मनाङ र मछिन्द्रले अंक बाँडे,जाउलाखेल र एनआरटीबीच गोलरहित बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङी र मछिन्द्र क्लबले अंक बाँडेका छन् । सोमबार भएको रोमाञ्चक खेलमा मनाङ र मछिन्द्रले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । उससँगै साविकको विजेता लिगको शीर्ष स्थानमा कायमै रहृयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको दोस्रो मिनेटमै मनाङले अग्रता लिएको थियो । अन्जन विष्टको पासमा फेमी जोसुअले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा मनाङले कुनै अवसर बनाउन सकेन ।

मछिन्द्रले केही अवसर बनाएको थियो तर गोल गर्न सकेन । २१ औं मिनेटमा रन्जित धिमालको फ्रीकिकमा सोमिडे एडेलेजाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोष्ट नजिकै बाट बाहिरियो । ३०औं मिनेटमा विशाल राईले प्रहार गरेको फ्रीकिक मनाङका गोलकिपर दिप कार्कीले बचाए । यस्तै ४२औंमिनेटमा रन्जितकै पासमा अभिषेक रिजालले हानेको हेडरले पोष्टको दिशा लिन सकेन । दोस्रो हाफको पहिलो मिनेटमा नै मछिन्द्रले बराबरी गोल फर्कायो । मनाङकै पूर्वखेलाडी सुजल श्रेष्ठले सोमिडेको पासमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । ५५औं मिनेटमा मनाङले अग्रता लिने अवसर पाएको थियो, तर अन्जन विष्टको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

७१औं मिनेटमा मछिन्द्रका विशाल राईको फ्रीकिक मनाङका गोलकिपर दिप कार्कीले बचाए भने ७७औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी एरियाबाट गरेको प्रहार पोष्ट भन्दा बाहिर गयो । ८०औं मिनेटमा मछिन्द्रका विशाल राईको बाईसाईकल किक पोष्ट नजिकैबाट बाहिरियो । अर्को मिनेटमा सोमिडे एडालेजा चुकेनन् । उनले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिकेन । ८८औं मिनेटमा वैकल्पिक खेलाडी विमल रानाले जगजित श्रेष्ठको पासमा मनाङका लागि बराबरी गोल फर्काएका छन् ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार जाउलाखेल  युथ क्लब र एनआरटीले गोलरहित बराबरी खेलेका छन् । २६ औं मिनेटमा जाउलाखेलका सुजित बुढाथोकीको पासमा एडामा डाउम्बाको हेडर पोस्ट नजिकैबाट बाहिरियो । पहिलो हाफको ईन्जुरी समयमा जाउलाखेलले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेन । फोडे फोफानाको पासमा कुबेर विष्टको हेड बल पोष्टमाथिबाट बाहिरियो । ७४ औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथोकीले प्रहार गरेको फ्रिकिक जाउलाखेलका गोलकिपर टेकेन्द्र थापाले बचाए । जारी लिगमा जाउलाखेलको यो दोस्रो बराबरी हो । बराबरीपछि जावलाखेलले ५ खेलबाट ९ अंक जोडेको छ ।