तेमालः एकपटक पुग्नै पर्ने गन्तब्य

वरीपरी तिनवटा खोलाले धेरिएको तेमाल क्षेत्र तामाङहरूको उद्गम थलोको रुपमा परिचित छ । काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित यो क्षेत्रलाई वरिपरीबाट झिगु खोला, सुनकोसी र रोशी खोलाले बरेको छ । मध्यपहाडी क्षेत्रमा पर्ने तेमाललाई भकुण्डेवेसी र पॉचखालबाट हेर्दा निकै आकर्षक थुम्कोको रुपमा देखिन्छ । बिपी राजमार्ग र अरनिको राजमार्गमा यात्रा गर्दा त्यो थुम्कोलाई निकै पटक हेरियो । बच्चैमा नाम सुने पनि जाने व्यवस्था मिलेको थिएन । काठमाडौमा तेमालका मान्छे भेट्दा पनि निकै उत्सुकता पुर्वक तेमालको बारेमा गफिन्थे ।
यसपटक यात्रा गर्ने सोच मताविक हामी पॉच साथीहरु एकाबिहानै काठमाडौबाट भक्तपुर हुदै घुलिलेख , काभ्रेभन्ज्यांग, पातलेखेत हुदै भकुण्डेबेसी पुग्यौ । राजकुमार श्रेष्ठ,सहदेव गुरुंग, भुवन ढकाल, प्रदिप कडेल, नविनजंग कार्की र म यो यात्रामा निक्लेका थियौ । बिहानीपखको सूर्यको सुनौलो रंगमा भिजेको प्रकृतिको सुन्दरता शब्दमा व्यक्त गर्न निकै कठिन छ । हामीले भरपुर आनन्द लियौं । खाजा बाटोमै खाएकाले भकुण्डेवेसीमा अलमल गर्नु परेन ।

दिउसो खानाको लागि २ केजी खसीको मासु किनेर हामी राजमार्गलाई छोडेर उत्तर पुर्वतिर लाग्यौ । भकुण्डेबेशीका धान फल्ने उर्भर फाँटमा ढलाने घरले भरिन थालेको छ । फाँट छिचोलेर बजारबाट अलि पर पुगे पछि झिगु खोलाको पुल तेरर मेथिनकोट पुग्यौं । हाम्रासामु मेथिनकोटको उकालो चुनौती थप्दै तेर्सियो । मेथिनकोट उकालो लाग्दै गर्दा बाटोका छेउछाउमा खेलिरहेका साना भाइबहिनीका ध्यान निकै खिच्यो । नमस्ते, हेलो, बाई बाई । बाटोको डिलमा जस्तापाताले बनेको एउटा घर थियो । घरको आँगनमा घामको पार तापेर महिला र केटाकेटी बसिरहेका थिए । त्यहा एकदम प्राकृतिक रुपमा सुन्दर, धर्म सांस्कृतिक रुपमा अब्बल रक्तकाली मन्दिर रहेछ । राजाको दरबार नजिक भएकाले राजा ह्रिन्जेन दोर्जे तामाङका पाला देखिनै कुनै संकट आएमा यस मन्दिरमा गएर प्रार्थना र भाकल गर्ने परम्परा रहेछ । पौरानिक काल देखी शक्तिशाली देविको रुपमा रहि आएको छ ।

जोरसल्ला पुग्यौ । एउटा दोवाटो आयो । नजिकै उभिएका एक बालाई तेमाल कता ? भनेर सोध्यौ । हामी बाले देखाएपट्टी नै लाग्यौ । बाँटो सजिलो र कहि पक्की कहि कच्ची थियो । बाटोमा हसिला मान्छे निकै भेटिए । हामी गाडीभित्र उहाहरु आफ्नै घरको आगनमा बसेर हामीलाई मन्द मुस्कान सहित स्वागत गरिरहनु भएको थियो । नेपाली गाउघरको यो अलौकिक प्रवृत्ति हो । वरिपरीका गाउहरु हेर्दै बाँटो झुक्किने ठाउमा सोध्दै हामी धुलो उठाउदैै खर्दारपाटी पुग्यौं । खर्दारपाटी निकै कलात्मक छ । पाटीको झ्यालको काष्ठकला निकै बेजोड । पूर्वजले आफ्ना कीर्ति राख्न बनाएका यस्ता पाटी अहिले बेवारिसे भएको छ । खर्दारपाटीबाट कालापानी हुँदै हामी कानपुरतर्फ लाग्यौं । कानपुरबाट कोटतिमाल पुग्न अझ उकालो बाटो जानुपर्छ । घमाइलो दिन । कमेरा र राता माटाले लिपेका गाउँमा पुराना घर । उत्साहप्रद थियो हाम्रा लागि । डाँडाको उकालो लाग्दै गर्दा बाक्लो गाउँ देखिन थाले । कोटतिमालमा पुरानो दरवारको भग्नावशेष अझै भएको सुनेका थियौं । तर, सही सूचनाको अभावले हामी पुग्न सकेनौं । कतै पक्की कतै कच्ची बाटो । कोटतेमाल पुग्यौ ।

