पहाडी सौन्दर्य हेर्न जानै पर्ने ठाउँ – टिष्टुङ पालुङ

पहाडी सौन्दर्य आफैमा अदभुत हुन्छ । तरेली परेका पहाड उक्लिदै ओर्लिदै पदयात्रा गर्नुको थकान र आनन्द शब्दमा बयान गर्दै सकिन्न । यस्ता सयौं ठाउँ नेपालमा छन् । ति मध्यको एउटा हो – टिष्टुङ पालुङ । भर्खर आधुनिक विकासले छुन थालेको यो क्षेत्रमा अझै पनि परमपरागत संरचना थुप्रै देखिन्छ । कृषिकर्म र गाउँले जनजिवन हेर्दै पदयात्रा गर्न पाईनु यहॉको विशेषता हो । मकवानपुर तराई र पहाडको संगम स्थलको रुपमा परिचित छ । राम्रो हिल स्टेसनको रुपमा रहेर पनि यसका पहाडहरु पर्यटकका लागि अन्जान छन् । २००७ सालमै सड़क पुर्वाधारले छोएर पनि मकवानपुरका पहाडी क्षेत्रले खासै महत्व पाएन । काठमाडौबाट मानिसहरु पहाड घुम्न भनेर दार्जिलिंग जाने तर आफ्नै छेउमा रहेको टिष्टुङ पालुङ सम्झिदै नसम्झिने ! अझ टिष्टुङ पालुङकै बाँटो गाडीमा गुडेर जाने अन्तै घुम्ने टिष्टुंग पालुंगलाई वास्तै नगर्ने ।

अब समय फेरियो । हिजोआज नेपाली पर्यटकमा पनि नेपाल घुम्नु पर्ने चेतना आईसकेको छ । खोजी खोजी नेपालकै रमणिय ठाउँहरु जाने क्रम सुरु भएको छ । ह्याप्पी हाइकर्स टोली पनि नयॉ ठाउको खोजीको क्रममा टिष्टुङ पालुङ पदयात्रा गर्ने सोचमा पुग्यो । त्यहि अनुसार पदमार्ग खोजी भयो । स्थानिय व्यक्तिसंग परामर्श सुरु गरियो । नर्वे ढुंगासम्म हामीले अधिल्लो साल नै पदयात्रा गरिसकेका थियौ । चिया बगानमा उभिएर पारी डाडा हेर्दै पक्कै यो डाडामा हिड्ने बाँटो हुनुपर्छ । यहॉबाट पालुङ जान सकिन्छ भन्ने अनुमान गर्दै हामी फर्किएका थियौ । स्थानियसंग बुझ्दा हिड्न मिल्ने बाँटो रहेको जानकारी आयो । भाङखोरियाका   सानोबावु सिन्तान हामीलाई पथप्रर्दशन गर्न तयार भए । उनकै कमाण्डमा हामी  पदयात्री १७ किमी लामा टिष्टुङ पालुंग पदयात्रा गर्न  तयार भएर एका बिहानै टिष्टुंगको नर्वे चोक पुग्यौ ।

हामी पुग्नु अधि नै थाहा नगरपालिकाका उपमेयर भरत गोपाली लगायत अन्य साथीहरु बोकेर गणेश बिष्ट त्यहि पुगिसकेका थिए । त्यहॉ खाजा खाएर पदयात्रा सुरु गर्ने योजना थियो । फटाफट खाजा खाएर उपमेयर भरत गोपालीजीसंग बिदा मागेर हामी हिड्न थाल्यौ । सुरुमा सफा कालोपत्रे सडकमा हिड्दा आफु नेपालमा नभएर अन्त कतै विदेशको सुविधा सम्पन्न पहाडी सहरमा हिड्दै छु कि जस्तो अनमभूति भयो । पर सडकमा मुला थुपारिएको दृश्यले झल्यास्स पार्यो । ओहो ! म त नेपालमै पो छु त । यो त टिष्टुङ पो हो । १० रुपैयकका किलोमा मुला किन्न थाले साथीहरु म भने बाटो लागे । वरिपरी साना साना घर , घर अगाडी लटरम्म आलुबखडा पाकेका अलि अलि चाख्दै अगाडी बढियो । पिच सकियो अनि ऐसेलुले हामीलाई भब्य स्वागत गर्यो । भिरमा फलेको ऐसेलु पनि सकि नसकी उफ्रि उफ्रि टिपेर खाईयो । टिप्न गाह्रो भएर हो कि निकै मिठो पो लाग्यो ।

