कुन्ज्योसोमबाट बेथानचोक : अलौकिक आनन्दको पदयात्रा

नियमित शनिबार पदयात्रा गर्ने क्रममा यसपटक कुन्ज्योसोम गाउपालिका भारदेउ हुदै ढुंखर्क पुग्ने सोच बन्यो । अलि लामो दुरी तय गर्ने सोच मुताविक यो रुट तय गरिएको थियो । २ हप्ता अधि डाडागाउ अमिलो चौर पदयात्रा गर्ने क्रममा त्यहाबाट भारदेउ लेले जान मिल्छ भन्ने पत्तो पाएपछि यो रुट तय गरिएको थियो । अन्तत: ३३ जाना बोकेर हाम्रो बस चापागाउ लेले तिर हानियो ।

अग्ला डाडै डाडाले धेरिएको भारदेउको बारेमा एउटा रमाईलो किंम्बदन्ती छ । परापुर्व कालमा भष्मासुर राक्षसले महादेवको तपस्या गरेछ । महादेव प्रशन्न भएर बरदान माग्न भनेछन् । भष्मासुरले “म जसको टाउकोमा हात राख्छु त्यो भष्म होस्” भनेर बरदान मागेछ । महादेवले केहि पनि सोच्दै नसोची “तथास्थु” भन्दिएछन् । वरदान पाउने बित्तिकै भष्मासुरले वरदान सहि हो कि होईन भनेर परिक्षण गर्न महादेवकै टाउकोमा हात राख्न खोजेछ । डरले महादेव त्यहाबाट भागे । देउता भागेको ठाउ भएकाले “भागदेव” भन्दाभन्दै अपभ्रंस भएर भारदेउ भन्न थालियो । कालान्तरमा त्यो ठाउको नाम नै भारदेउ भयो ।

सडक निकै राम्रो बनेछ चापागाउ देखि लेलेसम्म । युरोपको गाउतिर गुडेजस्तो अनुभव भयो । लेले कटेपछि बाटोको हालत उहि पुरानै । उबडखाबड सडकमा गुड्दै जंगल नै जंगलको बाटो हामी साढे सात बजे भारदेउ पुग्यौ । सत्र झ्याले होमस्टेमा मिठो ब्रेकफास्ट खाएर करिव १५ मिनेट रोड नै रोड हिडेर गुप्तेश्वर गुफातर्फ जान पौवाचौर पुग्यौ । यहाबाट सिढी चढ्नु पर्ने रहेछ । १८ सय मिटरको उचाईमा रहेको भारदेउको पौवा चौर छेउबाट उक्लिन सुरु गरेका हामी ३३ पदयात्री सबै आ आफ्नो तालमा हिडीरहेका थियौ । राम दाइ पदयात्रीलाई चकलेट बाढ्दै थिए । समुहकी सबैभन्दा कान्छी पदयात्री ममता राउत सधा झै हसिमजाक गर्दै अल्छी लाग्दो पाराले उकालो चढिरहेकी थिईन । सजिलो तर लामो सिढि यात्रा पट्यार लाग्दो थियो । कहिले सकिएला यो बाटो भन्ने लागिरहयो । हामीले चाहादैमा कहा सकिन्थ्यो र सिढि । घरी पानी खादै घरि सुन्तला खादै गरि ड्राई फुड खादै हामी हिडिरहेका थियौ । जति माथी जान्थ्यौ त्यति राम्रो खुल्दै गएको थिये भारदेउ गाउ । दुई घण्टा हिडेपछि बल्ल गुप्तेश्वर मन्दिर र गुफा पुगियो ।