कोटतिमाल सरसर्ती घुमाइपछि हामी ३० मिनेटको यात्रा पश्चात तेमालका अन्तिम राजा हिन्जेन दोर्जे तामांग प्रतिमा स्थलमा पुग्यौ । निकै आकर्षक प्रतिमा बनाईएको रहेछ । पाँचखालबाट आउने बाँटो र भकुण्डेवेसीबाट आउने बाटोको संगम स्थल पनि रहेछ यो ठाउ । नजिकै पिपलबोटमुनी बुद्धको प्रतिमा पनि थियो । केहि बेर त्यहा ओर्लिएर घुम्यौ अनि तेमालतिरै लाग्यौ । राजारानीको शालिक भएकै ठाउबाट उत्तरतिर हिमाल टल्किन सुरु गरिसकेका थिए । त्यो हेर्दै हामी अधि बढ्यौ अझ माथीबाट त्यो भन्दा सुन्दर देखिने आशामा । अलि पर पुगेपछि तेमाल गाउँ प्रवेशद्वार आयो । द्वारले नै छुट्टाएको रहेछ नमोबुद्ध नगरपालिका र तेमाल गाउपालिकाको सिमा । अब हामी तेमाल गाउपालिका क्षेत्र प्रवेश गर्यौ । द्वार अगाडी कच्ची बाँटो द्वार झिरे पछि पक्की बाँटो । कालीमाटी हुँदै हामी क्रमश उकालो लागिरहेका थियौ । बसबाट नै वरिपरिका हिमाल र जंगल हेर्दै । ओह्रालो लाग्दै गर्दा सामुन्ने हिमाल टक्रक्क देखियो, अन्नपूर्णदेखि सगरमाथासम्म । हिमाल, पहाड र वेगले बग्दै गरेको सुनकोशीको एकक्षणको सुन्दर दृश्यपानपछि पुनः ओह्रालो लाग्यौं । बोल्डर ढुंगा छापेको ठाडो ओह्रालो बाटो झर्न गाडीलाई पनि निकै सकस हुनेरहेछ । निकै आकर्षक दृश्यपान गर्दै हामी गेलेंगफुंग याङवेल,पुग्यौ । जहॉ हामीलाई लिन सागर तामा्ग भाइ आईपुगे । निकै रंगीन गेट बनाईएको रहेछ त्यहॉ । त्यहि रंगीनगेट हुदै हामी भाइको खाजाघरमा पुग्यौ । मिहेनती र जागरिलो स्वभावका भाइले मिठो कफि र तातोपानीले हामीलाई स्वागत गरें ।

प्राचीन नाम ’तेरमाला’बाट अपभ्रंस भएर ’तेमाल’ भएको दन्त्य कथाहरूमा उल्लेख छ । बेसीदेखि लेकसम्मको भूभागलाई समेटिएको दस गाविस मेच्छे, चापाखोरी, नारायणस्थान, ठूलो भर्सेल, बोल्देफेदिचे, सरमथली, संर्स्युखर्क, कानपुर, मेथिनकोट, कटुन्जे गाविस तेमाल क्षेत्रमा पर्दछ । झण्डै नेपालको नक्सासँग मेल खाने तेमाल क्षेत्रको हावापानी समेत फरक–फरक रहेको छ । २१ सय मिटर उचाईसम्म रहेको तेमाललाई पहाड, हिमश्रृङ्खला, हरियाली जंगल, वनबुट्यान र स–साना चउर र खेतबारीले निकै सुन्दर बनाएको रहेछ । तेमालडाडाबाट उत्तरपुर्वमा निलो सुनकोशी नदी र दक्षिणतिर रोशी नदीको निकै राम्रो दृश्य पनि देख्न पाउदा जोकोहि धुमन्ते रमाईहाल्छ । अझ एकपट्टी मध्यपहाडी राजमार्ग अनि अर्कोपट्टी विपी राजमार्गको सड़क संजाल पनि कम आकर्षक छैन । सागरभाइको आगनबाटै महाभारत पर्वतको निकै राम्रो दृश्य देखिदो रहेछ । बेथानचोकदेखि सिन्धुलीसम्मको महाभारत पहाड यहॉबाट हेर्न सकिन्छ । नमोबुद्ध , दाप्चा, फलामेसाधु, रोशी गाउपालिका महाभारत गाउपालिका निकै राम्रो देखिदो रहेछ । कफि पिउदै हामी ५ भाइ र सागर भाइबिच आजको हाम्रो पदयात्रा बारे छलफल भयो । यसरी धुम्ने भनेर एउटा रुट तय गर्यौ अनि लाग्यौ यात्रा तिर ।

