महिला क्रिकेटमा पुलिसले जित्यो स्वर्ण

नेपाल पुलिस क्लबको महिला क्रिकेक टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यूमा नै स्वर्ण पदक जितेको छ। पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पाँच रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो। पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यू प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जित्न सफल भयो। पुलिसले राष्ट्रिय टोलीका कप्तान रुविना क्षेत्रीको कप्तानीमा पहिलो पटक महिला क्रिकेट बनाएको हो।

जितको लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रनमा समेटियो। एपिएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। एपिएफलाई ८४ रनमा समेट्नेक्रममा पुलिसकी ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो।पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाइन भने सम्झना खड्काले २१ रन जोडिन। कविता जोशीले अविजित १३ रनको इनिङ खेल्दा कविता कुवँरले ११ रन बनाइन। यसैगरी कप्तान रुबिना क्षेत्रीले ८ रन बनाइन भने अप्सरी बेगमले अविजित २ रन बनाइन्।

एपिएफका लागि नेरी थापा, ईन्दु बर्मा र कप्तान सीता राना मगरले समान १-१ विकेट लिए। यस हारसँगै एपीएफ रजतपदकमा चित्त बुझाएको छ। आजै भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको थियो। सोही प्रतियोगिताको पुरुषतर्फको खेलमा पनि नेपाल पुलिस क्लबले नै स्वर्ण पदक जितेको थियो।