भारत विश्वकप पुगेर पनि किन खेल्न पाएन ?

धेरैलाई थाहा नहुन सक्छ, भारतसँग एकपटक विश्वकप खेल्ने सुनौलो अवसर आएको थियो। त्यो अवसर थियो सन् १९५० को ब्राजिल विश्वकप। दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप आयोजना हुन सकेको थिएन। त्यसपछि १२ वर्षको अन्तरालपछि सन् १९५० मा ब्राजिलमा विश्वकप आयोजना हुँदै थियो। त्यतिबेला विश्वकप छनोटमा सहभागी हुने सहमति जनाएका देशको संख्या केवल ३३ थियो। भारत समूह १० मा बर्मा (हालको म्यानमार) र फिलिपिन्ससँग परेको थियो। तर दुवै राष्ट्रले छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएपछि भारत कुनै खेल नै नखेली विश्वकपका लागि छनोट भएको थियो। यसरी भारतले इतिहासमै पहिलोपटक विश्वकप खेल्ने टिकट हात पारेको थियो।

फाइनल चरणको ड्रअनुसार भारत समूह–३ मा स्विडेन, इटाली र पाराग्वेसँग परेको थियो। प्रख्यात फुटबल पत्रकार नोभी कपाडियाका अनुसार त्यसबेला पाराग्वे त्यति बलियो टोली थिएन। इटालीले पनि अनुशासनहीनताको कारण आफ्ना आठ प्रमुख खेलाडीलाई टोलीमा समावेश गरेको थिएन। ब्राजिल पुगेपछि इटालीका प्रशिक्षक भित्तोरियो पोज्जोले राजीनामा नै दिएका थिए। स्विडेन बलियो टोली भए पनि भारतसँग समूहको दोस्रो स्थान हासिल गर्ने सम्भावना रहेको कपाडियाको मूल्याङ्कन थियो। उनका अनुसार विश्वकपमा सहभागिताले भारतलाई अन्तर्राष्ट्रिय अनुभव र एक्सपोजरको ठूलो अवसर प्रदान गर्ने थियो।

सन् १९५० ताका भारतसँग अन्तर्राष्ट्रिय अनुभव धेरै थिएन, तर आकर्षक फुटबल खेल्ने राष्ट्रका रूपमा उसले पहिचान बनाइरहेको थियो। सन् १९४८ को लन्डन ओलम्पिकमा भारतले बलियो फ्रान्ससँग २–१ को झिनो अन्तरले हार बेहोरेको थियो। त्यतिबेला अहमद खान, एस. रमन, एम. ए. सत्तार र एस. मेवालालजस्ता खेलाडी निकै लोकप्रिय थिए। भारतीय टोली आफ्नो ड्रिब्लिङ र आक्रामक शैलीका लागि चिनिन्थ्यो। लन्डन ओलम्पिकमा भारतीय टोलीका अधिकांश खेलाडी नाङ्गो खुट्टाले फुटबल खेलेका थिए। केवल राइट ब्याक ताज मोहम्मदले बुट लगाएका थिए।

सन् १९५० को विश्वकपबाट भारतले किन नाम फिर्ता लियो भन्ने विषयमा स्पष्ट र सर्वस्वीकार्य उत्तर आजसम्म भेटिएको छैन। अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले आधिकारिक रूपमा टोली छनोटमा मतभेद र तयारीका लागि पर्याप्त समय नपुगेको कारण नाम फिर्ता लिएको जनाएको थियो। वर्षौंसम्म एउटा लोकप्रिय धारणा रह्यो कि भारतीय खेलाडीहरू नाङ्गो खुट्टाले खेल्न चाहन्थे र फिफाले त्यसलाई अनुमति नदिएकाले भारत विश्वकपबाट बाहिरिएको हो। तर नोभी कपाडिया र वरिष्ठ खेल पत्रकार जयदीप बसुले यो दाबीलाई विश्वसनीय मान्दैनन्।

जयदीप बसुद्वारा सम्पादित पुस्तक ‘बक्स टु बक्सः ७५ इयर्स अफ द इन्डियन फुटबल टिम’ मा फिफाले भारतीय खेलाडीलाई नाङ्गो खुट्टाले खेल्न रोक लगाएको कुनै प्रमाण नभएको उल्लेख गरिएको छ। उनका अनुसार लन्डन ओलम्पिक खेलेका धेरै खेलाडीको झोलामा स्पाइक बुट थियो र बुट लगाउने वा नलगाउने विषय व्यक्तिगत रोजाइको कुरा थियो। त्यतिबेला संसारका धेरै देशका खेलाडीले पनि खुट्टामा बाक्लो पट्टी बाँधेर खेल्ने गर्थे।