चारैतिर जंगल विचमा चौर खुल्ला आकाशमुनी ढुंगाका राताम्मे दुई शिला । शिलाको वरपर त्रिशुल गाडिएका । नजिकै घण्ट पनि । छेउको ठूलो रुख मुनि गुफा । यसैलाई गुप्तेश्वर गुफा भनिदो रहेछ । त्यहि शिलालाई गुप्तेश्वर महादेव । यो ठाउ हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल रहेछ । ठाउ निकै आकर्षक थियो । गुफा क्षेत्रमा धमाधम मन्दिर निर्माण भैरहेको थियो । हाइकिङमा चराको चिरबिर र जंगलको शितलताले सबैलाई मोहित बनाउँछ । जंगलबीचमा रहेको गुप्तेश्वर गुफा पदमार्गको अर्को आकर्षण हो । स्वच्छ हरियाली वातावरणमा भारदेउको शिरमा बसेका महादेवको पुजा गर्न नियमित भक्तजन आउदा रहेछन् । यहासम्म आईपुग्दा हामीले थप ७ सय मिटरको उचाई काटिसकेका थियौ । यात्रा निकै रमाईलो हुदै गईरहेको थियो ।

भारदेउबाट भाग्दै आएर यहि डाडाको टुप्पोमा गुप्त बास बसेकाले त्यो ठाउको नाम नै गुप्तेश्वर महादेव रहन गएको रहेछ । महाभारत शृंखला अन्तर्गतको जंगलमा अवस्थित गुफा चट्टानी पहरोले बनेको छ । गुफा करिव ५० मिटर लामो र १५ मिटर अग्लो छ । गुफाभित्र दुईटा छुट्टा छुट्टै मन्दिर रहेछन् । पस्ने बित्तिकै करिव २० मिटर दुरीमा सानो ढुंगाको मुर्ति र त्रिशुल देखिन्छ । यसलाई पार्वती मन्दिर भनिदो रहेछ । पार्वती मन्दिरबाट २० मिटर तल महादेव मुर्ति र त्रिशुल छ । यसलाई महादेव मन्दिर भनिदो रहेछ । पार्वती मन्दिरबाट तल झर्न धर्म ढोका छ । त्यसलाई पाप र धर्म छुट्टाउने द्वार भनिदोरहेछ । भष्मासुर राक्षसबाट बच्न उहिल्यै यस गुफामा महादेव लुकेको भनाई छ ।

अधि नै १० जाना साथीहरु पुगिसकेका थिए । राम श्रेष्ठजी गुफामा पसेर आरामले बसिरहेका थिए । उसको अनुहारको उत्साह देख्दा अरुलाई पनि जोस जागर आउथ्यो । करिव २५ मिनेट कुरे पछि सबै साथीहरु आईपुगे । यात्रालाई सरल बनाउन दुई पथप्रदर्शक हामीलाई लिन त्यहि आईपुगेका थिए । एक पदप्रदर्शक त्यहि छोडेर हामी चाहि कोन्ज्योसोम प्रतिमा तिर लाग्यौ । करिव २५ मिनेट हिडेपछि हामी त्यहा पुग्यौ । गुफा भन्दा माथि फूलबारी डाडामा शाक्यमुनि बुद्ध, गुरु पद्यसंभव र अवलोकितेश्वरको मूर्ति निकै आकर्षक तरिकाले बनाईएको रहेछ । तिनवटा मुर्तिले डाडालाई किनै शोभायमान बनाईरहेका थिेए । ठुलो चौरमा तिनवटा भिमकाय मुर्तिले निकै आकर्षण दिईरहेका थिए । मौसमले पनि निकै साथ दिएको थियो । उत्तरतिर हिमाल झलल फुलचोकी मुस्कुराईरहेको । क्या दामी दृश्य । मन निकै प्रफुल्ल ।

