फुलै फुलको चोक अर्थात फुलचोकी

उपत्यकाका वरिपरि पहरेदार जस्ता बनेर बसेका महाभारत र शिवपुरी पर्वत शृखला हेर्ने रहर र उत्सुकता पुरा गर्न यसपटक हामीले लाकुरी भन्ज्यांगलाई गेट वे बनाउने निधो गर्यौ । जहाबाट एकैपटक दुवै पहाडको रसास्वादन गर्न सकिन्छ । ककनीदेखि झुलेसम्मको पुरै शिवपुरीलाई निहाल्ने सहि बिन्दु पनि लाकुरी नै हो भने महाभारत खण्डको फुलचोकी चन्द्रागिरी खण्डलाई निहाल्ने बिन्दु पनि यहि हो ।

भनिन्छ, मानिसको जिन्दगी सुख र दुखको संगम हो । मानिसहरू दुखबाट टाढा भाग्न विभिन्न गतिविधिे गर्छन । त्यस्तै गतिविधिमा पदयात्रा पनि पर्छ । पदयात्रा गर्ने एउटा ठाउ हो लाकुरी भन्ज्याङ । लाकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको ठाउ हो । उपत्यकाको धेरै नजिक पर्ने यो  स्थल धेरै उचाइमा रहेकाले यहाबाट उत्तरतिरका हिमश्रृंखलाहरू प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । यहाबाट काठमाडौं उपत्यकालाई झ्यालबाट हेरेझैं अवलोकन गर्न सकिन्छ ।

लाकुरी भन्ज्याङ पुग्न हामी ३२ पदयात्री एकाबिहानै शहरको विभिन्न ठाउबाट बटुलेर ग्वार्खु , इमाडोल, लुभु, लामाटार, ढुंगिन हुदै गयौ । विहान ७ बजे नै हिमाल देख्न पाईन्छ भन्ने लोभमा त्यहा पुगेका थियौ । तर अपसोच मौसमले साथ दिएन । यसपटक हिमाल हेर्न पाईएन । बसबाट हतार हतार ओर्लिएर म अलि पर चापाखर्कतिर जाने बाटोको डिलमा उभिएर वरिपरी हेर्न थाले । मेरो पछि पछि प्रदिप भाइ पनि आइरहेको थियो । अरु साथीहरु यताउता खाजाघर तिर अलमलिदै थिए । त्यो डिलमा बसेर म एकछिन् सोच मग्न भए ।

हिमाल नदेखिपछि अव के हेर्ने ? पहिलेको यात्रा पनि सम्झे । त्यतिखेर निकै मौसम खुलेको थियो । दिनभरी हिमाल हेर्दै घरि वल्लो डाडा घरि पल्लो डाडा गरिएको याद आयो । गुफा गएको पनि सम्झिए ।हिमालको सट्टा गुफा जाने की भन्ने सोच पनि आयो । तर आजको हाम्रो गन्तब्य लाकुरीबाट फुलचोकी नै भएकाले धेरै बेर त्यहा अलमल गर्ने छुट हामीलाई थिएन । त्यसमाथी मौसम सफा नभएकाले त्यहा अलमल गर्नुको औचित्य पनि थिएन । गुफालाई मन मनै सम्झिदै हाम्रो टोली फुलचोकीतिर अधि बढ्यो ।

एकातिर भ्यू टावर, जंगल र अर्कातिर केही घर, वनभोज स्थल, केही खाली जस्ता लाग्ने डाडापाखाका बीचमा अवस्थित लाकुरी भञ्ज्याङ आफैमा हराइरहेको थियो । साच्चै भन्ने हो भने त चुपचाप जस्तो, शान्त जस्तो थियो । हामीले यात्रा गरेको सडक सोझै अझै दक्षिणतिरै सोझियो । सडकको के कुरा भयो र जता पनि सोझिन सक्छ । जसरी पनि बाङ्गिन, घुम्न, फैलिन र साँघुरिन सक्छ । हाम्रो त आफ्नो गन्तव्य थियो । त्यहा पुग्नु थियो ।

भञ्ज्याङभन्दा केही पर शृङ्गी ऋषिको गुफा र अलिमाथि एउटा टावर । गुफाको कुराले अलिकति उत्सुकता जाग्यो, मन अलिकति रमायो, तर सबै साथीमा त्यस्तो उत्साह देखिन्नथ्यो । जाने, नजाने कुरामा पनि दोधारकै स्थिति थियो । म भने मनमनै सोचिरहेको थियो । म बाहेक कसैलाई पनि त्यहा गुफा रहेको जानकारी थिएन । फुलचोकीको हतारोले भनिहाल्न पनि मन लागेन । भन्ने वित्तिकै साथीहरु गुफातिर नै लाग्थे । कम्तिमा २ घण्टा अलमल हुन्थ्यो । फुलचोकी पुग्न ढिला हुन्थ्यो । त्यसैले नभन्ने नै निश्चय गरे । आफु भने त्यहि गुफा सम्झिदै हिडीरहेको थिए ।
“उपत्यकामा शृङ्गी ऋषिको गुफा ?” मनमा कुरा खेल्न, प्रश्न उब्जन थाले । यी कुन शृङ्गी ? त्रेता युगका राजा दशरथका जुवाइँ, द्वापर युगका परीक्षितलाई श्राप दिने वा कलिका ? कहँबाट आए ? जस्ता अनौठा सोच उब्जे, तर न उत्तर प्राप्तिको सम्भावना थियो न अपेक्षा ।