हामीले गेलुंगपहरा,तोमसांगकुण्ड,साईवा, ककलिंग, नारायणथान , स्याबजोलिंग गुम्बा र डम्फुडाडासम्मको रुट तय गरेका थियौ । सबै मिलाएर १५ किमी हिडेर यात्रा गर्ने उद्देश्य थियो । सोहि योजना अनुसार हामी सागर भाइको आंगनबाट गेलुंगपहरा ओर्लिन थाल्यौ । बाँटो ओरालो भए पनि सिढीको पक्की बाँटो र वरिपरी फलामे बार पनि भएकाले भिरको बाँटो भए पनि डर लाग्दो थिएन । हामी वरिपरिका दृश्य हेर्दै फÞोटो खिच्दै हिडिरहेका थियौ । बाटोमा भुटानी यात्रीहरुसंग पनि भेट भयो । भुटानदेखि तेमाल घुम्न आएको देख्दा खुसी पनि लाग्यो । बाटोको ठाउ ठाउमा बुद्ध चित्तको माला बेच्न राखिएको थियो । गेलुंगपहरा निकै भिरालो ठाउमा रहेछ । ३० मिनेट भिर झरेपछि बल्ल गेलुंगपहरा आईपुग्यो । एउटा सानो मन्दिर अनि त्योभन्दा तल गरु रिम्पुचेको बुटको प्रतिमा, गुफा अनि बल्ल गुम्बा आउदो रहेछ । पहिलो छोर्तेनमा पुग्ने बित्तिकै एउटा दाइले मिठो आत्मियता देखाए । बेच्न राखेको माला लगाएर फÞोटो खिच्न दिए । दंग परेर फÞोटो खिंचियो । दाइसंग हसीमजाक गर्दै अलि तल पुगेपछि रिम्पोछेको बुट भएको ठाउ आयो । ढुंगाको दुरुस्तै बुट देख्दा अचम्म पनि लाग्यो । त्यो बुट पनि नाधेर अलि तल पुगे पछि एउटा साधुरो गुफा आयो । २ फिट चौडाई र २५ फिट लामो गुफा निकै आकर्षक रहेछ । ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँको काख यहि ठाउमा गुरू रेम्पोर्छे (पद्मसंभव)ले तपस्या गरेको रहेछ । गुफाबाट माथी पनि निस्कन मिल्ने रहेछ । तर हामीले आट गरेनौ । गुफा भित्र छिरेर अगाडीको गुम्बामा दर्शन गरेर हामी तोमसांगकुण्डतिर लाग्यौ । कुण्ड जान गुम्बाबाट पुन फर्किएर पहिलो छोर्तेन भएको ठाउमा आयौ । त्यसपछि त्यहाबाट सिढीको बाँटो छोडेर अर्को तेर्सो बाँटोतिर लाग्यौ ।

