भुरूङ्गे डाँडा ताराखसे पोखरीमा बरालिदाको आनन्द

शनिबारको दिन निकै आनन्द लाग्छ । ६ दिनको दिमागी थकाई हटाउने दिनको रुपमा शनिबारलाई लिने गरेको छु । बिहान सबेरै सानो झोला बोकेर लुखुर लुखुर हिड्न मनलाग्छ शनिबार । सदा झै आज पनि यहि कर्ममा सामेल भइयो । आजको गन्तब्य थियो रोशी गाउपालिकाको ताराखसे पोखरी । काठमाडौ उपत्यकाका ३२ जाना साथीहरु बटुलेर हामी बिहान ६ बजे कोटेश्वरबाट गन्तब्य तर्फ लाग्यौ । भक्तपुर र काभ्रेको वाक्लो हुस्सुको चिसो खादै बसमा रमाईलो गर्दै नमोबुद्ध पुगेपछि मात्र हुस्सुल् छोड्यो हामीलाई । श्यामपाटी , सुत्केरीढुंगा हुदै हामी बिहान ८ बजे दाप्चा पुगिसकेका थियौ ।

दाप्ताको परम्परागत गाउको बिचबाट यात्रा गरिरहेका थियौ । निकै पुराना घरहरु देख्न पाएर आनन्द अनुभूति भैरहेको थियो । दाप्चाबाट मुल सड़क छोडेर फलामेसाधु तिर लाग्यौ । सानो मुख भएको बाँटो थियो तर अलि पर गएपछि बाँटो ठूलै थियो । ४ वर्ष अधि त्यहि मुखबाट गाड़ी झार्न डराएर ड्राईभर नमाने पछि त्यहिबाट हिडेर तिनधारे पुगेको याद आयो । तर अहिले बाटोले काचुली फेरिसकेछ । कालोपत्रे सड़क बनिसकेको रहेछ । विकासले दाप्चालाई पनि छोएको देखेर खुसी लाग्यो ।

सरर फलामेसाधु पुग्न पाईने भो भनेर दंग थियौ हामी । तर ५ किलोमिटर गुडेपछि दुईटा बाँटो आयो पिच पनि सकिएको थियो । हामी सिधै ओरालो लाग्यौ । सानो कच्ची बाँटो थियो । पछाडीबाट मित्र राम श्रेष्ठजी कराए – “गुरुजी अलिपर बुद्धको मुर्तीभएको ठाउमा रोक्नुस है फÞोटो खिच्नु पर्छ ।” ड्राईभर भाइले टाउको हल्वाएर हुन्छ भन्ने संकेत दियो । रामजी दंग र उत्साहित थिए फोटोको लागि । हामीले पत्तै पाएनौ गाडी गÞलत दिशामा गैरहेको कुरो । बुद्धको मुर्ती पल्लो डाडामा देखे पनि हामी सबै हिस्सै पर्यौ । फर्किन सक्ने बिकल्प थिएन । हामी अधि बढ्यो । यो बाँटो पनि फलामेसाधु नै पुग्छ भन्ने कुरामा ढुक्क थियौ । तैपनि पक्का हुन ड्राईभर भाइले सडकमा हिडिरहेका गाउलेलाई सोध्यो । लगभग १ घण्टा पछि हामी फलामेसाधु पुग्यौ ।

पुरानो फलामको पुलको ठाउमा नया सिमेन्टको पुल बनिसकेछ । फलामेसाधुको सानो बजार कटेर हामी भुलभुले तिर लाग्यौ । राम लामा भाइको नमोबुद्ध होमस्टे तथा खाजा घरमा हाम्रो लागि मिठो खाना पाकिरहेको थियो । सेल , लोकल सिमीको तरकारी , अण्डा र चिया हाम्रो लागि तयार थियो । हामी आएको पत्तो पाउने वित्तिकै रामभाइको बुढाबुढि आगनमा मिठो मुस्कान सहित निस्के । हामी फटाफट बसबाट झरेर उनको आगनमा राखिएको मेट र गुन्द्रीमा बस्यौ अनि पकापक खाजा खान थाल्यौ । ९ बजेको टाईममा हामी पुगेका थियौ । साथीहरु मिठो खाजा पाएर दंग थिए । अझ भैसीको दुध पनि छ भने पछि कतिपयको मनले मान्दै मानेन पेटमा ठाउ नभए पनि खान मन लागिहाल्यो । राम भाइकोमा बिहानको खाजा खाएर हाम्रो गन्तब्यतर्फ लाग्न फेरि बस चढ्यौ । वरिपरी तोरीफुलेको दृश्यले भुलभुले क्षेत्र निकै राम्रो देखिएको थियो । सानो कच्ची सडकमा हाम्रो बस गुडिरहेको थियो ।