वरिपरीका सबै डाडा खुलेका । मन निकै चनचल भयो । ३० मिनेट वरिपरीका दृश्य हेर्दै फोटो खिच्दा निकै रमाईलो भयो । बुद्ध मुर्तीको पछाडी पट्टीबाट हामी ढुंखर्क तिर लाग्यौ । भारदेउबाट आउने सडक भेटियो । त्यहि सडकमा ३० मिनेट हिडे पछि फलाटे आयो । सडक नै सडक हिडेकाले खासै थकान थिएन । धुलौटे सडक भए पनि वरिपरी हरियाली र पर क्षितिजमा हिमाल देखिएकाले यात्रा मनकारी नै थियो । सडक नै सडक गईयो भने भारदेउ पुगिन्छ । त्यसैले हामीले अब जंगलको बाटो हिड्नु थियो । पदयात्राको मज्जा अब आउने वाला थियो । सडकको छेउमा साथीहरुलाई केहि बेर कुरियो । सबै आएपछि पुर्व घनाजंगलमा पस्यौ । ओरालो बाटो जति पस्यो उति घना जंगल । सजिलो पदमार्ग । खस्रु र नियालोको मिश्रित जंगल निकै मनपर्यो । झर्दा झर्दै निकै गहिरो ठाउमा पुगियो । हाम्रा पथप्रदर्शक दाइबाट यो ठाउको नाम नै गहिरो भन्ने बुझियो । हुन पनि निकै तल गहिराईमै झरेका थियौ हामी । त्यहा दुइटा बाटो आउछ । हामी उकालो नलागेर तेर्सो बाटो नै हिड्यौ किनकी हाम्रो गन्तब्य ढुंखर्क थियो ।

हामी ३३ पदयात्री तीन समुहमा छरिएका थियौ । हिड्न उत्साह बढिरहेको थियो । जॅगल घना थियो । घाम नै नछिर्ने । हामी गन्तब्यमा लम्कि रहेका थियौ । २ घण्टा हिडे पछि कुखुराले अण्डा पारेको ठाउ पुग्यौ । प्राचिन समयमा त्यहा एउटा ढुंगामाथी वन कुखुराले अण्डा पार्दो रहेछ । त्यो ढुंगामाथी अण्डाकै आकृति पनि थियो रे ! तर त्यो हामीले देख्न पाएनौ । कुन चाहि पटमुर्ख पदयात्रीले त्यो ढुंगा नै फुटाईदिएछ । पद प्रदर्शक दाइका अनुसार केहि महिना अधिसम्म त्यो ढुंगा त्यहि थियो रे ! यत्रतत्र छरिएका ढुंगा देखाउदै थिए दाइ । हामी त्यहा केहि बेर आराम गरेर पानी र फलफुल खायौ अनि फेरि आफ्नो पाईला अधि बढायौ । केहि समय पछि हामी चोइटा पुग्यौ । त्यहा पनि दुइटा बाटो थियो । पदयात्री सन्तोष पौडेल खै कता हो हतारिदै गएर आउदै गरेको अवस्थामा भेट भयो । सायद अरु भन्दा अलि छिटो हिड्ने भएकाले माथी थुम्कोसम्म पुगेर आएका हुन की ? यो ठाउलाई किन चोइटा भनियो बुझ्न सकिएन ।

केहि समय हिडेपछि नांगेचौर आयो । जंगलको बिचमा अलिकति खाली ठाउ भएकाले नांगे चौर भनिएको हुनुपर्छ । चौरमा पछाडीका साथीहरुलाई कुर्दै केहि समय घाम तापियो । उचाईको हिसावले ललितपुरको सबैभन्दा उचाईमा पुज्ञै । हाम्रो मोबाइल कम्पासले २८४० मिटरको उचाई देखाईरहेको थियो । १ दर्जन साथीहरुको मोबाईलले २८४० उचाई देखाए पछि यसैलाई सहि मान्यौ हामीले । त्यो उचाईमा बसेर हामीले चिउरा खायौ । भोकले हो कि सुख्खा चिउरा निकै मिठो भयो । सबै साथीहरु त्यहा आईपुगेपछि हामी ओरालो लाग्यौ । अब उकालो सकिएको थियो । ओरालो नै ओरालो बाकी थियो । सजिलो बाटो मिठो गफगाफले हिड्न निकै सजिलो भएको थियो ।

