ढाका म्याराथनमा पुष्पाले जितिन् कास्य पदक

काठमाडौं । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वणर् जितेकी थिइन् ।

तर यस पटक भारतीय खेलाडीहरुसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गरिन् । उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वणर् रक्षा गर्न सकिनन् ।
नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले यस पटक भारतका धावकहरु राम्रो रहेको बताए । भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वणर् जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् ।

नेपाली पुरुष खेलाडीले पदक जित्न सकेनन्

नेपालका दुई पुरुष खेलाडीले पनि दक्षिण एसियाली कोटामा प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुले कुनै पदक जित्न सकेनन् ।
नेपालका किरण सिंह बोगटी २ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै पाँचौं स्थानमा रहे । शीर्ष चारमा भारतीय खेलाडीकै पकड रहँदा बुगाथा स्रिनुले २ घण्टा १६ मिनेट २६ सेकेण्ड समयसहित स्वणर् जिते ।