मनमा कुरा खेल्न थाले । रामायणकालीन ऋषि शृङ्गीको नाम यो गुफासँग कसरी जोडियो ? के साँच्चै तिनै शृङ्गीको यस गुफासँग सम्बन्ध छ ? रामायणका अनुसार विभाण्डकपुत्र ऋष्यशृङ्ग दशरथका जुवाइँ थिए, शान्ताका पति । पुत्रेष्ठि यज्ञका जानकार भएकाले पुत्र प्राप्तिका लागि वशिष्ठको सल्लाहमा यिनैलाई बोलाएर दशरथको पुत्रेष्ठि यज्ञ गरिएको थियो र राम लक्ष्मण जन्मिएका थिए । त्यस्तै श्रीमद्भागवतमा राजा परीक्षितले पानी खान माग्दा ध्यानमग्न ऋषि शमिक नबोलेको झोकमा राजाले उनको घाँटीमा मरेको सर्प राखिदिएको कुरा थाहा पाएर उनका छोरा शृङ्गीले सातौं दिनमा तक्षकको टोकाइबाटै मृत्यु हुने श्राप दिएको प्रसंग आउछ । यस्ता प्रसंगमा आएका नाम हुन् शृङगी । यी दुई फरक व्यक्ति हुन्, तर कतिपय ठाउँमा श्रृङ्गी र ऋष्यश्रृङ्गलाई एउटै बनाइएको छ ।

मनमा कुरा खेल्न थाल्छ । सिंगो एउटा युग मात्र नभएर दुईदुई युगसम्म नाम आएका यस्ता ऋषिहरूको आयुका विषयमा । तिनको त्यो क्षमताका, ज्ञानका विषयमा । रामायण कालका ऋषि महाभारत कालसम्म, अझ कलि कालसम्म ? अर्थात् त्रेतादेखि कलिसम्म, किनकि परीक्षितको समयमै कलिको प्रारम्भ भएको कुरा महाभारतमा पाइन्छ । त्यतिबेलाका यज्ञद्वारा सन्तान उत्पन्न गराउने क्षमता र यज्ञबारे जानकारी भएका ऋषि ।

मनमा यस्तै कुरो खेलाउदै लाकुरीबाट फुलचोकीको फेदि हुदै गोदावरीसम्म खनिएको डोजर बाटोमा हिडिरहेको थिए । कोहि साथी अगाडी थिए कोहि पछि । केहि भने मसंगै थिए । लगभग १५ मिनेट हिडेपछि मनमोहन पार्क आयो ।“लौ एउटा फोटो खिचौ”भनेर पदयात्री मित्र गोपाल पन्थ जि चिच्चाए । म कल्पनाबाट ब्युझिए । हतार हतार फोटो खिच्न पार्क जाने सिढिमा उक्ले । अरु साथीहरु उक्ले । सिढिबाट पुर्व तर्फ नागि डाडा,कुसादेवी र आसपासका गाउहरु निकै राम्रो देखिएको थियो ।

टावर हेर्न जाने, नजाने कुराको दोधारमै थियौ । केही साथीहरूमा अब नभुलौं । उकालो नजाऔं भन्ने थियो, केहीमा भने अलिकति माथिको टावर नहेरी के जाने ? माथिबाट यताउताको रमाइलो दृश्य देख्न पाइन्छ भन्ने थियो । मौसमले साथ दिने संभावना छ लाकुरीबाट हिमाल नदेखिए पनि फुलचोकीबाट देखिन सक्छ अलमल नगरौ उतै जाउ भन्ने कुरामा सबैको सहमती जुट्यो । सबैमा फुलचोकीकै उत्सुकता थियो । पार्क र टावर नजाने निधो गरेर हामी अधि बढ्यौ ।

