प्रतिद्वन्द्वी बाबर हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपालका इन्द्र बहादुर श्रेष्ठले स्वर्ण पदक जिते

काठमाडौं  – पाकिस्तानी प्रतिद्वन्द्वी बाबर हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपालका इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियसिपमा आइतबार स्वर्ण पदक जितेका छन्।

६६ केजीमुनी तौल समूहको सेमिफाइनलमा आइतबारै शशक्त प्रतिद्वन्द्वी भारतका अंकित विष्टलाई पराजित गर्दै इन्द्रबहादुरले फाइनल यात्रा पक्का गरेका थिए। लगनखेलस्थित नेपाली सेनाको प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्दा  खुसीको सिमा नरहेको १९ वर्षिय श्रेष्ठले बताए।

‘सेमिफाइनलमा भारतलाई हराएपछि स्वर्ण पदक जित्नेमा विश्वस्त भइसकेको थिएँ। भारत यो क्षेत्रको सबै भन्दा बलियो विपक्षी हो, उनीहरुलाई हराएपछि स्वर्ण जित्न सजिलो हुन्छ,’ २०१६ मा भारतको गुवाहटीमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य पदक जितेका श्रेष्ठले भने, ‘अब एसियाली खेलकुदमा छनोट हुने लक्ष्य बनाएको छु।’

पुरुष तर्फको खेलमा नेपाली खेलाडी  भारतीय प्रतिद्वन्द्वीलाई पराजित गरेको २३ वर्षपछि पहिलो पटक हो। यसअघि मद्रासमा सम्पन्न सातौं सागमा नेपालका रमेश बस्नेतले भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण पदक जितेको नेपालका मुख्य प्रशिक्षक बिरेन्द्र रञ्जितले जानकारी दिए। सन् १९९५ को सागमा नेपालका अन्य दुई खेलाडी बीरबहादुर रानामगर र जीतबहादुर चौधरीले स्वर्ण पदक जित्दा भारतीय खेलाडीले भाग लिएका थिएनन्। सन् २०११ मा नेपालका सरोज महर्जनले ६० केजीमुनि तौल समूह अन्तर्गत पाकिस्तानमा सम्पन्न साफ जुडो च्याम्पियसिपमा स्वर्ण पदक जित्दा भारतीय खेलाडीले सहभागिता  जनाएका थिएनन्। जारी ८ औं दक्षिण एसियाली जुडो च्याम्पियसिपमा शनिबार सम्पन्न खेलमा नेपालको तर्फबाट रविन श्रेष्ठले १ सय केजी मुनिमा स्वर्ण पदक जित्दा उक्त समूहमा भारतीय खेलाडीले सहभागिता जनाएका थिएनन्

 

आइतबारै अन्य तीन तौल समूहका फाइनलमा नेपाली खेलाडी भारतीय प्रतिद्वन्द्वीसँग स्तब्ध भए। पुरुष ७३ केजीमुनीमा नेपालका सन्जीत डंगोल फाइनलमा भारतका अजय यादव इप्पोनमा पराजित हुँदा रजत पदकमा चित्त बुझाए। यसअघि सन्जीतले सेमिफाइनलमा नेपालकै जंगबहादुर सारुलाई पराजित गरेका थिए। आफ्नै देशका प्रतिद्वन्द्वीसँग पराजित सन्जीतले बंगलादेशका श्री मिल्टन माजुमदिरलाई गोल्डेन स्कोरमा पराजित गर्दैै कांस्य पदक हात पारे।

८१ केजीमुनीमा नेपालका सञ्जय महर्जन भारतका दिभेससँग इप्पोनमा नै पराजित हुँदै रजत पदकमा चित्त बुझाए। सेमिफाइनलमा बंगालदेशका मोहम्मद आतुर रहमानलाई इप्पोनमा पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका थिए। ८१ केजीमुनी तौल समूहबाट खेलेका नेपालका मनिष महतो सातौं भए।

६० केजीमुनी तौल समूहमा भारतका विजयी कुमार यादवले  श्रीलंकाका मिलिन्दा सिनेभिराथ्नेलाई पराजित गर्दै स्वर्ण  पदक हात पार्दा नेपालका रोशन बहादुर दोङले भुटानका टासी वाङचुकलाई तथा उमेश मगरले नेपालकै सुदेश बहादुर दोङलाई पराजित गर्दै कांस्य पदक हात पारे।

आइतबारै सम्पन्न महिला तर्फको ७८ केजीमुनी तौल समूहमा पनि नेपालको स्वर्ण पदक जित्ने आशा भारतीय प्रतिद्वन्द्वीले विफल पारिदिए। नेपालकी पुनम श्रेष्ठ भारतीय प्रतिद्वन्द्वी जिना देवी चोङथामसँग फाइनलमा पराजित हुँदा नेपालकी भावना घर्ती मगरले बंगलादेशकी मोस्ट. इटी खातुनलाई पराजित गर्दै कांस्य पदकमा चित्त बुझाइन्। फाइनल प्रवेश गरेकी पुनमले यस अघि सेमिफाइनलमा पाकिस्तानकी बिनिस खानलाई पराजित गरेकी थिइन्।

७८ केजीमाथि तौल समूहमा भारतकी तुलिका मानले स्वर्ण पदक हात पार्दा श्रीलंकाकी मिलानी सिल्भाले रजत तथा नेपालकी आकृति जोशी र बंगलादेशकी तहामिना अक्तर लोपाले कांस्य पदक हात पारे।

यस्तै, राउन्ड रोविनको आधारमा भारतकी गरिमा चौधरीले ७० केजीमुनी तौल समूहमा स्वर्ण पदक हात पार्दा बंगलादेशकी फरिना खानोमले रजत तथा रुवानी जयाराथनाले कांस्य पदक हात पारे।  सोही समूहमा नेपालकी सुनिता मगर चौथो भइन्।

च्याम्पियसिपको दोस्रो दिन सकिदा सम्म भारत १० स्वर्ण ३ कांस्य सहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल २ स्वर्ण, ६ स्वर्ण र १३ कांस्य जित्दै तालिकाको दोस्रो स्थानमा छ। २ स्वर्ण, ३ रजत र ३ कांस्य सहित पाकिस्तान तेस्रो, ३ रजत ५ कांस्य सहित श्रीलंका चौथो, २ रजत र २ कांस्य सहित बंगलादेश पाँचौ तथा भुटना १ कांस्य सहित स्वर्ण तालिकाको पुछारमा छ।