यात्रामा विभिन्न दृष्यहरु अवलोकन गर्ने अवसर मिल्छ । सबै अनुभव कैद गर्न त सकिदैन । तर कतिपय दृष्यहरुले मनै लोभ्याउँछ । ती दृष्यले सँधै उर्जाशिल बनाउँछ । कतिपय ठाउँमा पुग्दा लाग्छ स्वर्ग यही हो । कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ । कतिपय चिज भने मन र आँखा दुबैले देख्छ । अनुभव गर्छ । मनसपटलमा छाइरहन्छ । त्यस्तै एउटा ठाउँ हो, दामन सिमभञ्ज्याङ । यो सुन्दर ठाउँ महाभारत शृङ्खलाको काखमा अवस्थित छ । यसपाली पदयात्रा गर्न दामन सिमभञ्ज्याङ तिर लाग्ने मनःस्थिति बन्यो । मकवानपुर आफैमा निकै ठूलो जिल्ला हो समथर भुभाग देखि २८ सय मिटरका अल्ला पहाड पनि रहेको यो जिल्लामा पदयात्रा गर्ने धेरै ठाउ छन् । अझ दामन सिमभञ्ज्याङ त यसको खास ठाउ नै भयो ।
दामन सिमभञ्ज्याङको पदयात्राको गेट–वे हामीले पालुङ्गलाई बनाउने तय गर्यौ । हेर्दा काठमाडौजस्तै वरिपरी डाडा नै डाडाले घेरिएको यो उपत्यका निकै बैभवशाली छ । इतिहास देखि वर्तमानसम्म नै यसको महिमा अपार छ । चिसो हावापानीले सबैको मन लोभ्याउछ । अझ वरिपरीका जिल्लाहरुमा हलक्क गर्मी हुदा पालुंगमा शिलता खोज्दै पदयात्रा गर्नुको मज्जा शब्दमा व्यक्त गर्न नै सकिदैन । यसपटक हामी काठमाडौ बासी पनि चैत्रको उखरमाउलो गर्मी छल्न एकाबिहानै चन्दागिरी पर्वत नाधेर ३५ किलोमिटर सडकमार्ग हुदै शिखरकोट पुगेका थियौ ।
त्यहा हाम्रो प्रतिक्षामा हाम्रा पथप्रदर्शक गणेश बिष्ट भाइ खैजडी भजन टोली सहित बसेका थिए । हामी बसबाट ओर्लने बित्तिकै भजनटोलीले हामीलाई लक्षित गरि भजन गाउन थालेपछि हाम्रा साथीहरु पनि के कम संगसंगै गाउन नाच्न थाले । म भने पालुंगले नेपाली कलाकौसल बचाएर राखेको देखेर निकै खुसी भए । भजनटोली अधि अधि हामी पछि पछि हिड्न थाल्यौ । ५ सय मिटर पर हाम्रो प्रतिक्षामा थाहा नगरपालिका प्रमुख र उपप्रमुख बसिरहनु भएको रहेछ । उहाँहरुको अत्मिय स्वागत पश्चात बिहानी खाजा खाएर हामी हिड्न तयार भयौ ।
सुरुमा त्रिभुवन राजपथको सडक अनि फेरि साहायक सडक हुदै हामी धारापानी पुग्यौ गाउलाई छोडेर हामी तर्फ ऋषेश्वर खोला लाग्यौ । खोलामा घर जत्रा ढुंगा । खोलामा कहि कतै पानी थिएन । तिनै ढुंगाको अन्तरकुन्तरमा टेक्दै १० मिनेट हिडेपछि बल्ल खोलामा पानी भेटियो । त्यो हेर्दा नै पिउ पिउ लाग्ने ! बडो कन्चन ! शुद्ध पानी ! आहा ! मैले त एक अन्जुली पिए पनि । राम्रो प्यास बुझाउने तागत रैछ पानीमा । बडेमानका ढुंगिन खोला पानीको कलकल सुन्दै निकै बेर हिडेपछि बल्ल मानब निर्मित पदमार्ग भेटियो । हाम्रो बाँटो ऋषेश्वर मन्दिर तिर लम्किरहेको थियो ।
