बगैचा जस्तै ढुंखर्क डाडागाउ

काभ्रेपलान्चोक जिल्लामा अवस्थित बेथानचोक गाउपालिकाको केन्द्र भागमा अवस्थित ढुंखर्क वरिपरी घुम्ने ठाउ दर्जनौ छन् । निकै आकर्षक गन्तब्य हो ढुंखर्क । पार्थलीको सिरको रुपमा रहेको डाडा गाउँ पनि ढुंखर्कको राम्रो गन्तब्य हो । यसपाली हाम्रो पदयात्रा टोली यसैतर्फ लाग्ने निर्णय गरेपछि साथीहरुमा एउटा बेग्लै उत्साह देखियो । विहान ५ बजे डाडागाउको गन्तब्य बोकेर घरबाट निस्केको ममा पनि निकै ऊर्जा आईरहेको थियो । करिव डेढ घण्टामा ३१ जाना साथीहरुलाई बिभिन्न ठाउबाट बटुलेर सागा भन्ज्यांग कटियो । बाटोमा कहि अवरोध नभएकाले खोपासी पुग्न खाशै समय लागेन । खोपासीबाट ढुंखर्क जाने बाँटो पछ्छाउदै गुड्न थालेपछि बाँटो अलि प्राकृतिक बन्दै गएको थियो । हरियाली पुर्ण दुई पहाडको सागुरो घाटीबाट छिर्दै बेथानचोक गाउपालिकातर्फ लागेपछि बाटो पनि राम्रो प्रकृति पनि राम्रो । मेरो मन प्रकृतिमा डुब्दै गयो । कोहि साथीहरु संगीतमा कोहि झ्यालबाट हेर्दै प्रकृतिको स्वाद चाख्दै थिए ।

चाडवाडमा ब्यस्त दैनिकी सकिए पछि बल्ल बल्ल हिड्न पाएका पदयात्रीका पाईलामा निकै जोश जागर देखिन्थ्यो । बिहान ८ बजे हामी पार्थली पुगिसकेका थियौ । हाम्रो यात्रालाई सहजीकरण गर्न अमर श्रेष्ठ भाइ डाडागाउबाट हामीलाई लिन पार्थली आईपुगेका रहेछन् । हामी चढेको बसलाई बाँटो देखाउदै आफ्नो होमस्टेसम्म लगे । डाडाको काल्ने बारीमा निकै आकर्षक घर रहेछ उनको । हामीलाई बसाउन पिडीमा गुन्द्री बिछ्याईएको रहेछ । टुकु टुकु हामी त्यहि गएर बस्यौ । हाम्रो ब्रेकफास्टको लागि उसिनेको आलु भुटेको मकै भटमास ,साधेको गुन्द्रुक , मुलाको चाना र महि तयार पारिएको रहेछ । पदयात्री मित्रहरुले निकै मिठो मानेर खाए । अमर भाइको आगनमा उभिएर तल हेर्दा निकै आनन्दको अनुभूति हुन्छ ।

तल बेसीमा कञ्चन पानी लिएर दौडिरहेको लड्कु खोला । घरमाथी नजिकैको जंगलमा नाम थाहा नभएका बेनामी चराहरुको मधुर नाद । अनि एकनासले मन्द मन्द चलिरहेको प्रदूषणरहित हावा । एकैछिन पुगेर आउँछु भन्नेलाई पनि यस्तै वातावरणीय प्रभावले केही समय अड्याउँछ, ढुंखर्कको डाडागाउले । एकपटक पुग्नेलाई त धितै मर्दैन, फेरि फेरि पनि जाउँ जाउँ बनाइरहन्छ । शान्त स्थानमा बसेर केही समय मन र दिमाग माझ्नेका लागि उपयुक्त क्षेत्र पनि हो, यो । काठमाडौंबाट वाक्क दिक्क भएर केही दिनका लागि मन बहलाउने र व्यस्त जीवनबाट शान्ति र आनन्दका लागि यो ठाउँ उपयुक्त छ ।