गेलुङ पहारा ओडार(गेलुङ ऊ)कै अर्को छेउमा दुइटा साना साना कुण्ड पनि रहेछन् । बाटुले आकारका ति कुण्डमा बाह्रै महिना पानी हुदोरहेछ । तल भकुण्डे माथी महाभारत पर्वत हेर्दै हामी त्यो कुण्डमा पुगेका थियौ । त्यहि तोङ्सामकुण्ड मुनी गुरू रेम्पोर्छे (पद्मसंभव)ले राक्षेसलाई मारेको ठाउँ साईबा रहेछ । त्यहा पनि गुम्बा बनाइएको रहेछ । गुम्बा माथी एउटा गुफा पनि रहेछ । ऐतिहासिक धार्मिक स्थलहरू, भगवानहरूले तपस्या गरेका ओडारहरू,गुफा,गुम्बा, छ्योर्तेनले त्यो भिरालो पारिलो डाडा निकै शोभायमान बनेको अनुभूति गरियो । डाडामा रुख पनि पतला बस्ती पनि पतलो । निकै घमाईलो लाग्यो । माघको जाडोमा पनि हाम्रो शरिरबाट पसिना आयो । यात्राको मज्जा प्राकृतिक सुन्दरताको मात्र थिएन । अघिल्लो दुइ पदयात्रा ताराखसे पहाड र तिनधारे झरना जॉदा भुईमा बसालेका डोबहरु डाँडाका टुप्पाबाट नियाल्नु थियो । पुगेको गन्तव्य ताजा स्मृतिका पाना पल्टाउनु थियो ।

 

यी सबै हेरेर हामी ६ यात्री उकालो चढेर सागर भाइको घरमा पुनः आयौ । जादा घरलाई पश्चिम पारेका थियौ फर्किदा पुर्व पार्यौ । एउटा गोलों सर्कल बनायौ हिडेर । केहि बेर भाइकै घरमा आराम गरेर हामी फेरि अर्को गन्तब्य नारायणथानतिर लाग्यौ । सुरुमा रोडमै आएर अलि पर गएपछि मुलसडक छोडेर गोरेटो बाटो चढ्यौ । माथी थुम्कामा पुगेपछि तोरीबारी र बुद्ध चित्तको बगैचा भेटियो । त्यहॉबाट निकै आकर्षक हिमाल र सुनकोशी नदी देखियो । हाम्रो मन प्रफुल्ल भयो । मौसमले निकै राम्रो साथ दिइरहेकोमा खुसी थियौ । उत्तर तिर लहरै सिपाही जस्तै उभिरहेका हिमालहरुले दिने चिसो हावाका स्पन्दन, पहाड जंगल, अबिरल बगिरहने सुनकोसी खोलाको दृश्यको सुन्दरता, तिमालबेशीका सुन्दर फाँटहरुका दृश्यहरुले हाम्रो मन जिते । रमाई रमाई फÞोटो खिचियो । भिडियो बनाईयो । मनलाई निकै शितलता मिलेको महसुस गरियो । अलि माथी उक्लिएपछि एउटा चौर आयो । घमाईलो चौरबाट अग्ला सेता हिमालका काखमा समुद्रका छालजस्ता पहाड । मझौला पहाडका टुप्पामा उभिएर वरिपरि भिराला बारीका स–साना सुर्कासुर्की, पाटाबारीमा फुलेका पहेंलपुर तोरीको सुन्दरता नियाल्यौं । यहाँको सुन्दरता र तोरीको फुलले लठ्ठ बनायो ।

सुनकोशी र रोशीको पानी अविरल बगेको छ । तर, तिमाल डाँडा निकै सुख्खा देखिन्छ । पानीको निकै अभाव रहेछ ! पानीको मुल नै नभएको सुख्खा डाडामा विद्युतीय माध्यमबाट सुनकोशी नदीको पानी लिफ्टीङ गरेर ल्याएको रहेछ । वरिपरीका धेरै थुम्कामा यसरी पानी ल्याएर जम्मा गरिएको ट्याक्की देखियो । यो क्षेत्र हिमाली रेखाबाट कटेको डाँडा हुनाले यस ठाउँमा पानीको श्रोतको अभाव नै रहेछ ।
तल झर्न थाल्यौ । पातलो सल्लाको जंगलमा हिड्न निकै आनन्द आईरहेको थियो । वडा कार्यालय हुदै हामी पुन सडकमा आईपुग्यौ । नजिकै एउटा गुम्बा रहेछ तर बन्द । झ्यालबाट चिहाएर हामी नारायणथान तिर लाग्यौ । सानो चिटिक्क परेको गाउँ स्कुल स्वास्थ्य चौकी, बैंक सबै पुगेको रहेछ । गाउमा पुराना अवशेषहरु पनि जिर्न अवस्थामा रहेछन् । रामेछापतिरका मानिस नुन लिन धुलिखेल आउदा बास बस्ने पाटी भन्दै थिए एउटा दाइ ।

