संकटा र पुलिसको जित ब्रिगेड ब्वाइजसँग एपीएफ बराबरीमा

साविक उपविजेता संकटा क्लबले यस सिजन शहीद स्मारक लिगमा सोही अनुसारको प्रदर्शन दोहोर्‍याउन सकेन । सिजनको आफ्नो अन्तिम खेलमा सरस्वती युथ क्लबलाई ६-२ ले पारजित गर्दै संकटाले शहीद स्मारक ए डिभिजन लिग २०७६ मा सुखद अन्त्य गरेपनि सातौं स्थान भन्दा माथि पुग्न सकेन। बिहीबारको जितपछि १३ खेलबाट १८ अंक जोड्दै संकटा सातौंमा उक्लेको छ। संकटाको स्थान अझै सुनिश्चित भने छैन । समान १५ अंक रहेका च्यासल युथ क्लब र न्यूरोड टिम एनआरटीले अझै अन्तिम चरणका खेल खेल्न बाँकी छन् । त्यसैले संकटाले अझै कुर्नुपर्नेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाका लागि विदेशी खेलाडी मेसोके एटिग्नेले दुई गोल गरे । यस्तै सुभाष गुरुङ टिकाराज गुरुङ र रोशन पहारीले एक/एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । मेसोके एटिग्नेले खेलको पाचौ र ३३औं मिनेटमा गोल गरेका थिए । सुभाषले ३७औं मिनेटमा गोल गर्दै संकटालाई पहिलो हाफमै ३-० को अग्रता दिलाए । यस्तै टिका राजल ५६औं र रोसनले ८३औं मिनेटमा गोल गरे । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले ६५औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

सरस्वतीका लागि दुवै गोल विदेशी खेलाडी काजिम बुसारीले गरे । उनले ६६औं र ७९औं मिनेटमा गोल गरे । दुई गोलपछि बुसारी च्यासलका सन्तोष साहुखलसँगै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा उक्लेका छ्न । एपीएफका आशिष लामा ९ गोलसहित शीर्ष स्थानमा छन् ।यसअघि नै रेलिगेसनमा परिसकेको सरस्वतीले लिगमा १३ खेलबाट जम्मा ४ अंक मात्र जोड्न सक्यो ।

जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगकाे आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । मंगलबार बिहान भएको खेलमा फ्रेण्ड्सलाई ३–० ले पराजित गर्दै पुलिसले जित दर्ता गराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तीनै गोल जुमानुले गरे । उनले ४९ औं, ५४ औं र ८५ औं मिनेटमा गोल गरेका हुन् ।

यो सँगै जुमानु यो सिजनमा ह्याट्रिक गर्ने दोस्रा खेलाडी बनेका छन् । ०७० पछि जुमानले लिगमा गरेको यो पहिलो गोल हो । यसअघि थ्री स्टारका संजोक राईले सरस्वतीविरुद्ध ह्याट्रिक गरेका थिए । यस सिजन छैटौं जित हात पारेको पुलिसले शीर्ष ६ मा स्थान पक्का गरेको छ । १३ खेलबाट २० अंक जोडेको पुलिस पाँचौं स्थानमा उक्लेको छ । अब जावालखेल युथ क्लबको अन्तिम खेलको नतिजाले पुलिसले पाँचौ वा छैटौं हुने टुङ्गो लाग्नेछ । फ्रेण्ड्स भने १३ खेलबाट १४ अंकसहित दशौं स्थानमा छ ।

आशिष लामाले यस सिजनको नवौं गोल गर्दा विभागीय टोली एपीएफले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै १२औं स्थानमा लिग सकाएको छ । शहीद स्मारक ए डिभिजन लिग २०७६ अन्तर्गत बिहीबार भएको खेलमा एपीएफले अन्तिम सममया गोल खाँदा ब्रिगेडसँग १-१ को बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलको ४४औं मिनेटमा आशिषले नविन लामाको पासमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटसम्म एपीएफले अग्रता कायम राखेको थियो । तर इन्जुरी टाइमको तेस्रो मिनेटमा ब्रिगेडका विजय गुरुङले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि एपीएफले ब्रिगेड भन्दा अगाडि रहेर १२औं स्थानमा लिग सकायो । १४ क्लब सहभागी लिगमा एपीएफले १३ खेलबाट ९ अंक जोड्यो। एपीएफले २ खेल जित्दा ३ खेल बराबरी गरेको थियो । ८ खेलमा भने एपीएफ पराजित भयो । उस्तै नतिजा प्राप्त गरेको ब्रिगेड १३औं भयो । समान अंक भएपनि एपीएफल ब्रिगेडलाई गोल अन्तरमा पछि पारेको हो । एपीएफले १५ गोल गर्दा २१ गोल खाएको थियो भने ब्रिगेडले जम्मा ५ गोल गर्दा १५ गोल खायो । यस सिजन रेलिगेसनमा परिसकेको सरस्वती युथ क्लब ४ अंकसहित अन्तिम स्थानमा छ । सरस्वतीले अन्तिम खेल जितेपनि एपीएफ र ब्रिगेडलाई भेट्टाउने छैन । त्यसैले यस लिगमा एपीएफ १२ र ब्रिगेड १३औं हुने पक्का भएको हो ।