गर्मीमा शीतल हावा बह्ने अनि जाडोमा हिउको डल्लोसगै खेल्न पाउनु नै लाकुरी भन्ज्याङको मुख्य विशेषता हो । तमाङ जातिको मुख्य बसोबास रहेको यो ठाउ पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ । लगभग २ किलोमिटर सल्लाको पातलो जंगलको छेउमा बनेको सडकमा वरपरका गाउघर हेर्दै आनन्द लिदै हिडेपछि चापाखर्क आउछ । सानो चौरमा चिटिक्क परेको स्कुल अनि एउटा थुम्को । तर थुम्कोलाई निकै कुरुप बनाएछन् । हेर्दै जेल जस्तो । तारबार गरेको रत्ति पनि सुहाएन । संगैको पानी बिहिन पोखरी बरु राम्रो लाग्यो । त्यहि पोखरीकै डिलबाट हामी दक्षिण लाग्यौ । पर डिलमा पुग्यौ । त्यहाबाट गोदावरी क्षेत्र निकै हरियालीपुर्ण र आकर्षक देखियो । बिस्तारै ओरालो झरेर हामी ब्रेकफास्ट गर्न तल गाउमा झर्यौ ।

हामो लागि त्यहाको होमस्टेमा तात्तो चना अण्डा र चिया पाकीसकेको थियो । करिव १ घण्टाको हिडाईले हामी भोकाईसकेका थियौ । मिठो मानेर ब्रेकफास्ट गर्यौ । अनि लाग्यौ लठ्ठाभन्ज्यांग तिर । गोदावरी जाने र रयाले जाने सडक छोडेर हामी चौरतिर उकालो लाग्यौ । एउटा समुह राती त्यहि बसेको रहेछ टेन्ट राखेर । राष्ट्रिय झण्डा समेत गाडिएको चौर निकै आकर्षक थियो । चौरबाट गोदावरी मुस्कुराईरहेको अनुभूति भयो । फुलचोकीले हामीलाई बोलाईरहेको आभास भयो । हामी लम्किरहेका थियौ फुलचोकीतर्फै ।

४,५ मिनेट जति हिंडेपछि बाटो अलि बढी ओह्रालियो । जंगल, भिरालो, गोरेटो बाटो सुस्तसुस्त हिंड्दै थियौ । दाउरा खोज्दै गरेका दुइटी युवती देखिए । यस्तो जंगलमा दुई जना मात्र कति नडराएका ?भिरको बाटो आयो । निकै राम्रो ट्रेल । जगलको बिचमा निकै आनन्द आईरहेको थियो । फेरि ओरालो परेको चौर आयो । केहि बेर साथीहरुलाई कुरेर आराम गर्यौ ।

सबै जम्मा भएपछि हामी गफिदै लठ्ठाभन्जंयागतिर लाग्यौ । सबैके हिडाई एकनास थिएन । साथीहरु फेरि छुटे । लठ्ठाभन्ज्यांगबाट बाटो छुटिन्छ । धुलौटे सडक नै सडक गए गोदावरी पुगिन्थ्यो भने जंगलको सानो बाटो गए फुलचोकी । फेरि साथीहरुलाई कुरियो । केहि साथीहरु लुरु लुरु जंगलको ट्रेल पसे । म भने पछिकालाई कुरे । सबै आएपछि कालो जंगलभित्रको सानो बाटोतिर पसियो ।

तेस्रो,अलिअलि ओह्रालो गोरेटो हुदै अघि बढ्दै थियौ । बाटाको छेउमा माटो उधिनिएका, झारहरू उखेलिएका, खाल्डाहरू देखिए । यो केही उत्सुकताको विषय थियो । तर्कवितर्क भयो र एउटै निष्कर्ष निस्क्यो – बँदेलले खोस्रिएको । जंगलभित्र निकै राम्रो बाटो थियो । हिउदको याम भएकाले हिड्दा पतकर बज्थ्यो । मिठो लाग्यो त्यो आवाज पनि कुनै संगीतको धुनभन्दा कम थिएन । तेर्सो, ओरालो ,उकालो हुदै एउटा उकालो छेउ पुग्यौ । त्यहाबाट सिढि बनाईएको रहेछ । हिड्न निकै सजिलो भयो । अलिमाथि चउर जस्तो, बाटाकै छेउको सानो ठाउमा आयौ । ठाउ पनि रमाइलै लागेकाले केहीछिन विश्राम गर्ने सोच बन्यो । सबै बस्यौ र खानपिन गर्न थाल्यौ ।

दायाबाया जंगल, बीचमा अलि डोल परेको भूभागबाट बाटो रहेछ । सुस्तसुस्त उकालो लाग्यौ । वनकै बाटो भए पनि अलि माथिल्लो भाग भएकाले उज्यालो थियो । बीचबाट ससानो गोरेटो, यताउता रूखैरूख थिए । हामी अलि माथि पुग्यौ । दक्षिणतिर जाने एउटा सिढियुक्त ओरालो पदमार्ग आयो । त्यो बाटो गए नागिडाडा कुसादेवी बेथानचोक पुगिन्थ्यो । हाम्रो गन्तब्य त्यता थिएन । हामी दक्षिण ओरालो नलागेर दक्षिणपश्चिम उकालो लाग्यौ । लगभग १ घण्टा चढेपछि फुलचोकीको मुल सडक भेटियो । पर गेट पनि देखियो । अन्ततः फुलचोकी आईपुगेको हामी हर्षित भयौ । पानी प्यास मेट्दै थकाई मार्दै साथीहरुलाई कुर्न थाल्यौ ।