वरिपरी पातलो गाउँ अनि घरवरीपरी तोरी पहेलपुर निकै आकर्षक थियो । शिखर, छाप, भन्जंयांग , साझकोट, हुदै निगाले पुगेर बस रोकियो । रोशी गाउपालिका वडानं ३ का वडाअध्यक्ष धनजित लामा हाम्रो स्वागतको लागि त्यहि आईपुग्नु भएको थियो । उहासंग आत्मियतापुर्वक परिचय आदान प्रदान भए पछि उनकै अगुवाईमा हाम्रो पदयात्रा सुरु भयो । पदयात्रा आफैमा साहसिक पर्यटन हो भन्ने कुरा यो रुटमा बसयात्रा गर्ने जोसुकैले अनुभव गर्न सक्छ । दाप्चादेखि निगालेसम्मको २० किमी सड़क पुरै कालोपत्रे नभएको अनि सड़क सुरक्षाको लागि व्यारियर पनि नभएकाले अनि निकै साधुरो हुनुको साथै भीर पहराको बाँटो भएकाले बसको झ्यालबाट बाहिर हेर्दा कहाली नलाग्ने मानिस कमै हुन्छन् । हामी पनि डराई डराई यात्रा गर्यौ ।

धनजितजीको नेतृत्वमा हामी ठाडो उकालो चढेर एउटा चौरमा पुग्यौ । मनै लोभ्याउने हरियाली दृश्यहरु सगैँ हिमश्रृङ्खलाहरु पनि मज्जैले नियाल्न सकिन्छ त्यो चौरबाट । निकै ठूलो घासें चौर थियो त्यो । त्यहाबाट मनास्लु हिमाल देखि मकालुसम्मका हिमाल देखिएका थिए । सगरमाथा बादलबिच मुस्कुराएको देखेर हामी निकै रमायौ । दन्तेलहर जस्तो लाग्ने हिमाल हेर्दै खिच्दै १५ मिनेट त्यहॉ रमायौ । अनि विस्तारै चौरको मध्य भागबाट हिड्दै हामी फेरि जंगलको उकालो लाग्यौ ।

फेरि अधि मोटरमा गुडेको सडक भेटियो । धनजित जी भन्दै हुनुहुन्थ्यो यो बाँटो त सिन्धुली मकवानपुर पुगेर तराईसम्म पुग्छ । त्यो सडकमा केहि बेर हिडेर फेरि पुरानो पदमार्गमा पस्यौ । घरि पस्दै घरि निस्कदै ५ पटक गरेपछि बल्ल हाम्रो मुल गन्तब्य ताराखसे पोखरी आईपुगियो । चौरबाट यहासम्म आउन हामीलाई करिव डेढ घण्टा लागेको थियो । सडकबाटै पोखरी देखियो । कामदारहरुले पोखरी संरक्षणको लागि पर्खाल बनाउने काम गरिरहेका थिए । घाम नलाग्ने ठाउमा भएकाले पोखरी कालो देखिन्थ्यो । अच्चमः कतैबाट मुल पलाएको आएको देखिदैन तर पहाडको टुप्पोमा पानी पोखरी । अन्जुलीमा पानी लिई हेरेको पुरा कन्चन छ ।