दारेगौडा पुग्यौ । त्यहाबाट बेथानचोकको नारायणथान क्षेत्र देखिदो रहेछ । त्यहि हेर्दै हामी लम्कीरहयौ । जंगलको छेउमा आईपुग्यौ । बाटो मुनी भिरालो काल्ला नै काल्ला थिए । पथप्रदर्शक दाइका अनुसार त्यो ठाउ फापर नांगे थियो । कुनै बेला फापर रोप्न जंगल खारिएको होला अनि फापर नांगे भनिएको हो कि भन्ने अनुमान लगाउदै एकोहोरो हिडिरहयौ । बाटो सानो थियो त्यसैले पक्तिबद्ध भएर हिडेका थियौ । फेरि जगल भित्र पस्यौ । निकै चिसो अनुभव भयो यो क्षेत्रमा । ३० मिनेट हिडेपछि जंगलको छेउमा आईयो । उत्तर पुर्व तिर हिमाल टल्किएको थियो । सगरमाथा पनि देखियो ।

देखिंएका सबै हिमाल हेर्दै पक्तिबद्ध रुपमा अधिबढ्यौ । निकै बेर त्यसरी हिडेपछि सडक भेटियो । ढुंखर्कबाट सडक यहासम्म आईपुगेको रहेछ। सडक नै सडक १० मिनेट हिडेपछि कालापानी आयो । कालापानीको मूल बाटोभन्दा मूनी रहेछ । हामी उत्साही पदयात्री त्यो हेर्न सडक मुनी झर्यौ । त्यसको प्राकृतिक स्वरुपलाई बिगारेर एउटा सिमेन्टको ट्यांकी बनाईएको रहेछ । देउताका मुर्ति पनि राखिएको रहेछ । नजिकै दुइटा पोखरी पनि थिए । एक त अध्यारो ठाउ रुखका पात झरेर पानी कालै थियो । त्यसैले कालापानी भनियो होला । जंगली जनावरलाई पानी खान उपयुक्त ठाउ रहेछ यो ।

कालापानीबाट सडक नै सडक हिड्दै जाते आईपुग्यौ । त्यहा आइपुगेपछि घास दाउरा गर्न आएका गाउले भेटिन थाले । हिले भन्ज्यांगको पुग्यौ । नजिकै निर्माणीधिन भ्यु टावर थियो । त्यहाबाट हिमाल र तल बेथानचोक गाउपालिकाका सम्पुर्ण क्षेत्र देखिन्थ्यो । त्यसको दृश्यपान गर्दै हामी ढुखर्कतर्फ झर्न थाल्यौ । हिले भन्ज्यांगबाट दक्षिण लागेपछि केहि बेरमा एउटा पोखरी आयो । सानो चौरको किनारमा रहेको पोखरी निकै आकर्षक थियो । ढुंखर्क बजार पुग्ने लक्ष्य हाम्रो थिएन तसर्थ त्यहि पोखरीलाई पश्चिम पार्दै हामी डाडागाउ तिर झर्यौ ।

भिरालोमा तोरी फुलेका थिए । चिटिक्क परेका घर थिए । अमर श्रेष्ठ भाइले हाम्रो लागि निकै मिठा परिकार बनाएर पर्खि रहेका थिए । उसिनेको आलु, इस्कुस , सादेको गुन्द्रुक भटमास , कुखुराको मासु  लगायत धेरै परिकार हाम्रो लागि तयार थिए । अमर भाइको आगनमा बसेर पदयात्रीहरुले मिठो मई पिउन निकै रुचाए । भोक लागेकाले मिठो मानी मानी खाएको दृश्य निकै रोचक थियो । आफ्नो भोक प्यास मेटाएर भरपुर मनोरन्जन गरेर हामी घर जान पार्थली झर्यौ । जहा हामीलाई बस पर्खिरहेको थियो ।

प्रस्तुती – राजाराम फुयाल

फोटो – सहदेव गुरुंग , राजन बराल , प्रदिप कडेल