६ महिनाको महिला लिग,विदेशी खेलाडी पनि राख्न पाइने

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले  महिला फुटबलको स्तर विकास गर्न ६ महिना सञ्चालन हुने लिग आयोजना गर्ने निर्णय गरेको छ । तर लिगको मिति सार्वजनिक हुन सकेको छैन । अब छिट्टै महिला लिगको मिति सार्वजनिक गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । यसअघि विभागीय र क्षेत्रीय टिमहरुको लिग गर्दै आएको एन्फाले यस पटक विभागीय टिम र उपमेयर कप लिगको शीर्ष चार गरी ७ टिमले प्रतिस्पर्धा गर्नेछन् र राउण्ड रोविनको आधारमा हुने लिग ६ महिना सञ्चालन हुनेछ ।

यसरी भयो छनोट

महिला लिगमा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उपमेयर कप लिगको शीर्ष चार टिम छन् । नेपालमा महिला फुटबल विकासको यो नयाँ शुरुवात हुने एन्फा महिला समितिकी संयोजक पेमा लामाले बताइन् । एन्फाले शुरुमा उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग आयोजना गर्ने र त्यसमा १० टिमले खेल्ने जनाएको थियो । तर नगरपालिका स्तरमा उपमेयर कप आयोजना गर्दै त्यसबाट अन्त्यमा उत्कृष्ट ४ टोलीलाई लिगका लागि छनोट गरेको छ ।

‘ग्रासरुट’ लेभलबाटै छनोट प्रतियोगिता गरेर उत्कृष्ट ४ टोलीलाई राष्ट्रिय लिग खेलाउन लागिएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । ‘यसको खेल पहिलेदेखि नै शुरु भइसकेको छ । पहिलो चरणमा नगरपालिकाको उपमेयर कप भयो । त्यसबाट ८ टिम छनोट गरेर उपमेयर कप महिला लिग आयोजना गर्यौं । अब त्यसका उत्कृष्ट ४ टिमले विभागीय क्लबसँग राष्ट्रिय लिग खेल्नेछन्,’ अध्यक्ष शेर्पाले भने । एन्फाले गत साउनमा पहिलो चरणको उपमेयर नगरपालिका कप आयोजना गरेको थियो, जसमा देशभरबाट १८ नगरपालिकाले भाग लिएका थिए । प्रतियोगिताका उत्कृष्ट ८ टोली उमपेयर कप महिला लिगमा छनोट भए ।

माघ १० देखि १८ सम्म रौतहटमा उपमेयर कप महिला लिग आयोजना भयो । त्यसबाट उत्कृष्ट चार टोली राष्ट्रिय लीगका लागि छानिएका हुन् । रौतहटमा भएको प्रतियोगिताबाट चन्द्रपुर, विराटनगर, वालिङ र चौदण्डीगढी नगरपालिका राष्ट्रिय लिगमा छनोट भएका हुन् । ‘यस पटक हामीले तल्लो तहबाटै रियल सेलेक्सन गरेका छौं । अब ७ टिमको लिग हुन्छ,’ एन्फा अध्यक्ष शेर्पाले अनलाइनखबरसँग भने, ‘आगामी दिनमा टिम बढाउँदै लानेछौं ।’ नेपालको धेरै जसो नगरपालिकामा उपमेयर महिला भएकाले महिला फुटबल पनि उपमेयरकै नामबाट सञ्चालन गरेको र त्यो सफल भएको महिला समितिकी अध्यक्ष लामाले बताइन् ।

व्यावसायिकताको शुरुवात

अहिले नेपालमा पुरुष लिगसमेत मुस्किलले ३ महिना हुन्छ । त्यो पनि सिंगल लिग । अब महिला लिगमा पनि विदेशी खेलाडी राख्ने व्यवस्था एन्फाले लागू गर्दैछ । तर विभागीय तीन टोली बाहेक ४ टोलीले मात्र विदेशका खेलाडी राख्न पाउनेछन् अब महिला लिग भने डबल लिगको आधारमा हुँदैछ । तीन विभागीय र ४ नगरपालिका गरी ७ टिमले एक आपसमा दुई पटक खेल्नेछन् र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एन्फा अध्यक्ष शेर्पा यसलाई महिला फुटबलमा व्यावसायिकताको शुरुवात भएको मान्छन् । ‘यसअघि महिला लिग सात–दश दिनमै सकिन्थ्यो । अब डबल लिग हुन्छ,’ शेर्पाले भने, ‘स्तरीय खेलाडीहरु आउने छन् र राष्ट्रिय टिम बनाउन मद्दत पुग्छ ।’ लिगलाई लिएर खेलाडीहरु पनि उत्साहित छन् । विदेश गएरसमेत लिग खेलेर उपाधि जितिसकेकी राष्ट्रिय टिमकी स्टार सावित्रा भण्डारी (साम्बा) लिगको खबरले उत्साहित छन् । ‘यसले पक्कै पनि हामी खेलाडीहरुमा सहयोग पुग्छ, त्यसैले उत्साहित छन्,’ घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भनिन्, ‘अहिलेसम्म इतिहासमै पहिलो पटक महिला फुटबलको यस्तो लिग हुन लागिरहेको छ । यसले खेलाडीहरु उत्साहित छन् ।’

