भारोत्तोलन महिला ५९ केजीमा कमलाले जितिन् स्वर्ण

राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ५९ केजी  तौल समूहमा नेपाल आर्मी क्लबकी कमला श्रेष्ठले स्वर्ण जितेकी छन् ।पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगितामा सोमबार सम्पन्न स्पर्धामा कमलाले कुल १५३ केजी भार वहन गरी स्वर्ण जितेकी हुन् । कमलाले स्न्याचमा ६८ र क्लिन एण्ड जर्कमा ८५ केजी भार वहन गरिन् । सागकी दुई रजत विजेता नेपाल पुलिसकी देवीकुमारी चौधरीले रजत जितिन् । उनले स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७० गरी १२८ केजी भार वहन गरिन् । यो स्पर्धामा आर्मीकै अस्मिता पुलामी मगरले कांस्य जितिन् । उनले स्न्याचमा ५३ र क्लिन एन्ड जर्कमा ७० गरी १२३ केजी भार वहन गरिन् ।

सोमबारै भएको अर्को स्पर्धामा साग स्वर्ण विजेता नेपाल आर्मीका भेट्रान कमलबहादुर अधिकारीले ६७ केजी तौलसमूहमा स्वर्ण जिते । उनले स्न्याचमा ९५ र क्लिन एण्ड जर्कमा १३० गरी कुल २२५ केजी भार वहन गरे । आर्मीकै मुक्तिराम घलेले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा ११९ गरी कुल २०९ केजी भार वहन गरी रजत जिते ।

कुल १ केजीले पछि परेका सुदूरपश्चिम प्रदेशका अशोकसिंह भण्डारी कांस्यमा सीमित भए । उनले स्न्याचमा ९२ र क्लिन एन्ड जर्कमा ११६ केजी गरी २०८ केजी भार वहन गरे । महिलाको ५५ केजी तौलसमूहमा नेपाल पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन् । उनले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार वहन गरिन् ।

रजत विजेता आर्मीकी प्रभा थारुले स्न्याचमा ५८ र क्लिन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार वहन गरिन् । यो स्पर्धामा पनि रजत र कांस्य विजेताबीच एक केजी तौलको फरक रह्यो । कांस्य विजेता लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले स्न्याचमा ५६ र क्लिन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी भार वहन गरिन् ।