नायिका सनी रौनियार फेरि गायनमा

नेपाली कलाकारितामा सनी रौनियार नौलो नाम होईन । बिक्रमको ५० कै दशकमै पद्मकन्या पढ्दापढ्दै सनी रौनियार दिदि हनी रौनियारसंग मिलेर नेपाली गायनमा देखापरेकी थिइन । ‘हलचल यो मच्चाउने ‘ , ‘ मेरो जीवनसाथी ‘,’ के हो भन तिमी ‘, बोलका गीतहरु गाएर दुइ दिदि बहिनीले तहल्का नै मच्चाएका थिए । तर पछि उनीहरुले गायनलाई निरन्तरता दिएनन ।

सनी चलचित्र प्रेमपिण्ड मार्फत अभिनयमा लागिन हनी घर व्यबहारमा नै विलिन भइन । २०३९ सालमै वालकलाकारको रुपमा चलचित्र आदर्शनारीमा  दुवै दिदिबहिनीले अभिनय गरेका थिए । करिव आधा दशक अभिनयमा रमाए पछि सनी एकाएक पलायन भईन ।अहिले सनी फेरि गायनमा देखापरेकी छिन् ।

गीतकार विजय शिवाकोटीको शब्द र राजु सिंहको संगीतमा रहेको ‘म खुल्ला आकाश चाहान्छु’ बोलको गीतमा मिठो स्वर दिएर सनीले आफु अझै गायनमा फ़िट रहेको जनाउ दिएकी छिन् । कता कता सुकमित गुरुंगको झल्को उनको स्वरमा देखिन्छ ।

गोपाल रसाईलीको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ । भुषण दाहालको निर्देशनमा बनेको  भिडियोमा सनी आफै अभिनयमा छिन् । अभिनयमा आफु अझै फ़िट नै रहेको संकेत मज्जाले देखिन्छ । जीवन रेग्मीको छायॉंकन र भरत रेग्मीको संपादन मा बनेको यो  भिडियो सन्देशमुलक छ ।