पूर्व विजेताहरु इंग्ल्याण्ड र फ्रान्सको भेट विश्वकपको क्वाटरफाइनलमै

सेनेगलमाथि प्रभावशाली ३-० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँगको भेट निश्चित गरेको छ । दोहाले अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा लड्खडाएको थियो । गोलरक्षक जोर्डन पिकफोर्डले सेनेगलका बोउलाये डियाको प्रहारको सानदार बचाउ गरेका थिए । जसका कारण इंग्ल्याण्ड खेलमा पछि पर्नबाट जोगिएको थियो । इंग्लिस टिममा जुड बेलिंगघमको प्रदर्शन शानदार थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गरेको पहिलो गोलमा उनैले शशक्त क्रस उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनु केहि सेकेण्डअघि उनी र फिल फोडेनको सन्तुलनसँगै उपलब्ध बलमा कप्तान ह्यारी केनले गोल गरेका हुन् । केनको यो विश्वकपमा पहिलो गोल हो ।

यो गोल केनको इंग्ल्याण्डका लागि ५२औं गोल हो । उनी इंग्ल्याण्डका सर्वकालीन सर्वाधिक गोलकर्ता वायने रुनीको कीर्तिमानबाट १ गोलले पछि छन् । कतार विश्वकप केनका लागि नयाँ कीर्तिमान बनाउने उपयुक्त मन्च हुनसक्छ । फिल फोडेनले खेलमा दोस्रोपल्ट असिस्ट गर्दा ५७औं मिनेटमा इंग्ल्याण्डले अग्रता बढायो । यसपल्ट बुकायो साकाले सेनेगलका गोलरक्षक एडुवार्ड मेण्डीलाई छक्याउँदै गोल गरेका थिए । विश्वकपका दुई पूर्व विजेताहरुको भेट क्वाटरफाइनलमै हुन लागेको हो । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप उपाधि जित्न सकेको छैन । फ्रान्सले सन् १९९८ र चार वर्षअघि विश्वकप उपाधि जितेको थियो । आइतबार साँझ भएको खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । यी दुईले सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्नेछन् ।