अनौठो मानेर निकै बेर पोखरी हरिरहे । प्राचीन समयमा सोही ठाउँमा आकाशबाट तारा खसेको र पानीको उत्पत्ति भई पोखरी बनेपछि सोही ठाउँको नाम ताराखसे रहन पुगेको किम्बदन्ती रहेछ । यो पोखरी र पहाड हेर्दा मनमनै सोचे “यो ठाउ त काभ्रे जिल्लाकै राम्रो संभावना बोकेको पर्यटकिय स्थल रहेछ । धर्म र पदयात्रामा रुची हुनेहरुलाई यो ठाउ उत्तम छ ।” २५४० मिटरको उचाईमा रहेको पोखरी एक चक्कर लगाए । शिरमा पूजा गर्ने ठाउ पनि रहेछ । पोखरी छेउको ढुङ्गामा एक मानवीय पैदालाको छाप देखे । किम्बदन्ती अनुसार त्यो पाईला सिताको रे ! हरेक बर्ष जनैपूर्णिमाको दिन धामी झाक्री लगायत स्थानीय पुजा आजा गर्नको लागि यहि पोखरीमा आउने गर्दा रहेछन् । वरिपरीका गाउँबाट मानिसहरु आउदा निकै तामझाम हुन्छ भन्ने कुरा धनजितजीको मुखबाट सुनियो ।

पोखरीमा रमाए पछि अबको हाम्रो गन्तब्य भुरूङ्गे डाँडामा अवस्थित मोक्षद्वार पर्वत थियो । त्यहा जान पोखरी छेउबाटै निकै सजिलो सिढी बनाईएको थियो । हामीहरु सबै त्यो सिढीमा हिड्न थाल्यौ । घरि उकालो घरि ओरालो घरि तेस्रो बाँटो आउथ्यो । घनघोर जंगल बिचमा सिढी थियौ । कतै घाम त कतै छाया । उचाईको ठाउ भएकाले चिसो थियो । नुवाकोटे मजदुरहरुले बनाएको सिढी निकै सजिलो लाग्यो हिड्न ।
पहाडको टुप्पा नै टुप्पा हिडिरहेका थियौ । बिस्तारै जादो उचाई पार गरेको पत्तै भएन यसो कम्पास हेरेको २७८० मिटर देखायो । बाफ्रे शिवपुरी फुलचोकी भन्दा पनि अग्लो ठाउमा पो आइएछ भन्दै हामी खÞुशी भयौ । उचाईको यात्रा तय गर्दै जाँदा सुन्दर मनोरम वातावारण, लेकमा रहेको ठुला ठुला अनि अग्लाअग्ला रुखसगैँ गौरीशङ्कर हिमाल, गणेश हिमाल लगायत थुप्रै हिमालहरुको दृश्य नियाल्दै जादा गन्तव्यमा पुगेको पत्तो हुँदैन ।

हड्दै जादा ३ वटा थुम्की पार गरिसकेका थियौ । ठ्याक्क ५ किलोमिटर दुरी पार गरे पछि एउटा सानो चौर आयो । चौरको दाया बाया दुबैतिर बाँटो थियो । मोक्षद्वार पर्वतको मुनी दक्षिण लागे तालढुंगा पुग्ने उत्तर लागे कामीडाडा पुग्ने । आजको हाम्रो अन्तिम गन्तब्य यहि थियो । अब हामीलाई त्यहाबाट फर्किनु थियो । निगालेबाट हिडेर आउदा यो बिन्दुसम्म १० किमी भएको थियो । अब फर्किदा पनि त्यति नै दुरी पार गर्नु थियो ।

हामीहरु आफ्नै वेगमा अधि उक्लेको उकालो झर्न थाल्यौ । झर्दा झर्दै हामी साझ ७ बजे मात्रै हाम्रो बस भएको ठाउमा आईपुग्यौ । लगभग १५ मिनेट कुरे पछि सबै साथीहरु आईपुगे अनि हामी बस चढेर भुलभुलेतिर लाग्यौ । ४५ मिनेटको बस यात्रा पछि हामी भुलभुलेमा खाना खान आईपुग्यौ । हाम्रो लागि तातो खाना तयार थियो । भोकाएका पनि थियौ कपाकप खाना खायौ । अनि आजको पदयात्रा सकाएर काठमाडौ फर्किन बसमा बस्यौ ।

प्रस्तुति- राजाराम फुयाल

फ़ोटो- सहदेव गुरुंग