काभे् जिल्लाको पश्चिमी भेग बेथानचोक गाउँपालिकामा पर्ने प्राकृतिक रूपमा रमणीय सानो उपत्यका ढुंखर्कलाई निकै राम्रोसंग देखिन्छ यहाबाट । वरिपरि महाभारत शृंखलाले घेरिएको ढुंखर्कको माथिल्लो भाग हरियो जंगलले ढाकेको छ । त्यसभन्दा तल खेतीयोग्य जमिन छ । सेतो रंगले पोतेका सुन्दर घरहरू पाखैभरि देख्दा कुनै पारखीले सझाए झैं लाग्छ । पहिलो पटक जाने पदयात्री डाडागाउबाट एकछिन एकोहोरिएर हेर्न लालायित हुन्छन् । सुन्दर दृश्यले जो कोहीको पनि मन त तान्ने नै भयो । मकै थन्काएर रोपिएका आलु खन्ने बेला भएको थियो । बारीका पाटामा तोरि पहेलपुर थियो । गहुबारी हरियो थियो । बारीका गरागरामा लगाएको आलुको हरियाली र चिसोचिसो वातावरणले त्यहाँ पुग्नेलाई आनन्द दिन्छ ।

चिसो ठाउँका सागसब्जी स्वादिला हुने भएकाले एक पटक चाख्नेको जिब्रोमा डाडागाउको स्वाद बसिरहन्छ यहाँका घट्टमा पिँधेको मकैको पिठोको ढिंडो र रायोको सागको स्वाद विरलै अन्य ठाउँमा पाइन्छ । त्यसैले त अतिथिको रोजाइमा यही खाना पर्छ । यहाँ अझै पनि पानीघट्ट चलनचल्तीमा छन् । पानीघट्टमा पिँधेको पिठोको स्वादै फरक । यहाँ दूधबाट खुवा बनाउने चलन छ । घुम्न र आफन्तकहाँ पुग्ने व्यक्तिले चाख्ने र ढुंखर्कको कोसेली ल्याउने भनेकै खुवा हो । हामीले पनि खुवा चाख्यौ अनि घर लान अडर्र पनि गर्यौ । हामीलाई खुवा ल्याईदिन अमर भाइ निकै उत्साहित बने । नभन्दै पर अर्को गाउमा पुगेर ल्याई पनि दिए । भैंसीको शुद्ध दूधलाई दाउराको आगोमा तताएर बनाएको खुवाको स्वादै स्वादिलो ।

महाभारत पर्वतमाला अन्तर्गत रहेका मनोरम ठाउ घुम्ने मेलोमेसोमा यसपटक हामी ३१ जाना पदयात्री डाडागाउमा पुग्यौ । हामी उत्साहित थियौ । अमर भाइको होमस्टेबाट हाम्रा पाइला अधि बढ़े । नेतृत्व उनै अमर भाइलाई दियौ । उनको आंगनबाट निस्केका हामी आलु बारी तोरीबारी हुदै क्रमश जंगल तिर पस्यौ । निकै सजिलो पदमार्ग रहेछ । यहि ट्रेल भएर मोटरबाटो खुल्नु अधि त्यहाका मानिस नुन तेल गर्न पनौती झर्थे । हामी त्यहि बाँटो पछ्छाउदै अमिलो चौरतर्फ लागिरहेका थियौ । करिव डेढघण्टाको हिडाईले हामी अमिलो चौर पुग्यौ । त्यो ठाउमा अमिलो घास धेरै पाईने हुनाले अमिलो चौर भनिएको रहेछ । त्यस्तो अनकण्टार चौरमा पनि दुइ किसोर बच्चाहरु फुटबल खेलिरहेका थिए । हामी पनि उनीहरुलाई हौसला दिदै केहि बेर संगै खेल्यौ । चौरमा १५ मिनेट जति नाचगान गरियो ।अनि लागियो मत्ता पोखरीतर्फ ।