भारत विश्वकप नगएको अर्को चर्चित कारण आर्थिक अभावलाई मानिन्छ। तर अनुसन्धानहरूले त्यो दाबीलाई पनि कमजोर देखाएका छन्। जयदीप बसुका अनुसार भारतका तीन राज्यस्तरीय फुटबल संघले टोलीको यात्रा खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका थिए। त्यस्तै नोभी कपाडियाले आफ्नो पुस्तकमा ब्राजिलले भारतीय टोलीको अधिकांश खर्च बेहोर्न तयार रहेको उल्लेख गरेका छन्। त्यतिबेला स्कटल्यान्ड, फ्रान्स, टर्की र चेकोस्लोभाकियाले पनि प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका थिए। ब्राजिल आयोजकका रूपमा बढीभन्दा बढी टोली सहभागी गराउन चाहन्थ्यो। त्यसबाहेक महात्मा गान्धी र जवाहरलाल नेहरूको देशको टोली विश्वकपमा सहभागी होस् भन्ने चाहना पनि ब्राजिलको थियो।

भारतले १६ मे १९५० मै विश्वकप खेल्ने सम्भावित टोलीको घोषणा गरिसकेको थियो। योजना अनुसार टोली १५ जुनमा ब्राजिल प्रस्थान गर्ने र २५ जुनमा पाराग्वेविरुद्ध पहिलो खेल खेल्ने कार्यक्रम थियो। तर त्यसपछि अचानक भारतले प्रतियोगिताबाट नाम फिर्ता लियो। जयदीप बसुले यस घटनालाई भारतीय फुटबल इतिहासको सबैभन्दा ठूलो रहस्य भनेका छन्।

धेरै इतिहासकारका अनुसार त्यतिबेला विश्वकपको प्रतिष्ठा अहिलेको जस्तो थिएन। भारतको मुख्य ध्यान ओलम्पिक र एसियाली खेलकुदतर्फ थियो। भारतीय हक्की टोली ओलम्पिक च्याम्पियन भइसकेको थियो र खेलकुदमा सफलताको प्रमुख मापदण्ड पनि ओलम्पिकलाई नै मानिन्थ्यो। सन् १९५१ मा दिल्लीमा एसियाली खेलकुद आयोजना हुँदै थियो। त्यसैले भारतीय खेल प्रशासक र खेलाडीहरूको ध्यान त्यतातिर केन्द्रित भएको देखिन्छ।

त्यतिबेला विश्वकप खेल्ने खेलाडीलाई ‘व्यावसायिक खेलाडी’ (प्रोफेसनल)को मान्यता दिइन्थ्यो। त्यस अवस्थामा उनीहरू ओलम्पिक वा एसियाली खेलकुदजस्ता प्रतियोगितामा खेल्न अयोग्य हुने सम्भावना थियो, किनभने ती प्रतियोगितामा ‘एमेच्योर’ खेलाडीलाई मात्रै अनुमति दिइन्थ्यो। यद्यपि केही देशहरूले आफ्ना खेलाडीलाई सेनाका सदस्यका रूपमा देखाएर यो नियम छल्ने गरेका थिए। तर सम्भवतः भारतीय फुटबल अधिकारीहरूलाई यस्ता व्यवस्थाबारे पर्याप्त जानकारी थिएन। ओलम्पिक र एसियाली खेलकुद गुम्ने डरले नै भारतले विश्वकप नखेल्ने निर्णय गरेको हुनसक्ने अनुमान गरिन्छ।

भारतले सन् १९५० मा गरेको त्यो निर्णय आज पनि भारतीय फुटबल इतिहासको सबैभन्दा ठूलो भूलमध्ये एक मानिन्छ। यदि भारतले त्यसबेला विश्वकप खेलेको भए, सम्भवतः दक्षिण एसियाली फुटबलको इतिहास नै फरक हुन सक्थ्यो। तर अवसर गुम्यो। त्यसयता ७६ वर्ष बितिसक्दा पनि भारत विश्वकपमा पुग्न सकेको छैन। त्यसैले हरेक चार वर्षमा विश्वकप सुरु हुँदा भारतीय फुटबल समर्थकहरूले सन् १९५० को त्यो छुटेको अवसर सम्झिने गर्छन्।