गीत बेचुवाहरुको नाम किटेरै बोल्ने कोही छैन, तै चुप मै चुप

संगीतको क्षेत्र अहिले तात्न थालेको छ । पहिले पहिले गीत हिट भएर तात्ने क्षेत्र अहिले सर्जक अधिकारको बिषयले तातीरहेको देखिन्छ । कहिले संगीत कल्याणकारी कोष, कहिले रोयल्टी ,कहिले कलाकारको गरिवी त कहिले संध संस्थाको राजनितीले संगीतलाई सेलाउन दिएको थिएन । तात्नको लागि केहि न केहि बिषय आईनै रहेका छन् नियमित ।

अहिले गीत चोरीको विषयलाई लिएर संगीत क्षेत्र तातीरहेको छ । समयक्रमले तात्ने बिषय संगै तात्ने पात्र पनि फेरिने गरेका देखिन्छन् ।सर्जकहरु पनि सचेत हुदै गएको लक्षण हो यो । बिशेष त संगीतको क्षेत्रमा आधा दर्जन संस्थाहरु क्रियाशील देखिन्छन् । यिनै संस्थाहरु वेलामौकामा नयॉनयॉ प्रसंग लिएर तात्ने गर्थे तर हिजोआज सबै मौन छन् । व्यक्तिगत रुपमा हिजोआज  सुरेश अधिकारी,महेश खड्का ,सबै चुप छन् । पहिले पहिले यिनीहरुको जोश जागर देख्दा आकाशकै तारा झार्छन् की जस्तो लाग्थ्यो । तर यि सब हिजोआज चुप छन् ।

विगत २ वर्षदेखि संगीतकार लक्ष्मण शेषको तात्तातो कुराले निक्कै तताएको थियो संगीत क्षेत्रलाई । लक्ष्मणको जोश अहिले पनि जारी छ । निकै संक्रिय रहेर यिनले संगीतमा भ्रष्ट्राचार र चोरीचकारी छ भनेर लगभग सबैलाई कन्भिन्स गर्न सफल भए । लक्ष्मणले जे बोले पनि पत्ताउने अवस्था संगीत क्षेत्रमा देखिएको छ । नयॉ पुराना सबैको भरोषाको पात्र उनी बनेका छन् । हुन पनि निकै दौडधुप गरेर यिनले केहि अकाट्य तथ्यहरु बटुलेका छन् ।

सुरुमा संगीत रोयल्टीमा भएको आर्थिक घोटाला उजागर गर्न निक्कै संक्रिय यिनी पछिल्लो समय रेडियो नेपालको सम्पति जोगाउन लागिपरेका छन् । रेडियो नेपाल आफैले कहिल्यै नखोजेको आफ्नो सम्पति लक्ष्मणको दबाबमा रेडियो नेपाल खोज्न अग्रसर हुदै गएको आभास हुन थालेको छ । लक्ष्मणको संक्रियता बढेपछि केहि केहि सर्जकहरुमा आँधी आउन थालेको छ । हिजो चुप रहेका सर्जकहरु अहिले लक्ष्मणलाई पनि माथ खुवाउने भाषामा जोशिन थालेका छन् । यो जोश हिजो कता हरायो ? आज कसरी आयो ? बडा कुटिल देखिन्छ यों दृष्य ।

 

संगीतको प्रारम्भिक अवस्था देखिनै यों क्षेत्रमा दलालहरु संक्रिय भएको देखिन्छ । सेतुरामले आफ्नै बलबुतामा गीत रेकर्ड गराए पछि अरुमा पनि गीतिचेत आएको थियो । गीत रेकर्ड गराउन धेरै मान्छे अग्रसर हुन थाले । तर रेकर्डिंग गर्न बिदेश नै जानुपर्ने अवस्थाले गर्दा यों निकै जटिल बिषय थियो । तर रहरको अगाडी उपाए केहि न केहि फुरी हाल्छ ।

त्यस्तैमा पैसा हुनेहरुले स्वर हुनेहरुसंग पैसा असुलउपर गरेर कलकत्ता पुराएर रेकर्ड गराउने धन्दा नेपालमा पनि फस्टाउन थाल्यो । दर्जनौ गीतकै सौखिन भेला गर्यो पैसा बटुलबाटुल पार्यो कलकत्ता लग्यो डिक्स रेकर्ड गरायो यता ल्यायो बिक्री बितरण गर्यो । यों कर्मले पनि निक्कै लामो समय व्यतीत गरेको छ ।

