१६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षको प्रतीक्षा अन्त्य गर्यो । सन् २०१० पछि पहिलो पटक विश्वकप उचालेसँगै स्पेनले आफ्नो नयाँ पुस्ता विश्व फुटबलको नेतृत्व गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिएको छ ।

प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो । बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पुर्यायो । फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायमै राख्यो, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्यो । फाइनलमा अर्जेन्टिना विरुद्ध निरन्तर अट्याकिङ फुटबल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर बनाएको थियो । जितका लागि भने अतिरिक्त समय नै कुर्नुपर्यो ।
नयाँ पुस्ताको स्वर्णिम उदय
एक समय जाभी, इनिएस्टा, कासियास र पुइयोलको पुस्ताले विश्व फुटबलमा शासन गरेको स्पेन अहिले नयाँ अनुहारसँगै पुनः शिखरमा पुगेको छ । लामिन यमाल, पाउ कुबार्सी, पेड्रो पोरो, फेरान टोरेसजस्ता युवा खेलाडी र रोड्री, फाबियन रुइज तथा आयमेरिक लापोर्टजस्ता अनुभवी खेलाडीको सन्तुलित संयोजनले स्पेनलाई विश्वविजेता बनायो । स्पेनका पाउ कुबार्सी उत्कृष्ट खेलाडी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी घोषित स्पेनकै कप्तान रोड्रीले गोल्डेन बल अवार्ड प्राप्त गरे । गोल्डेन ग्लभ्समा पनि स्पेनकै गोलकिपर उनाइ सिमोनको कब्जा रह्यो । विश्वकपअघि नै युरोपेली च्याम्पियन बनेको स्पेनले अब केही वर्ष विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्ने संकेत दिएको छ ।

प्रभावशाली विजय यात्रा
स्पेनले समूह चरणमा अपेक्षाअनुसार सहज सुरुआत भने गर्न सकेको थिएन । पहिलो खेलमा आश्चर्यजनक टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो । अन्तिम खेलमा उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा पुग्यो । राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले सहज रूपमा हराएको स्पेनले त्यसपछि पोर्चुगललाई १–० र बेल्जियमलाई २–१ ले पराजित गर्यो । दुवै खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गरेका थिए । सेमिफाइनलमा भने स्पेनले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राख्यो । लामो समय बल नियन्त्रणमा राख्दै फ्रान्सको आक्रमणलाई निष्क्रिय बनाएको स्पेनले प्रभावशाली जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

अनुभवीले सम्हाले, युवाले जिताए
स्पेनको सफलताको केन्द्रमा सामूहिक प्रदर्शन रह्यो । रोड्रीले प्रतियोगिताभर मिडफिल्ड नियन्त्रण गरे भने फाबियन रुइजले खेलको गति निर्धारण गरे । रक्षापङ्क्तिमा लापोर्ट र कुबार्सीको जोडी उत्कृष्ट रह्यो भने गोलरक्षक उनाइ सिमोनले प्रतियोगिताभर एक गोल मात्र बेहोरे । युवा सनसनी लामिन यमालले गोल र असिस्टमा खासै योगदान नदिएपनि विपक्षी रक्षापङ्क्तिमाथि निरन्तर दबाब सिर्जना गरे । प्रतियोगिताभर सबैभन्दा धेरै सफल ड्रिबल गर्ने खेलाडीमध्ये परेका उनले फाइनलमा पनि आफ्नो प्रभाव देखाएका थिए ।

यस्तै स्पेनका लागि फरक खेलमा फरक खेलाडीहरूले योगदान दिए । समूह चरणका खेलहरूमा मिकेल ओयरजाबाल, डानी ओल्मो, लामिन यमालजस्ता खेलाडीहरूले गोल गरेका थिए । नकआउट चरणमा आइपुग्दा मिकेल मेरिनो बेन्चबाट आएर चम्किनेदेखि पेड्रो पोरो र फेरान टोरेससम्मले गोल गरे । यसले पनि स्पेनको टोलीमा रहेका हरेक खेलाडीको शतप्रतिशत एफर्ट रहेको देखिन्छ । डिफेन्समा पनि लापोर्टको अनुभवसँगै युवा पाउ कुबार्सी, पेड्रो पोरो र मार्क कुकुरेला उत्कृष्ट रहे ।
स्पेनी फुटबलको नयाँ युग
सन् २०१० मा विश्वकप जितेर २०१४ र २०१८ मा देखिएको निराशा तथा २०२२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि स्पेनी फुटबल फेरि विश्वको सर्वोच्च स्थानमा फर्किएको छ । यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरु स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत पनि हो । यस जितसँगै स्पेनले युरोपेली च्याम्पियन र विश्व च्याम्पियन दुवैको हैसियत कायम राख्दै विश्व फुटबलमा नयाँ स्वर्णिम अध्याय सुरु गरेको छ । स्पेनले सन् २०२४ मा भएको युरोकपको उपाधि पनि जितेको थियो, त्यसको दुई वर्षपछि विश्व फुटबलकै सबैभन्दा उच्च ओहोदाको ट्रफी पनि जित्न सफल भयो ।

फाइनलको कथा
फाइनल खेल रणनीतिक हिसाबले एकपक्षीय देखिएको थियो । स्पेनले सुरुवातदेखि निरन्तर अट्याक गरिरहँदा गोल भने निस्कन सकेको थिएन । अर्जेन्टिनाले भने स्पेनको अट्याकिङ विफल बनाइरहँदा खासै अट्याक बुन्न सकेको थिएन । निर्धारित ९० मिनेटमा पनि कुनै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पनि पहिलो हाफमा भने कुनै गोल भएको थिएन । दोस्रो हाफको सुरुवातमै १०६औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी १४ मिनेट र थपिएको ५ मिनेटमा अर्जेन्टिनाले गोल फर्काउन प्रयास गरेपनि सफल हुन सकेन र टोरेसको गोल नै निर्णायक बन्यो ।




