सगरमाथामा पहिलो पटक फोटो प्रदर्शनी

सगरमाथा आरोहणमा गएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले फोटो प्रदर्शनी गरेकी छन् । सगरमाथाको ६ हजार ३० मिटर उचाइको क्याम्प १ बाट प्रदर्शनी थालेकी उनले क्याम्प २ र ३ मा पनि प्रदर्शनी गरेकी छन्।क्याम्प टू को उचाइ ६ हजार ५ सय ३० मिटर छ भने क्याम्प थ्री ६ हजार ८ सय ५० मिटरको उचाइमा छ।

‘ नेपाली वुमेन स्माइल ‘ शीर्षक दिइएको प्रदर्शनीमा नेपाली महिलाको प्रफुल्लित मुद्राका ३० फोटो राखिएका छन्। दुखमा पनि नेपाली महिला मुस्कुराइरहेको तथा खेत रोपेकोजस्ता २५ भन्दा बढी फोटो प्रदर्शनीमा राखिएको श्रेष्ठले बताइन्।सगरमाथामा फोटो प्रदर्शनी गर्ने लक्ष्य राखेर उनले पाँच वर्षअघिदेखि ती फोटोहरु खिचेकी थिइन्।

फोटो पत्रकार श्रेष्ठले महिलाको खुसीलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने भन्दै मुस्कानका फोटो छनोट गरेकी हुन्। उनले सगरमाथाको आधार शिविरबाट फोटो प्रर्दशन गर्दै चुचुरोसम्म पुग्ने र फर्किदा सोही फोटो र सगरमाथा क्षेत्रमा खिचेका अन्य फोटो पनि काठमाडौं ल्याएर प्रर्दशन गर्ने लक्ष्य राखेकी छिन्।

स्वेदशी तथा विदेशी आरोहणकर्ताले प्रदर्शनीमा राखिएको फोटो हेरेका छन्। गोरखा आरुघाटकी पूर्णिमाले यसअघि मनास्लु हिमालको आरोहण गरेकी थिइन् ।सगरमाथा चढ्न उत्साहपूर्वक हिँडेका आरोहीहरूले प्रदर्शनी चाख मानेर हेरेको भन्दै   महिलाको खुसीलाई सगरमाथाको चुचुरोमा पुर्याउने आफ्नो उद्देश्य पूरा भएको खुसीसमेत  व्यक्त गरिन् ।