आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुसमा सुरु भएको छ । २७ चैतदेखि नै केही खेल सुरु भएपनि औपचारिक उद्घाटन भने बिहीबार मात्रै भएको हो । नेपालगन्ज रंगशालामा बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरिन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलमा ५२११ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । ३७२ स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
दुई घन्टा भन्दा समय सम्म चलेको उद्घाटन सत्रमा सहभागी ११ टोलीका खेलाडीले मार्च पास गर्नुका साथै स्थानिय विभिन्न संस्थाबाट झाकी प्रदर्शन गरिएको थियो । खेलकुदमा ७ प्रदेश , ३ विभाग (नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल) र एनआरएनको टोलीको सहभागिता रहेको छ । देश संघियतामा गएयता राष्ट्रिय खेलकुद पहिलोपटक आयोजना भएको हो । त्यसैले पहिलोपटक प्रदेश टोलीको सहभागिता रहेको छ । एनआरएन टोलीलाई पनि पहिलो पटक सहभागि हुने मौका दिइएको छ । एनआरएनले ९ खेलमा २४ खेलाडीलाई व्यक्तिगत स्पर्धामा उतारेको छ ।
बिहीबारसम्ममा १४ खेल सकिसकेका छन् । नेपालगञ्ज रंगशालाको निर्माण समयमै नभएका कारण उद्घाटन ढिला भएको हो । राष्ट्रपति भण्डारीले खेलकुदले देशलाई एक बनाउने भएको भन्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलताको शुभकामना दिइन् । उद्घाटन कार्यक्रममा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पौडेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव लगायतको उपस्थिति थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दिप प्रज्वलन ओलम्पियन खेलाडी सुरेन्द्र हमालले गरे ।
नेपालगन्जको औसत तापक्रम अहिले ३८ डिग्री छ । यही तापक्रमबीच देशको गौरव र प्रतिष्ठासँग जोडिएको बृहद आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन नहुँदै कतिपय खेलका खेलाडी, प्रशिक्षक र पदाधिकारी खेल सकेर आ–आफ्नो घर फर्किसकेका छन् । आठौंमा समावेश कतिपय खेलहरु एक साता अघिदेखिनै सुरु भइसकेका थिए । उद्घाटन अघिनै खेल सकेर फर्कनु पर्दा कतिपय खेलका खेलाडी र पदाधिकारीले दुःखेसो समेत पोखेका छन् । अधिकांश खेलका पूर्वाधार तयार भएका छैनन् । अव्यवस्थित खेल स्थलमा राष्ट्रिय खेल आयोजना गरेर राज्यको करोडौं पैसा सक्ने काम भएको छ । बास्तवमा राज्यको लगानी प्रतिफलमुखी हुनुपर्ने हो।
कसैको लहड र व्यक्तिगत इगोको भरमा हतारमा राष्ट्रको लगानी सक्ने काम गर्न नहुने पनि
हो । प्रदेश ५ मा अयोजित आठौं राष्ट्रिय खेलकुदका लागि भौतिक संरचना लगायत विषयमा सरकारले एक अर्ब रुपैयाँ लगानी गरेको छ । प्रतियोगिताका उद्घाटन र समापन हुने नेपालगन्ज रंगशाला निर्माण कार्यले अझै पूर्णता पाइसकेको छैन । अन्य खेलका संरचना समेत निर्माणधीन अवस्थामै छन् । आठौं अन्तर्गत गल्फ, स्क्वास, साइक्लिङ, बुद्धिचाल, बक्सिङ, प्याराग्लाइडिङ, कबड्डी लगायत खेलहरु उद्घाटन अघिनै सकिसकेको छ ।
४३ करोडको लगानी
भौतिक संरचना निर्माण बाहेक आठौंको आयोजनाका लागि मात्र युवा तथा खेलकुद मन्त्रालयमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ४८ करोड रुपैयाँ माग गरेको थियो । जसमध्ये अर्थमन्त्रालयले ४३ करोड रुपैयाँ खेलकूललाई दिने निर्णय गरेको थियो । त्यसमा ३२ करोड रुपैयाँ प्राप्त भएको र ११ करोड निकासा हुन बाँकी रहेको राखेपले जनाएको छ ।
वैशाख ११ गते बाँकेको नेपालगन्ज रंगशालामा समापन हुने आठौ प्रतियोगिातमा ३५ समावेश गरिएको छ । आठौंका खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा सञ्चालन हुनेछन् । भौतिक संरचनाको अभावले गर्दा स्क्वास खेल ललितपुरमा, प्याराग्लाईडिङ कास्कीमा र गल्फ काठमाडौंमा सम्पन्न भइसकेको छ ।
हरेक दुई दुई वर्षमा आयोजना गर्ने हिसावले २०३८ सालदेखि सुरु गरिएको राष्ट्रिय खेलकुद विभिन्न कारणले समयमा हुन सकेको छैन । भौतिक संरचनाको अभावले गर्दा स्क्वास खेल ललितपुरमा, प्याराग्लाइडिङ कास्कीमा र गल्फ काठमाडौंमा भइसकेको छ ।
स्वर्ण विजेतालाई १५ हजार
राखेपले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ब्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार दिने निर्णय गरेको छ । प्रतियोगितामा नयाँ किर्तिमान बनाउने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएन) बाट आउने नौ देशका २४ खेलाडी सहित पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको छ । सहभागी टोली र खेलाडीले कूल सातसय ९३ स्वर्ण, सातसय ९३ रजत र एक हजार एक सय दुई कांस्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आठौंमा समावेश ३५ खेल
फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेवलटेनिस, क्रिकेट, लनटेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कवड्डी, खोखो, ऊसु, बास्केटबल, व्याडमिन्टन, साईक्लिङ, कराते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाईङि, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटीएफ टेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारिरीक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की ।