उत्तिस घारीमा पनि ठाउ ठाउमा गुरास मुस्कुराई रहेको देखिदा हाम्रो मन पनि मुस्कुराएको थियो । उकालो भए पनि थकानको महसुस हुन पाएन । उत्तिकै खम्बा जस्ता सुरिला रुख ! ठाउ ठाउमा भेटिने लालिगुरासले निकै मनमोहक बनाएको थियो यात्रालाई । घरि खोला बारि घरि पारी घरि खोलैखेला हिड्दा गज्जबको आनन्दानुभुति भैरहेको थियो । कोहि साथीहरु फोटो खिच्न ब्यस्त कोहि गफगाफमा म भने प्रकृतिको फरक फरक रुपमा दंग पर्दै आफ्नै पाराले रमाई रहेको थियो ।
लगभग खोलैखोला डेढ घण्टा हिडेपछि बल्ल खोलसंग छुट्टिएर जंगलको बाँटो लाग्यौ । ऋषेश्वर मन्दिर जानकै लागि होला सिढी बनाउने जमर्को गरिएको रहेछ । कहि ढुंगाको कहि माटोको सिढि थियो । हामी जहां पनि रमाउन सक्ने मान्छे त्यहा नरमाउने कुरै भएन । जंगलको शितलमा पसिना बगाउदै १ घण्टा जति हिडेपछि पर क्षितिजमुनि केहि ध्वजापताका देखियो । यो मन्दिर आईपुगेको संकेत थियो । अझ अलि पर पुगेपछि घण्टाको आवाजÞ सुनेपछि त मन्दिर आईपुगेछ भन्ने लाग्यो । केहि कदम हिडेपछि हातमा थाली बोकेका तिर्थालु पनि देखिए पछि मन्दिर त्यहि रहेछ भन्ने भयो । अन्ततः मन्दिर नै देखियो । करिव ५० मिटरको सिढि चढेपछि मन्दिरको प्रांगणमै पुगियो । अक्करे भिरमा बडो अचम्मको मन्दिर रहेछ । हिन्दु र बुद्धिस्टको साझा तिर्थस्थल । हिन्दु महादेव भनेर दर्शन गर्ने बुद्धिष्ट गुरु रिम्पोचे भनेर ढोग गर्ने गज्जबको मिल्ती देखियो यहा ।
मन्दिरमा करिव २० मिनेट बिताएर हाम्रो टोली तारेभिरतिर लाग्यो । सजिलो र रमाईलो पदमार्ग बनेको रहेछ । घना जंगलको बिचबाट हिड्न पाएकोमा हामी आनन्दित थियौ । साना साना उकालो अनि फेरि तेर्सो बाटो आउथ्यो । कतै कतै गुरास पनि फुलेका पाखा ! हेर्दा निकै आनन्द लाग्ने । मुल पदमार्ग छोडेर लगभग ५ सय मिटर सानो घास दाउरा गर्ने बाँटो हिडेपछि तारेभिरमा पुगियो । भिर निकै खÞतरनाक थियो । तारेभिरमा एउटा प्राचिन धार्मिक चुलो पनि रहेछ । एक स्थानिय भाइले त्यो चुलोको बारेमा निकै मिठो बयान पनि गरिदिए । सुन्दा निकै आनन्द आयो । तोरोमो लेखिएको ढुंगाबाट हेर्दा निकै राम्रो दृश्य देखियो । मौसमले साथ दिएमा निकै राम्रो दृश्यावोलकन हुने ठाउ रहेछ । त्यहा बसेर निकै बेर आनन्द लिएपछि तारेभिरकै अर्को पाटोपट्टी लाग्यौ ।
१० मिनेटको उकालो चढेपछि निकै डरलाग्दो भिर आयो । खस्यो भने हाडखोड पनि नभेटिने भिरमा सजग हुदै अधि बढियो । भिर नहेरी परका दृश्य हेर्दै अधि बढियो । मौसम सफा हुने हो भने वीरगंजसम्म पनि देख्न सकिने रहेछ । तरेली पर्दै उचाई कम कम हुदै गएका पहाड हेर्दै अन्तिम पहाड पक्कै चुरे हुनुपर्छ भन्ने अनुमान गर्दै अधि बढियो । ओरालो झर्दै गईयो । सानो चौर आयो । केहि बेर त्यहा आराम गरियो । १० मिनेट हिडेपछि त्रिभुवन राजपथ भेटियो । ओरालो झर्दा बाटोमा ठाउ ठाउमा गुरासले निकै राम्रो स्वागत गर्यो । अर्को रमणिय ठाउ सिमभञ्ज्याङ जान केहि बेर त्रिभुवन राजपथको कालोपत्रे सडकमा हिडियो । ठाउ ठाउमा लालीगुरासका फुलले राजमार्ग निकै शोभायमान बनाएको थियो । कतै रातो कतै पिंक त कतै सेतो गुरासले राजमार्ग निकै सुन्दर देखिएको थियो । सफा कहिकतै नभत्किएतो सडकले पनि निकै सुन्दरता थपिएको थियो । गुरास हेर्दै हामी सिमभञ्ज्याङ आईपुगेको पत्तै भएन ।