पछि २०१३ सालमा राजा महेन्द्रको पहलमा अमेरिकी दुतावासले उपलब्ध गराएको रेकडिंग मेसिनमा नारायणहिटी दरवारमै केहि गीत रेकर्डिंग भएपछि रेकर्डको काम नेपालमै हुन थालेको इतिहास छ। पछि २०२२ सालमा गीत रेकर्ड गराउनैको लागि रत्न रेकडिंगको स्थापना भई कार्य प्रारम्भ भएपछि नेपालमै गीत सजिलै रेकर्ड हुन थालेको देखिन्छ । २०२२सालदेखि २०४२ सालसम्म यों संस्थाले गीत रेकडिंग गराएको देखिन्छ ।२०२२ सालदेखि २०४० सालसम्म गीत रेर्कड गर्न रत्न रेकडिंग मात्र थियो । तिनताका गीत रेर्कड हुँदाखेरी रचनाकार,संगीतकार, गायकले पनि पैसा पाउँथे ।  त्यसरी रेकर्ड भएको गीत संस्थानले एल्बमको रुपमा निकालेर बजारमा ल्याउथ्यो । प्रतिलिपी अधिकारको कानुन त बनेको थिएन तर पनि त्यसबेला पैसा नदिइकन रेर्कड हुँदैनथ्यो । उनीहरुले पारिश्रमिक  लिएर गीतहरु गाउँथे, घर जान्थे । रत्न रेकडिंगमा त्यो गीत सुरक्षित रहन्थ्यो । ती गीतहरु रत्न रेकडिंगको स्वामित्त्वमा रहे ।

त्यतिबेला हरिप्रसाद रिमाल, रानुदेवी, अरुणा लामा, तारादेवी, गोपाल योञ्जन, नारायण गोपाल, भक्तराज आचार्य,  प्रेमध्वज प्रधानलगायत जतिले पनि गाए, ती सबैले रत्नको स्टुडियो मै गाए  । त्यो चाहिँ सार्वजनिक सम्पत्ति हो । सबैको सम्पत्ति हो । देशकै सम्पत्ति हो ।

त्यसपछि यो संस्था रेडियो नेपालकै अंग बनाईएको थियो । रत्न रेकडिंगको सबै सम्पति रेडियो नेपालमा आएपछि रेडियोकै पहलमा गीत रेकडिंग हुन थालेको देखिन्छ । २००७ सालदेखि २०५२ सालसम्म गीत बजाउन पनि रेडियो नेपाल मात्र थियो । रेडियोले कलाकारसँग एउटा करार गथ्र्यो । त्यसकै आधारमा कलाकारलाई पैसा दिइन्थ्यो । प्रसारण गर्ने काम रेडियो नेपालको थियो ।

अहिले चाहिँ त्यही कलाकारहरुको नाममा कोषहरु बनिरहेका छन् । ती कलाकारहरुको नाममा विभिन्न संघसस्थाहरु पनि बनेका छन् र रेडियो नेपाल पनि छ । हिजो डिक्स थियो, त्यसपछि स्फुल टेप आयो, त्यसपछि कार्टेज आयो अनि क्यासेट आयो अनि सिडी आयो र अहिले डिजिटल भर्सनमा  गीतहरु छन् । यसैगरी प्रविधिले अर्को ठाउँमा फड्को मार्ला ।

गीतमा लाग्ने सम्पुर्ण लगानी रत्न रेकडिंगले गरेको कुरा अनेकौ दस्तावेजले देखाउछन् । संस्थान बिघटन भएपछि त्यसको स्वामित्व रेडियो नेपालमा सरेको देखिन्छ । रेडियोमा स्वामित्व सरेपछि अनि संस्थान बिघटन हुन्छ भन्ने भएपछि त्यहिका केहि कर्मचारीहरुले ति सम्पतिमा आखा लगाए । निजी क्षेत्रबाट पनि सागीतिक गतिबिधी हुन थालेपछि रत्नमै काम गर्ने कलाकारहरुले आर्थिक लोभले गर्दा आफ्ना सिर्जना संस्थानको निती बिपरित खुरुखुर लगेर बाहिरका निजी कम्पनीहरुलाई बेच्न थाले । छुट्टै एल्बम नै बनाएर बेच्न थाले ।

