मछिन्द्र,एपीएफ र च्यासल विजयी सरस्वती रेलिगेसनमा

शहीद स्मारक ए डिभिजन लिगकाे सोमबारको खेलमा मछिन्द्र क्लब विजयी भएपछि उपाधि छिनाेफानाे अन्तिम चरणमा हुने भएकाे छ ।जीतसँगै मछिन्द्र शीर्ष स्थानमा उक्लेपछि उपाधि हाेड राेमाञ्चक बनेकाे हाे । एन्फा कम्प्लेक्समा भएकाे खेलमा मछिन्द्रले संकटालाई ३-१ ले हरायाे । मछिन्द्रका लागि ४४ औं मिनेटमा  देवेन्द्र तामाङले पहिलाे गाेल गरेका थिए । यस्तै ७४ औं मिनेटमा विशाल राई बी ले दाेस्राे गाेल गरेका थिए । दीपक राईले ८३ औं मिनेटमा अर्को गोल गरे।

संकटाका लागि मेसुकाे जिन पिएरेले एक गाेल फर्काए । जीतपछि १२ खेलबाट २८ अंक जाेड्दै मछिन्द्र अंकतालिकामा शीर्ष स्थानमा उक्लेकाे छ । एक खेल कम खेलकाे त्रिभुवन आर्मी २६ अंकसहित दाेस्राे स्थानमा छ । आर्मीले १२ औं चरणमा मंगलबार ब्रिगेड ब्वाइजसंग खेल्नेछ । आर्मीले जीत हात पारे शीर्ष स्थानमा पुग्नेछ । आर्मीले ब्रिगेड ब्वाइजसंग जस्ताे नतिजा निकाले पनि उपाधिको छिनाेफानाे अन्तिम चरणमा हुने मछिन्द्र र आर्मीकै खेलबाट हुने पक्का भएकाे छ । हारपछि संकटा भने १२ खेलबाट १५ अंकसहित आठौं स्थानमा छ । यस हारले साविक उपविजेता समेत रहेकाे संकटाकाे शीर्ष ६ मा पर्ने सम्भावना कमजाेर बनेकाे छ ।

आशिष लामा र प्रविनकुमार स्याङ्तानको दुई-दुई गोल मद्दतमा एपीएफले शहीद स्माक लिगमा फ्रेण्ड्सलाई ५-२ले पराजित गरेको हो । यस सिजन दोस्रो जित हात पारेको एपीएफले रेलिगेसन जोनबाट ४ अंक अगाडि बढेको छ । १२ खेलबाट ८ अंकसहित एपीएफ १३औं स्थानमा छ । एन्फा कम्प्लेक्स सातोबाटोमा सोमबारै बिहानै भएको खेलमा विभागीय क्लब एपीएफका लागि आशिष र प्रविनले दुई-दुई तथा टोपबहादुर विष्टले एक गोल गरे । १२औं र ४०औं मिनेटमा गोल गर्दै आशिषले पहिलो हाफमै एपीएफलाई २-० को अग्रता दिलाएका थिए । ६९औं मिनेटमा फ्रेण्ड्सका फेलिपे डे सुजाले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा पर्काउने प्रयास गरेका थिए । तर ७१औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफको अग्रता फेरि दोब्बर पारे ।

७६औ मिनेटमा फ्रेण्ड्सका विश्व अधिकारीले गोल गर्खै खेललाई ३-२ को स्थितीमा पुर्‍याए । तर इन्जुरी टाइममा एपीएफले दुई गोल थफ्दै जित हात पार्‍यो । इन्जुरी टाइङ्गको चौथो मिनेटमा टोपबहादुरले गोल गरे भने लगत्तै प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ ५-२ ले विजयी भयो
जितपछि एपीएफले ब्रिगेड ब्वाइजसँग अंक बराबरी गरेको छ । एपीएफले अब अन्तिम खेल ब्रिगेड ब्वाइजसँगै खेल्नेछ । ब्रिगेडले त्यसअघि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । उता छैटौं हारपछि फ्रेण्ड्सको शीर्ष ६ मा पर्ने सम्भावना लगभग सकिएको छ । १२ खेलबाट १७ अंकसहित फ्रेण्ड्स नवौं स्थानमा छ । फ्रेण्ड्सले अन्तिम खेलमा नेपाल पुलिससँग खेल्दैछ। उक्त खेल जितेपनि फ्रेण्ड्सले १७ अंक हुनेछ । त्यसअघि पुलिसले मनाङ मर्स्याङ्दीसंग खेल्नेछ । पुलिसले मनाङविरुद्ध १ अंक मात्र जोडे पनि १८ अंक हुनेछ ।

शीर्ष चारमा रहेका बाहेक पुलिस, जावलाखेल युथ क्लब, एनआरटी, संकटा र च्यासल शीर्ष ६ को होडमा छन् । फ्रेण्ड्सविरुद्ध २ गोल गरेपछि एपीएफका आशिष लामा सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा उक्लेका छन् । उनले ८ गोल गरिसकेका छन् ।  च्यासल युथ क्लबका सन्तोष साहुखलले ७ तथा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले ६ गोल गरेका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (सोमबार) भएको खेलमा च्यासल युथ क्लबसँग पराजित भएपछि सरस्वती युथ क्लब एक खेल अगावै रेलिगेसनमा परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वती च्यासलसँग २-१ ले पराजित भएको हो। हारपछि १२ खेलबाट ४ अंक मात्र रहेको सरस्वती १४ क्लब सम्मिलित लिगमा पुछारमा छ ।

१२ खेलबाट ८ अंक जोडेको एपीएफ १३औं स्थानमा छ । लिगमा अब एक बाँकी रहेको सरस्वतीले अन्तिम खेल जिते पनि एपीएफलाई भेट्ने छैन । खेलको १८ औँ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै टाइगा नाकामुराले गोल गरे । ६६ औँ मिनेटमा हायातो वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए। अतिरिक्त समयमा सरस्वतीका कजीम बुसारीले सान्त्वना गोल गरे । जितपछि १२ खेलबाट १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।