मत्ता भनेको भाले हात्ती हो । जुन ठाउमा आजसम्म हात्तिको पाइला नै परेको छैन । त्यहाको नाम मत्ता पोखरी रे ! सुन्दा अचम्म लाग्यो । त्यहि मत्ता पोखरी पनि बाटो बनाउने क्रममा डोजरले खाईदिंए छ । नामोनिसान छैन । तैपनि नाम भने कायम नै छ । मत्ता पोखरी मासेर बनाईएको पोखरीमा टेक्दै हाम्रा पाईला अधि बढे । केहि बेर वरिपरीको दृश्य हेर्नैका लागि भए पनि डोजर बाटो नै बाटो हिड्यौ । केहि बेरमा झ्याग्ले डाडा आईपुगियो । पछाडीका साथीहरुलाई कुर्दै चौरमा आराम गरियो । साथमा भएका फलफुल खाईयो । हिमाल आंसिक खुलेका थिए । गशेश लांगटांग सिसापागमा, लाक्पा दोर्जे, जुगल,गौरीशंकर नुम्बुर,सगरमाथा सम्मका हिमाल मज्जाले देखिएका थिए ।

झ्याग्ले डाडा पछि डोजर बाटो हिड्न मनलागेन । त्यसैले हामी कालो जगलको बाटो पस्यौ । जंगल निकै घना थियो । सुरुमा ओर्लिन गाह्रो भए पनि भित्र बाटो राम्रो नै रहेछ । निकै सजिलो पदमार्ग । करिव २ घण्टा घना जंगलको बाटो हिडेर हामी हिले भन्ज्यांगमा पुन उहि डोजर बाटोलाई भेट्न आईपुग्यौ । त्यसपछि त्यहिबाटो हिड्दै करिव १ घण्टामा डाडाको टुप्पोमा बनाईएको भ्यु टावरमा पुग्यौ । टावर बनिसकेको रहेन छ । बन्ने क्रममै रहेको टाउर वरिपरीको चौरमा बसेर बरिपरिका गाउ हेर्न थाल्यौ । बेथानचोक गाउपालिका पुरै त्यहाबाट देखिदो रहेछ । निकै आनन्द मानेर दृश्यावलोकन गरियो । केहि बेर आराम गरेपछि हामी अब भारदेउ जाने बाटो समाएर अधि बढ्यौ ।

भारदेउतिर जाने पदमार्गमा १ घन्टा पर पुगेपछि ढुंखर्कबाट हिडेर आउने पदमार्ग भेटियो । यसपटक हाम्रो गन्तब्य भारदेउ थिएन । त्यसैले हामी ढुंखर्क झर्ने बाटो समायौ । पदमार्ग निकै सजिलो र घना जंगलको बिचमा भएकाले निकै मनकारी थियो । करिव १ घण्टा ओरालो झरेपछि एउटा पोखरी सहितको सुन्दर चौर आयो । त्यहि चौरमा केहि बेर आराम गरियो । यसपटक हाम्रो गन्तब्य ढुंखर्क पनि थिएन । त्यसैले हामी पुन ढुंखर्क जाने बाटो छोडेर डाडागाउमै अमर भाइको होमस्टेतिरै लाग्यौ ।

होमस्टेमा आएर खाना खाएर भरपुर रमाईलो गरेर आफ्ना आफ्ना काधमा आलुको झोला राखेर घर फर्किने सुरमा पार्थली तिर झर्यौ । तोरी र आलुको खेतीले गाउ नै बगैचा जस्तो बनिरहेको रहेछ । घना जंगलको शितलता अनि उत्तर तिर हिमाल । वरिपरीका गाउलाई डाडाबाट निहाल्दै हिड्दा दिन बितेको पत्तै भएन । करिव ३ घण्टाको बस यात्रा पछि आफ्ना आफ्ना घर फर्कियौं । पदयात्रा सफल भएकोमा सबै दंग थियौ ।

प्रस्तुती – राजाराम फुयाल