतको पोष्टमा बल प्रहार गर्न पनि सकेन । प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

साफमा भुटान र बंगलादेशको अवस्था

बिहीबार प्रतिस्पर्धामा उत्रने बंगलादेश चौथो संस्करणको उपविजेता हो। भुटानले भने अहिलेसम्म कुनै पनि प्रतियोगितामा एक खेल पनि जितेको छैन।मंगलबार पनि भुटानले घरेलु टोली नेपालसँग ३–० गोलले हार बेहोरेको थियो। साफमा लगातार पराजित रहँदै आएको भुटान जितको खोजीमा छ। बंगलादेशमा सन् २०१० देखि सुरु भएको साफको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको भुटानलाई हालसम्म पराजयको नतिजा मात्रै हात लागेको छ।

भुटानका दक्षिण कोरियाली प्रशिक्षक सङ जाइ लीले पनि भविष्यमा राम्रो टोली निर्माण गर्न युवा खेलाडी समावेश गरेको बताए। उनले अनुभवका लागि भए पनि साफमा सहभागिता जनाएको बताए।साफमा भुटानले हालसम्म १२ खेलमा एकमा बराबरी गरेको छ भने अन्यमा हार बेहोरेको छ। भुटानले पहिलो साफमा श्रीलंकाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो।

बंगलादेश पनि भुटानमाथि दबाब कायम गर्ने दाउमा छ। पहिलो साफबाटै अघि बढेको बंगलादेशले हालसम्म १५ खेल खेलेको छ। जसमा सातमा जित, एकमा बराबरी र सातमा हारको सामना गरेको छ। चौथो संस्करणमा उपविजेता बनेको बंगलादेशले त्यस अघिका दुईवटा खेलमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।