पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । पोखराको फिस्टेल एकेडेमीको स्वीमिङ पुलमा मंगलबार सकिएको पौडी प्रतियोगितामा आर्मीले २० स्वर्ण, ९ रजत र ७ कांस्य सहित ३६ पदक जितेको छ ।एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कांस्य सहित १६ पदक सहित दोस्रो भयो भने एपीएफ ३ स्वर्ण, ४ रजत र ६ कांस्य सहित १३ पदक सहित तेस्रो भयो । आर्मीका लागि डुवाना लामा एक्लैले ९ स्वर्ण, १ रजतसहित सर्वाधिक १० पदक जितेकी छिन् । आर्मीकै नाजिर हुसेनले ७ स्वर्ण, २ रजत र १ कांस्य सहित १० पदक नै जिते ।एनआरएनकी एस्ली सापकोटा डंगोलले ६ स्वर्ण र २ रजतसहित ८ तथा आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजतसहित ६ पदक जितिन् ।

अन्तिम दिन मंगलबार आर्मीले चार स्वर्ण पदक जितेको छ । महिला ४ सय मिटर फ्रिस्टाइल आर्मीकी डुवाना लामाले स्वर्ण जितेकी छन् । उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पूरा गरिन् । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन् । बागमती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७.३६ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जितिन् । पुरुष ४ सय मिटरमा एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान समेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले ५ मिनेट १२.०९ सेकेण्डमा पूरा गर्दै रजत पदक जिते भने एपीएफका सुरेनबहादुर सिंहले ५ मिनेट १२.१५ सेकेण्डमा पूरा गर्दै कांस्य पदकमा चित्त बुझाए ।

महिला १०० मिटर बेष्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति महर्जनले १ मिनेट २२.३९ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जितिन् । मंगलबार नै भएको पुरुष १०० मिटर बेष्टस्टोकमा प्रदेश १ का विकास कुमालले स्वर्ण जितेका छन् । उनले १ मिनेट ७.९३ सकेण्डमा पूरा गर्दै उनले कीर्तिमानी स्वर्ण जिते । आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सकेण्डमा सक्दै रतज पदक जिते भने एनआरएनका आशिष सापकोटाले १ मिनेट ८.८० सेकेण्डमा सक्दै कांस्य पदक जिते ।

अर्को खेलमा पुरुष २ सय मिटर बटरफ्लाइमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमान समेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेण्डमा पूरा गर्दै रजत पदक जितेका छन् भने एपीएफका सुरेन्द्रबहादुर सिंहले २ मिनेट २७.४५ सेकेण्डमा पूरा गर्दै कांस्य पदकमा चित्त बुझाए । अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका एस्ली सापकोटा डंगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७.८९ सेकेण्डमा पूरा गरिन् । गौरीका सिंहले २८.२९ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा दुरी पूरा गर्दै आर्मीकै अनुसैया तन्डुकारले कांस्य पदक प्राप्त गरेकी छन् ।

पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आर्मीका अलेकजेण्डर शाहले २३.८७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेका छन् । पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेण्डको समयसहित रजत र एपीएफका तेन्जिङ नामडोल रायन गुरुङले  २५.८२ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जिते । ४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कांस्य पदक प्राप्त गरेको छ ।