हामी गाउको बिचबाट हिड्दै थियौ । सानो बजारजस्तो गाउको ठिक सामुन्ने सुकेको पोखरी रहेछ । पोखरीको पारी थुम्कोमा घना जंगल थियो । यता घरमाथी पुर्वतिरको थुम्कोमा पनि जंगल नै थियो । सड़क नै सडक हिडेर हामी अलि पर पुगे पछि तल खोल्सामा एउटा मन्दिर रहेछ । त्यो मन्दिरको अगाडी ढुंगा बिछ्याईँएको सिढि थियो । त्यहि सिढिबाट करिव ५ मिनेट घना जंगलको बिचबाट उकालो चढेर हामी जङ्गलभित्रको चौरमा पुग्यौ । चौरमा नमोबुद्ध, बौद्ध चैत्य र स्वयम्भुको झल्को दिने गरी चैत्य स्तुपाहरु बनाईएको रहेछ । यो चैत्य स्तुपाहरु २०५२ सालमा स्थानीय जनताहरु तथा स्थानीय निकायको आर्थिक सहयोग बाट बनेको कुरा त्यहा रहेको शिलालेखबाट पत्तो पाईयो ।
तिनै चैत्यको ठिक अगाडी सडकपारी अर्को सिढि बनाईएको उकालो देखियो । तेमालको ऐतिहासिक धार्मिकस्थल नारायणस्थान त्यहि रहेछ । करिव १० मिनेट घनाजंगलको सिढि पार गरेपछि नारायणको भव्य मन्दिर भेटियो । लिच्छवीकालका कालिगढका सन्तानले नै बनाएको प्रस्तर कलाको नारायणको मूर्ति यहाँ रहेको थियो । मूर्ति अत्यन्त आकर्षक कलाकारिताले भरिपुर्ण पूर्ण कदको थियो । एउटा हात र नाक भने भाचिएको थियो । मनमा निकै खुल्दुली लाग्यो । पुजारी बालाई यसको रहस्य सोधे । उनी निकै उत्साहित हुदै बताउन थाले ।

तिमाल काठमाडौं उपत्यकाबाट पूर्वतर्फ जाने एउटा महत्वपूर्ण पैदलयात्रा गर्ने बाटो पनि हो । पूर्वतर्फ राजा पृथ्वीनारायण शाहको राज्य एकीकरणको अभियानमा सिन्धुली गढीमा दरवार निर्माण गरेका थिए । यो ठाउँमा पछि वि.सं १८४८ मा उनका नाति रणबहादुर शाहले यस मूर्तिलाई काठमाडौंको नारायणहिटी दरवारमा रहेको नारायण मन्दिरको मूर्तिकै आकारमा निर्माण गरि पूर्वको सिन्धुली गढी दरवारमा लगेर प्रतिस्थापना गर्नको लागि आदेश दिएका थिए । यस अनुसार तत्कालिन काजी शिवराम बस्नेतको ब्यवस्थापनमा मानिसहरुले बोकेर लैजाने क्रममा तिमालको बाटो भएर खुर्कोट हुँदै सिन्धुली गढीतर्फ बोकेर लाने क्रममा यही स्थानमा बास बसी भोलिपल्ट बिहान पुन बोकेर लान खोज्दा उठाउनै नसकेर बोक्ने भरियाहरु आजित भै रिसाएर साथमा रहेको औजारले हिर्काउँदा मुर्तिको नाक र एउटा हात भाँचिएको रे ! राजाको डरले भरिया भागेका रे ! सोही रात त्यहॉका यहाँ तान्त्रिक झाँक्रीलाई सपनामा स्वयम् नारायणले यहाँ बस्न चाहेको कुरा अवगत गराए । पछि त्यहाँका मानिसहरुले यस प्रकार भरियाहरुले मूर्ति छोडेर गएको कुरा र झाँक्रीलाई आएको सपनाको कुरा राजा रणबहादुर शाहलाई जाहेर गरेका थिए । तत्पश्चात राजाले सोही ठाउँमा नै मूर्ति प्रतिस्थापन गर्न लगाई मन्दिर बनाउन लगाएका थिए ।