१० मिनेटको घुमाउरो बाटो हिडेपछि टुप्पामै पुग्यौ । बरिपरी उपत्यका गज्जबले मुस्कुराई रहेको थियो तर शिरमा हिमाल थिएन । यसपटक हिमाल हेर्न पाईएन । टुप्पामा निकै बेर बसियो । खाजा खाईयो । फुलचोकी माताको दर्शन गरियो । फोटो खिचियो । समुद्री सतह देखि २,७६२ मि ,को उचाईमा रहेको यस पर्वत काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थान हो ।

यहाको प्रमुख विशेषताहरूमा यहाको अन्य आकर्षणहरूमा वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । यो स्थान विभिन्न किसिमका पुतलीहरू,२५० भन्दा बढी प्रजातीका चराहरू र चितुवा,बदेल ,कालो भालु बादर र मृगसमेत बस्छन् । सेता,प्याजी र राता रंगका गुरास र विभिन्न किसिमका सुनाखरीहरूले पर्यटकहरूको मन लोभ्याउछ ।

यस प्रकारको रंगमय र सुगन्धित वातावरण रहने धेरै फुल फुल्ने बगैचा भएकाले डाडाको नाम नै फुलचोकी अर्थात् फुलै फुलको चोक फुलचोकी अर्थात फुलपर्वत रहन गएको भनाई छ । काठमाडौ उपत्यकालाई पहरा दिइरहेको सबैभन्दा अग्लो डाडा हो फुलचोकी । यहा वर्ष भरिनै शितल हुन्छ । डाडाको थाप्लोमा फुलचोकी माई छिन् । मन्दिर बिना खुल्ला आकाशमुनी अविरले राताम्मे ढुंगै ढुंगाका मुर्ति र त्रिशुल । संगै सेताम्मे बौद्ध चैत्य । त्यसैले हिन्दु र बौद्धमार्गीको साझा तिर्थ स्थल पनि हो फुलचोकी ।

यहा चिसो हावा चल्छ । हिमाल दर्शनको लागि यो ठाउ प्रख्यात छ । महालंगुर पर्वतमालाका भित्रका धौलागिरी देखि मकालु बरुणसम्मका सबै हिमाल देखिन्छ । अग्लो डाडाबाट तल हेर्दा हरिया डाडा खप्टिएर बसेका देखिन्छन् । यहाको मौसम बिचित्र छ । सफा आकास भएको बेलामा कुनै पनि वाधा विना चारै तर्फको ३६० डिग्रीको कोणमा तराईको समथर फाटदेखि उत्तरका गगन चुम्बी हिमालयहरूसम्म देखिन्छ । छिनमै बादलले ढपक्कै ढाक्ने र छिनमै खुल्ने हुन्छ । मनसुनमा त कुहिरोभित्र लुकामारी खेल्छ फुलचोकी । आकाश धर्ती नै छोपुला झै गरि उडेर आउने कुहिरोले डाडालाई ढपक्कै ढाक्दा तल तल सेतो दही जमेजस्तो देखिन्छ ।अनि त्यहि कुहिरो फाट्दा प्रकृतिको अदभुत सुन्दरता देखाएर मुस्कुराउछ फुलचोकी ।

मौसमले साथ नदिए पनि हामी ३२ जानाको टोलीले पनि फुलचोकी पदयात्राको भरपुर आनन्द उठायौ । जे देखियो त्यसमै रमायौ अनि ओरालो झर्न सुरु गर्यौ । सडक नै सडक नहिडेर जंगलको छोटोबाटो हिड्यौ । कतिपय ठाउमा सडकको अर्को बिकल्प थिएन । फर्किदा ओरालो झर्दै बाघ बघेनी,तालहुदै नौधारासम्म ठाडो ओरालो बाटो झरियो ।निकै साहसिक छ यो ओरालो ।घना जगलमा चराचुरुंगी र वनस्पती अवलोकन गर्दै तल झर्दा समय बितेको पत्तै भएन ।फुलचोकीको आधारसिविर गोदावरी आफैमा बनस्पतिको केन्द्र हो ।धार्मिक क्षेत्र पनि हो । कुण्ड नजिकै हाम्रो लागि खाना तयार थियो । भोकले खाना निकै मिठो लागिरहेको थियो । मिठो खाना खाएर पदयात्रा विसर्जन गरियो ।