‘गोल मेसिन’ उपनाम पाएकी साम्बालाई यसअघि विपक्षीसँग त्यति मिहिनेत गर्नुपर्ने अवस्था थिएन । तर अब हुन लागेको लिग प्रतिस्पर्धात्मक हुने उनको अपेक्षा छ । ‘पहिले तीन वटा विभागीय बाहेक अरु टिम कमजोर देखिन्थ्यो । अब विदेशी खेलाडी पनि राख्ने भएकाले सबै टिम राम्रो हुनेछ,’ सावित्राले भनिन्, ‘हामीले पनि प्रत्येक टिमसँग खेल्दा सिरियस भएर खेल्नुपर्ने हुन्छ ।’

केही दिनअघि मात्र भारतमा भएको इन्डियन वुमन्स लिग जितेर आएकी सावित्राले त्यसबाट समेत धेरै सिक्ने मौका पाएको बताइन् । ‘नेपालमा अहिलेसम्म त्यस्तो लिग भएको छैन । १०–१२ दिनमै सकिएको छ । एक महिना लिग खेलाउँदा भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता जस्तो भएको थियो,’ सावित्राले भनिन्, ‘टिमहरु पनि उत्तिकै राम्रो, सबैसँग उत्तिकै राम्रो खेल्नुपर्थ्यो ।’

विदेशी खेलाडीसमेत राख्न पाइने

पुरुष ए डिभिजन लिगमा विभागीय बाहेक प्रत्येक टिमले एक दक्षिण एसियालीसहित चार विदेशी खेलाडी राखेका थिए । यसले क्लबको प्रदर्शनमै मद्दत गरेको थियो । धेरै हदसम्म विदेशी खेलाडीको प्रदर्शन नै निर्णायक बनेको थियो । अब महिला लिगमा पनि विदेशी खेलाडी राख्ने व्यवस्था एन्फाले लागू गर्दैछ । तर विभागीय तीन टोली बाहेक ४ टोलीले मात्र विदेशका खेलाडी राख्न पाउनेछन् ।

‘एक टिमले ४ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछ,’ एन्फा अध्यक्ष शेर्पा भन्छन्, ‘यसले लिगलाई प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने विश्वास छ ।’ यस्तै लिग खेल्न बाहेक अन्य नगरपालिकाका खेलाडी समेत अनुबन्ध गरेर खेलाउन पनि पाइनेछ । नगरपालिकाको टिम हुँदा आर्थिक रुपमा समेत सहयोग पुग्ने शेर्पाले बताए ।

महिला समितिकी अध्यक्ष पेमा लामाले पनि विदेशी खेलाडी ल्याउँदा लिग प्रतिस्पर्धात्मक हुने बताइन् । ‘विभागीयलाई टक्कर दिने हिसाबले टिम बनोस्, जसले लिग राम्रो र प्रतिस्पर्धात्मक हुन्छ भनेर यसो गर्न लागिएको हो,’ लामाले भनिन्, ‘यसले विभागीयलाई पनि अझै राम्रो गर्न सहयोग पुग्छ ।’

मिति, खेल तालिका र बजेट

महिला लिगको मिति र खेल तालिका सार्वजनिक हुन बाँकी छ । यस्तै प्रतियोगिता आयोजना स्थलको निर्णय पनि भइसकेको छैन । यद्यपि एन्फा अध्यक्ष शेर्पाले विराटनगरमा आयोजना हुने लगभग पक्का भएको बताए । उनले भने, ‘हामीले लिगको खेल स्थल र मिति छिटै सार्वजनिक गर्नेछौं । महिला समितिकी अध्यक्ष पेमा लामाकाअनुसार फागुन २८ गतेदेखि लिग शुरुवात गर्ने तयारी छ । र, लिग तीन चरणमा तीन स्थानमा गर्नेबारे पनि छलफल भइरहेको बताइन् ।

नेपालको एक मात्र दशरथ रंगशालामा अहिले विश्वकप छनोटका लागि तयार पारिँदैछ । यस्तै एन्फा कम्प्लेक्स मैदानमा बी डिभिजन लिग भइरहेको छ । त्यसैले पनि महिला लिग काठमाडौं बाहिर गर्न लागिएको एन्फाले जनाएको छ । महिला लिग सम्पन्न गर्न करिब डेढ करोड बजेट लाग्ने महिला समिति अध्यक्ष लामाले बताइन् । यसका लागि फिफाबाट ५० हजार अमेरिकी डलर प्राप्त भएको छ । फिफाले बजेट दिनका लागि कम्तीमा पनि लिगमा ९१ खेल हुनुपर्ने माग राखेको थियो । त्यसै अनुरुप उपमेयर कप नगरपालिका फुटबल र उपमेयर कप महिला लिगको खेललाई महिला लिगमा गणना गरिनेछ । लिगको विजेताले नगद १५ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथोले ३ लाख पुरस्कार पाउनेछन् ।