पुजारी बाको यति कुरा सुने पछि मान्दिर घुम्न थाले । साथीहरु फोटोमा मग्न थिए । भक्तजनहरु पुजामा संक्रिय थिए । वरिपरी सत्तलले घेरिएको गुम्बज शैलीमा बनाईएको मन्दिर निकै राम्रो लाग्यो । मन्दिरको पछाडी पट्टीको ढोकाबाट बाहिर निस्किए हामी डम्फुपार्क तर्फ लाग्यौ । भिरालो डाडाबाट ओरालो झर्दै बाँज, कटुज, कालिकाठ र लालिगुराँस आदि प्रजातीका रुखविरुवाहरु रहेको जंगलमा यात्रा गर्नुको आनन्द व्यक्त गर्ने कुनै शब्द नै छैन । तल एउटा झुरुप्प परेको गाउको छेउमा डम्फु पार्क देखिरहेको थियो । हाम्रो पाईला त्यतैतिर लम्की रहेका थिए । ओरीली सकिए पछि गाउ आयो । त्यसलाई होसेवा भन्दारहेछन् । केहि खाजा घर पनि रहेछन् । सुकेको पोखरी बिचमा मन्जुश्रीको मुर्ती पनि रहेछ । छेउमै एउटा पुरानो चौतारा अनि त्यसैको पछाडी डम्पु पार्क ।

तामांग संस्कृतिमा डम्फुको निकै महत्व छ । त्यसैको महत्व बताईरहेको थियो त्यो पार्कले । पार्ककै छेउमा एउटा निकै पुरानो गुम्बा पनि थियो । त्यो गुम्बा पनि निकै आकर्षक लाग्यो । केहि बेर आराम गरियो । थकाई मरेपछि आजको यात्रा यहि बिट मार्दै अब खाना खान पुन सागर भाइकै घरमा फर्किन थाल्यौ । जादा पदमार्ग प्रयोग गर्यौ भने आउदा सड़क बाँटो । करिव २ घण्टामा भाइको घरमा आईपुगेर आजको पदयात्रा बिट मारियो । खसीको मासु र भात खाएर साझ काठमाडौतर्फ लागियो । फर्किदा भकुण्डेबेसी तिर नगएर सस्र्युखकर्, बोहोरेदोभान पॉचखालतिर लाग्यौ । बाँटो कच्ची थियो । झुक्किने ठाउमा सोध खोज गर्दै रातको १० बजे घर आईपुगियो ।

समशीतोष्ण हावापानी रहेको हुनाले यहाँ वसन्त ऋतुमा लालीगुराँस ढकमक्क फुल्दा बिहेमा सिँगारिएकी बेहुली जस्तै लाग्छ । यहाँका डाँडाहरुमा तिब्बती भाषामा लेखिएको बौद्ध सन्देश उल्लेखित लुङता टाँगिएको छ । यसका साथै काकलिङ (पौवा) तथा बाटाहरुका मानेहरुमा राखिएका स्लेट ढुङ्गामा ॐमाने पदमे हुम भन्ने वाक्यहरु उल्लेख गरिएको पाइन्छ । यसका साथै तेमाल डाँडाका ठाउँ ठाउँमा देउरालीहरु पनि छन् जहाँ मानिसहरु उकालो हिँडिसकेपछि थकाई मार्ने र उकालो हिँड्दा लिएको सहारा लौरो तथा ढँङ्गा र स्याउला अथवा फूलहरु चढाएर हिँड्ने हामी नेपालीको संस्कृति रहिआएको छ ।

यात्राको फरक स्वाद र संस्कृतिलाई नियाल्ने हो भने तेमाल एउटा अब्बल गन्तव्यको रुपमा आइरहेको छ । हिमाली दृष्याबलोकन, र जैबिक पहाडी बिबिधतालाई अध्ययन गर्ने हो भने तेमाल यात्रा बकेट लिस्टमा राखिहाल्नुस । क्यालेण्डरमा धर्को लगाएर जाने दिन जुराइहाल्नुस् । तेमाल यात्रा गर्दा फरक खाले जीवनशैली, संस्कृती, भुगोललाई अध्ययन र अनुभब गर्न सकिन्छ । तेमाल पदयात्रा गर्दा स्थानीय भाषा, संस्कृती, रहन सहन र फरक दृष्याबलोकन जताततै देखिन्छ । बौद्ध र हिन्दू संस्कार र संस्कृतिलाई नियाल्दै तेमाल यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ । शान्त वाताबरण र सुन्दर दृष्यले मन पुलंकित हुन्छ । यात्रामा भोगेका अनुभबहरुले जो कसैलाई पनि निखार्छ । तेमालको राम्रो पक्ष धार्मिक पर्यटनको प्रचुर सम्भावना छ । तर, प्रचारप्रसार तथा पर्यटकीय सुविधामा भने निकै कमजोर देखिन्छ ।

प्रस्तुति- राजाराम फुयाल

फोटो – सहदेव गुरुंग , प्रदिप कडेल