आर्मी लिगको उपाधि नजिक, साविक विजेता मनाङ उपाधि होडबाट बाहिरियो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको  एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा थ्रीस्टारले एनआरटी क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका लागि दिपेश घलेले निर्णायक गोल गरे । दिपेशलले ७७ औं मिनेटमा गरेको गोल र्नै थ्रीस्टारको जितमा प्रयाप्त बन्यो । एनआरटीले गोल गर्ने अवसर बनाए पनि सुदुपयोग गर्न सकेन । थ्रीस्टारका ग्वीलामे प्रिसो म्यान अफ दी म्याच भए ।उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले १२ खेलबाट २३ अंक बनाएको छ । थ्रीस्टार उपाधि होडबाट बाहिरि सकेको छ । १५ अंक बनाएको एनआरटी आठौं स्थानमा छ । थ्रीस्टारसँगको हारले शीर्ष ६ मा रहने एनआरटीको लक्ष्यमा धक्का लागेको छ ।

कप्तान भरत खवासले लिगमा करियरको ५० औँ गोल पूरा गरेसँगै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोलले हरायो ।आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । भरतले पाँचौँ मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा हेडमार्फत सुरुवाती गोल गरेका थिए । भरतको यो लिग करियरको ५० औँ गोल हो ।

गोलमा अर्धशतक पूरा गरेका भरतले १० बर्षअघि नेपाल पुलिस क्लबबाट लिग फुटबल खेल्न सुरु गरेका थिए । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका तेस्रो ब्याजका खेलाडी हुन् । भरत पुलिस हुँदै आर्मी गएका थिए । दोस्रो गोल विकास तामाङले ५४औं मिनेटमा गरे । विकासले सन्तोष तामाङको पासमा डेड गोल गरेका थिए । ७०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सजिलै जिताए । टेकबहादुर म्यान अफ दी म्याच भए ।

उनले १० हजार रुपैयाँ पुरस्कार पाए । ब्रिगेडसँगको जितसँगै आर्मी उपाधिको सङ्घारमा उभिएको छ । शीर्ष स्थानमा रहेको आर्मीले १२ खेलबाट २९ अंक बनाएको छ । आर्मी दोस्रो स्थानमा रहेको मच्छिन्द्र भन्दा एक अंकले अगाडी छ । मच्छिन्द्रको २८ अंक छ । आर्मीसँग पराजित ब्रिगेड आठ अङ्क सहित १२औँ स्थानमा छ ।  आर्मी र मच्छिन्द्रबीचको अन्तिम खेलले नै उपाधिको छिनोफानो हुनेछ । नेपाली फुटबलमा प्रयाप्त भौतिक संरचना र सुविधा भएरपनि आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न सकेको छ । त्यसैले अन्तिम खेलमा मच्छिन्द्रलाई हराउन सके आर्मीले नयाँ इतिहास रच्नेछ ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको छ । विमल राना र अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विमलको गोलबाट मनाङले अग्रता लिएको थियो । ३२ औं मिनेटमा आदित्य चौधरीले लामो पासमा अन्जन राईले क्लियर गर्न नसकेको बलमा विमलले गोल गरे । ४३ औं मिनेटमा अन्जनले गोल गर्दै अन्तरलाई बढाए । निशान लिम्बुको पासमा अन्जनले हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा दुवै टोेलीले गोलको प्रयास गरेपनि गोल निस्कन सकेन। ८९ अौं मिनेटमा पुलिस १० खेलाडीमा समेटियो । काउन्टर एट्याकमा बल अघि बढाईरहेको अवस्थामा विमल रानालाई विशाल बस्नेतले लडाएपछि रेफ्री सुदिश पाण्डेले सिधै रातो कार्ड देखाएका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मनाङका दयानन्द सिंहको हेडरलाई गोलरक्षक रोशन खड्काले बचाए । यस जितसँगै मनाङको १२ खेलमा २५ अंक भएको छ । मनाङ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । पुलिस १२ खेलमा १७ अंकसहित छैटौं स्थानमा छ ।