लोक गायक रत्न बानियाँको निधन

लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । बानियाँले केही वर्ष यता मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए । स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएकोमा बुधबार बिहान ३ः३० बजे उनको निधन भएको हो ।

वि.सं. २०१९ सालमा स्याङ्जा जिल्लाको फेदिखोला गाउँमा जन्मिएका बानियाँका थुप्रै चर्चित गीतहरु छन् । गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । उनले सयौं गीतमा स्वर दिएका छन् । ‘लडाइको लाहुरे’ उनको चर्चित एल्बम हो । उनका ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’ ,‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘हरियो बेलपत्र’ फूल फूल्यो बाह्रमासेको, आधीखोलाको लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन् ।

रोइला, सालैजो तथा भजन संग्रह समेत ल्याएका बानियाँ झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत हुन् । धेरै नयाँ कलाकारहरु बानियाँको सहयोगमा स्थापित भएका थिएँ। बिरामी भएपछि बानियाँले माछापोखरीमा रहेको घर समेत बेचेका थिए । मिर्गौला फेल भएपछि लोकदोहोरी क्षेत्रका कलाकारहरुले पनि उनको उपचारमा सहयोग गरेका थिए । उनको निधनले नेपाली लोकदोहोरी क्षेत्रलाई अपूरणीय क्षती पुगेको छ । । स्वर्गीय बानियाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि  गरियो । उनी गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए । ग्रामीण जनजीवनलाई लोकलयमा ढालेर जीवन्त रुपमा उतार्ने लोकसंगीतका सर्जक बानियाँको सिर्जनाशिल्पको धेरैले तारिफ गर्दै आएका छन् । उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् । बानियाँका गीतहरु मौलिक प्रकृतिका थिए ।

गायक बानियाँ दोहोरी गायक तथा सर्जक सँग सँगै कार्यक्रम प्रस्तोता, व्यवसायी, रेकर्डिङ स्टुडियोका संचालक तथा प्राविधिकसमेत थिए । झरना संगीत र झरना रेकर्डिङ स्टुडियोमार्फत नेपाली गीत संगीतको उत्थानमा लागेका रत्न बानियाँ स्थापितदेखि नयाँ गायक गायिकाहरुका प्रिय पात्र थिए । गीत संगीतमा रुचि भएर पनि आर्थिक अवस्था कमजोर भएकाहरु रत्न वानियाँलाई सम्झिन्थे ।