त्यहा स्थानिय होटल व्यवसायी युवाहरुले हामीलाई लालीगुरासको माला लगाईदिएर निकै भब्य स्वागत गरेका थिए । माला हेर्दा नै थाहा हुन्थ्यो ! निकै तयारी उहाँहरुले गर्नु भएको रहेछ । मिठो चिया पिउदै केहि बेर नाचगानमा सरिक भएर उहाहरुलाई धन्यबाद दिदै हामी दामनतिर लाग्यौ । सिमभञ्ज्याङ ताल बाटोमा नै भेटियो । सानो तर चिटिक्क सफा पोखरी देख्दा मन प्रफुल्लित भयो । हिड्दै अलि पर गएपछि दामनको पर्वतिय वनस्पति उद्यानमा आईयो । निकै ठूलो एरिया समेटेर वनस्पति उद्यान बनाईएको रहेछ । आकर्षक लालिगुरासको बोटले हामीलाई आकर्षित गर्यो । जडिबुटी निकै राम्रो संकलन गरेर रोपिएको रहेछ । जैविक विविधता, चिसो हावापानी, लालीगुराँस, सुनगाभा र विभिन्न जडिबुटीहरुको प्रचुरताले पर्वतिय वनस्पति उद्यानमा पस्दा मन शान्त भयो ।
केहि बेर बगैचामा रमाएर हामी दामनको भ्युटावर तिर लाग्यौ । हिमाली र पहाड़ी दृश्य हेर्न बनाईएको नेपालकै पहिलो भ्युटावरबाट हिमाल हेर्ने धोको यसपाली पुगेन । अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल दामनबाट हेर्न मन थियो । तर मौसमले साथ दिएन । मौसम सफा थिएन । टावर पनि निकै आकर्षक थियो । राजमार्गकै छेउमा भएकाले मानिसको भिड निकै देखिन्थ्यो । दामनकै सानको रुपमा यो टावर रहेको थियो । हिउँद महिनामा हिउँ खेल्ने गन्तब्यका रुपमा परिचित दामनमा हिउ खेल्न पनि मन छ । दामनमा हरेक महिना चिसो हावा पाइन्छ । प्राकृतिक सुन्दरता हेर्दै चिसो हावामा रमाउन कसलाई पो मन लाग्दैन र ? दुई हजार ३ सय ८८ मिटर उँचाइ रहेको दामनको सुन्दरता शब्दमा व्यक्त गर्नै सकिन्न ! समयको पाबन्दीले धेरै बेर बस्न नपाए पनि जति बेर बसियो मनमा बेग्लै प्रकारको आनन्द आयो ।
भ्युटावरबाट करिव ५ मिनेट पर आईयो । यहाबाट राजमार्ग छोडेर पदमार्गतिर लाग्यौ । अब सड़क छोडेर सानो गोरेटोमा हिड्न थाल्यौ । दामनबाट ओराले लाग्दै नयाँगाउँ हुँदै सानो गाउको बिचबाट गोरेटो ओरालो थियो । केहि बेरमा फेरि राजमार्ग नै भेटियो । करिव ३० मिनेट सड़क नै सडकमा हिडे पछि पुन पदमार्ग भेटियो । त्यहि पदमार्गबाट हिड्दै तल झर्दा ३० मिनेटमा शिखरकोट नै आईपुगियो । बिहान पदयात्रा सुरु गरेकै ठाउमा आईपुगियो । भोक निकै लागेको थियो । मिठो दाल भात खाएर काठमाडौ प्रस्थान गरियो ।
प्रस्तुति- राजाराम फुयाल
फोटो – सहदेव गुरुंग , प्रदिप कडेल ,निराकर श्रेष्ठ,गणेश विष्ट