दुईटा बाटा आए हामी खुकुरी पार्क तिर लाग्न तल्लो बाटो गयौ । ३० मिनेट हिडेपछि खुकुरी पार्क पुग्यौ । साथीहरु निकै पछाडी थिए । चौरमा फोटो खिचेर यताउती घुमेर बिताएपछि सबै साथीहरु आईपुगे । कुन्नी किन यो पार्क बन्दा बन्दै छोडेको । ढुंगाको खुकुरी र कुखुरा बनाएजस्तै अरु पनि ढुंगामा बिभिन्न मुर्ति बनाएको भए निकै राम्रो हुन्थ्यो । ढुंगाको अभाव पनि त्यहा थिएन । फुटबल मैदान वरिपरी मुर्ती सजाएर निकै आकर्षक पार्क बनाउन सकिने संभावना अझै छ ।

अबको गन्तब्य हाम्रो मुस्कान झरना थियो । १० मिनेट हिडेपछि झरना पुगियो । वर्खा नलागिसकेकाले झरनामा पानी सानो थियो । पातले छागो तल बनाईएको प्राकृतिक पौडी पोखरीमा खसीरहेको थियो । स्थानिय बालकहरु त्यहॉ पौडी खेलिरहेका थिए । केहि फोटो कैद गरेर हामी महाकाल गाउँतिर तिर लाग्यौ । कुहिरो नलागेकाले पर परका भुगोल पनि देखिरहेका थियौ । पहिले आउदा नदेखिएका ठाउँहरु यसपाली देखिरहेका थियौ ।

गाउँलाई तल छोडेर हामी नर्वोढुंगा तिर लाग्यौ । ग्राभेल बाटो ठूला ठूला ढुंगा हिड्न कठिन नै भएता पनि टाढा टाढाको दृश्य हेर्दै हिड्न निकै रमाईलो अनुभव भैरहेको थियो । महाकालबाट हिडेको ४० मिनेटमा नर्वे ढुंगा पुगियो । पर्यटक आगमन निकै कम  रहेछ भन्ने कुरा नर्वेढुंगामा बनाईएको सिढिले प्रमाणित गर्यो । सिढिहरु पुरै झाडीमय भएका थिए । झाडी पन्छाउदै तलमाथी गरेर ढुंगा पुरै घुम्यौ । निकै आकर्षक थियो ढुंगाको पोजिसन । करिव १ घण्टा त्यहॉ रमाएर हामी चियाबगान तिर लाग्यौ ।

गाडी नगुड्ने सडक नै सडक हिडेर अलि पर पुगेपछि एउटा लाकुरीको बोटमुनि पुगियो । रुखको शितलताले निकै मोहित बनायो । केहि बेर त्यहि आराम गरियो । चिसो पानी खाइयो । साथीहरु आईपुगेपछि चियाबगान तिर लागियो । घमाईलो दिन मध्यम खालको उकालो वरिपरिका डाडाहरु खुलेकाले यात्रा निकै आनन्ददायक थियो । ३० मिनेट हिडेपछि चियावगान आईपुग्यो । थुम्को निकै आकर्षक थियो । त्यो ठाउँलाई लेन्खु भनिदो रहेछ । चियाबगानमा रोपिएका चियाले राम्रो स्याहार नपाएर ठिंगुरिएका थिए । बरु उत्तिसको बोट लर्केका थिए । बेलैमा गोलमेल नगर्ने हो भने यो ठाउँमा चियाबगान होइन उत्तिस घारी हुन्छ । चियाबगानभन्दा वरिपरिका गाजा बगान निकै आकर्षक देखिन्थे । केहि बेर चियाबगानमा रमाएर हामी बगान पारीकै गाउँहुदै दमारतर्फ लाग्यौ । अबको बाटो निकै आकर्षक र मनकारी थियो । गाजाबगानको बिचमा दुइटा घर थियो । ति घर पार गरेपछि घना जंगल थियो । जंगलको बिचमा निकै राम्रो पदमार्ग थियो ।

