मछिन्द्रले जित्यो सताक्षी गोल्डकपको उपाधि

ए डिभिजन लिग जितेको एक सातापछि नै मछिन्द्र क्लबले झापमा सताक्षी गोल्डकपको उपाधि जितेको छ । सिजनको पहिलो नकआउट प्रतियोगिताको सताक्षी गोल्डकपको तेस्रो संस्करणको फाइनलमा मछिन्द्रले ए डिभिजनकै अर्को टोली थ्रीस्टार क्लबलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो ।

झापाको झिलझिलेमा आइतबार भएको फाइनलमा मछिन्द्रका लागि खेलको दोस्रो मिनेटमै विमल घर्ती मगरले गरेको गोल निर्णायक बन्यो ।थ्रीस्टारका अशोक खवासले सोमिडे एडालेजालाई पेनाल्टि बक्समा फउल गरेपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । त्यसैमा विमलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन र विमलको पेनाल्टी गोल नै निर्णायक बन्दा मछिन्द्रले सिजनको पहिलो नकआउट उपाधि आफ्नो पक्षमा पार्‍यो ।

यसअघि मछिन्द्रले सेमिफाइनलमा पनि ए डिभिजनकै विभागीय टोली त्रिभुवन आर्मी क्लालई पराजित गरेको थियो । थ्रीस्टारले भने अर्को सेमिफाइनलमा आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई ३-१ ले पराजित गरेको थियो ।प्रतियोगिताको विजेता मछिन्द्रले उपाधिसहित नगद ६ लाख प्राप्त गर्दा उपविजेता थ्री स्टारले ३ लाख पायो । सताक्षीधाम स्पोर्टिङ क्लबको आयोजना गरेको प्रतियोगितामा ए डिभिजनका ४ सहित कूल ८ क्लबले प्रतिस्पर्धा गरेका थिए ।