संस्थानले पनि यों काम रोक्न र आफ्नो सम्पति जोगाउन कुनै पहल गरेन । संस्थानमै क्रियाशील कलाकार कर्मचारीले सरकारी स्वामित्वको सम्पति यसरी बाहिर बिक्री गर्दा बोल्ने रोक्ने त्यतिखेर खोई भएनन। पछि रेडियो नेपालकै कर्मचारी बनेर तिनै मान्छे  आए । चोर्न र बेच्न पल्किएका तिनै कर्मचारीले त्यो कर्म छोडेनन । रेडियोको लगानीमा गीत बनाउने बाहिर निजी कम्पनीमा पुर्याउने नगद गोजीमा हाल्ने कामले तिब्रता पायो । यो गतिविधी रेडियोका हाकिमहरुले मुखदर्शक भएर वर्षौ हेरिरहे । जसको स्वामित्व हो,  दुःखका दिनमा रेर्कड गर्यो, उत्पादन गर्यो त्यही रेडियो नेपाललाई थाहा नै छैन।आफ्नै कर्मचारीले गीतको अवैध व्यापार गर्दा पनि रेडियो प्रशासन हिस्स । जसको सिर्जना हो उसैलाई थाहा छैन । उत्पादन गर्नेलाई थाहा छैन । गीतबेचुवाहरुको नाम किटेरै बोल्ने कोही छैन ।

उत्पादनकर्तालाई थाहा नभएरै एउटाको सिर्जना अरु कसैले खाइराको  लोकतान्त्रिक  मुलुकमा सुहाउँदो पनि हैन । रेडियो नेपालका सयौ गीतहरु युट्युवमा छन्, लाखौँ मान्छेले हेरेका छन्, कसले राखेको हो ? त्यसको खोजी हुन पनि जरुरी छ । रेडियो नेपालको स्टूडियोमा रेकर्ड हुनु नै रेडियो नेपालको स्वामित्त्व हो भन्ने कुराको आफै प्रमाण हो । पछि खुलेका स्टुडियो र  कम्पनीहरुले यो गीत मेरो हो भनेर दावी गर्न सक्दै सक्दैनन् ।

रेडियोको स्वामित्त्वको गीतहरु बाहिर  व्यवसाय गर्न पाईदैन । पुराना  गीत देशकाे सरकारी सम्पत्ति हुन्, जसकाे स्वामित्व रेडियाे नेपालसँग मात्रै छ ।  गीत सुन्ने जो कोहीलाई लाग्न सक्छ, धन्न युट्युवमा राखेको रहेछ, र सहजै गीतहरु सुन्न पाईयो । तर गीत सुन्नेमध्येका धेरैलाई हेक्का छैन यसरी सरकारी सम्पत्ति चाेरेर  गैरकानुनी धन्दा चलिरहेको छ । रेडियाे नेपालको आफ्नै स्वामित्वका सयौ  गीत छन् । रेडियो नेपालले आधिकारिक रुपमा कतै बाहिर बितरण वा बिक्री गरेको छैन, तर युट्युवमा छ्यापछ्याप्ती भेटिन्छन् ।

रेडियोको पुर्ण स्वामित्वमा रहेका गीत कस्ले कहॉ कसरी बेच्यो ? यस्को जानकार संगीतमा क्रियाशील सबैलाई प्रष्ट थाहा छ । तर कोहि बोल्दैनन । नाम लिन गाह्रो मान्छन् । कतिपय ठाउमा त तिनै चोरहरु पनि स्रष्टाको हित हुनुपर्छ भन्दै हिडेको उदेक लाग्दो दृश्य देखिन्छ ।रेडियो प्रशासनले पनि चोरहरु राम्ररी चिनेको छ । कार्यवाही गर्ने हिम्मत गर्दैन । आफ्नै सहकर्मी भएकाले जोगाउन खोजिएको पनि हुन सक्छ । तिम्रा गीत चोरि भए भनेर पनि बाहिरका अरुले भनिदिनु पर्ने अवस्था आउनुले पनि रेडियो प्रशासनको गएगुज्रेको अवस्था स्पस्ट देखिन्छ ।