हिड्दा निकै आनन्द आईरहेको थियो । अधि सडकमा हिडेको सकस पुरै भुलाईदियो । तेर्सो र हल्का उकालो पार गरेपछि एउटा निकै राम्रो चौर आयो । यतिन्जेललसम्म १ घण्टा पार भैसकेको थियो । त्यो चौरलाई दमार भनिदो रहेछ । अलि पर कुईभिर रहेछ । १० मिनेट चौर नै चौर हिडेपछि पुगियो । भिर निकै डरलाग्दो रहेछ । तर आट गरियो भने मिलाएर सावधानी पुर्वक झर्न सकिने खालको । तर झरेर के गर्नु ? कतै जान नमिल्ने ! भिरबाट पर क्षितिजमा आग्रा निकै आकर्षक देखिएको थियो । चिसो हावा लागेकाले चौरमा आराम गर्न निकै आनन्द आईरहेको थियो ।

केहि बेर आराम गरेर हाम्रो टोली अर्को गन्तब्य नांगेचुलीतर्फ लाग्यो । जाने उहि अधिकै धोती आकारको चौर ! हल्का भिरालो परेको !उन्यु नै उन्यु उम्रिएको चौर निकै आकर्षक देखिन्थ्यो । चौरको किनारमा एउटा पानी खोल्सो ! त्योभन्दा पारी घना जंगल ! ठाउँ निकै आकर्षक देखिन्थ्यो । लगभग १ घण्टा हिडेपछि नांगो चौर आयो । भिरालो चौर निकै मनमोहक थियो । अझ माथि रहेछ नांगेचुली २० मिनेट हिडेपछि पुगियो । चुलीमा पुगेपछि पालुंग उपन्यका पुरै छर्लंग । हामी निकै रमायौ । पालुङलाई निकै राम्रो देखिने ठाउँ रहेछ त्यो । भरपुर पालुङ हेरेर फोटो  खिचेर सोल्टू तर्फ झर्न थाल्यौ । निकै बेर अफ्ठ्यारो बाटो झरेपछि बल्ल सडक भेटियो ।

त्यो सडकमा १० मिनेट हिडेपछि फेरि सटकट बाँटो हिडेर गाउँ आईयो । त्यहॉबाट लगभग ४० मिनेट हिडेपछि पालुंगको फॉटबजार आयो । खेतमा किसानहरु आलु खनिरहेका थिए । हामी बिस्तार हिडेर माधव कार्कीको होमस्टे “ डाडाघरे बा” आईपुग्यौ । मिठो खाना खाएर भोक मेटाउदै पदयात्राकोा अन्त्य गर्यौ । यतिन्जेल सम्म १७ किमी दुरी पार गरिसकेका थियौ । सानोबावु सिन्तानलाई यो पदमार्गको बारेमा निकै राम्रो ज्ञान रहेछ । उनले नर्वेचोकदेखि पालुंग फॉटबजारसम्मको रमणिय ठाउ गज्जबसंग घुमाईदिए । यति राम्रो ज्ञान व्यवसायिक पथप्रदर्शकमा पनि हुदैन । उनको यो सहयोगप्रति हामी नतमस्तक छौ । राम्रो साथ र समन्वयप्रति फोटो पत्रकार गणेश बिष्टप्रति पनि आभार प्रकट गर्छौ ।

प्रस्तुति- राजाराम फुयाल

फोटो – निराकर श्रेष्ठ,गणेश विष्ट,