= सुदृष्टी चापागाईँ
नेपाल भन्ने देशको नाम लिँदा नेपालीले गर्वका साथ “सगरमाथाको देश” भन्ने गर्छन्। संसारका १० अग्ला हिमालमध्ये ८ वटा नेपालमै पर्छन्। गीतहरूमा पनि नेपालको पहिचान गराउँदा “हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो” भनी चिनाइन्छ। “हिमालै हिमालको हाम्रो देश” लाई जलस्रोतको दोस्रो धनी देश भनिरहँदा यहाँ साँच्चै धेरै पानी छ भनिएको मात्र होइन; नत्र त नेपालका सबै खोला बगेर भारत नै जाने भए धनी त भारत हुन्थ्यो होला ! हामीसँग हिमाल छ र हिमालको हिउँ नै पानीको मुख्य स्रोत हो, त्यसैले हामीलाई जलस्रोतमा धनी भनिएको हो।


“मानव चेतनशील प्राणी हो” भन्ने वाक्य विद्यालयका नेपाली र सामाजिक अध्ययनका पाठ्यपुस्तकमा सधैँ लेखिएको हुन्थ्यो। मानिसले विवेक प्रयोग गरेर सही र गलत छुट्याउन सक्छ भनिन्छ। तसर्थ, मानवले आफ्ना क्रियाकलापमा नियन्त्रण राख्न सक्छ भन्ने बुझिन्छ। मानिसले आफ्नो जीवन सहज बनाउन जे–जति प्रयास गरिरहेको छ, त्यसलाई ‘विकास’ भन्छ। तर, त्यो विकासको बाटोमा हामीले वातावरणलाई मूल्यका रूपमा चुकाइरहेका छौँ। बाटो फराकिलो बनाउन पहाड फुटाउँदा बम पड्काइन्छ, जसले हावा प्रदूषित बनाउँछ। संरचना बनाउन रुख काटिन्छ, जसले जैविक विविधतामा असर पुर्याउँछ र चराचुरुङ्गीको बासस्थान उठ्छ। इन्टरनेटको रेडिएसनले चराहरू हराउँदै गएका छन् ।
वातावरण कुनै एक व्यक्तिको वस्तु होइन, यो सबै प्राणीको साझा सम्पत्ति हो। मानवताको नाताले अब मानिसले आफ्ना क्रियाकलापलाई पुनर्विचार गर्ने बेला आएको छ। यद्यपि, विकास नै नगर्ने भन्ने त हुँदैन। “लेख लेख्न बिजुली, ल्यापटप र इन्टरनेट प्रयोग गर्ने अनि कलेज जाँदा बाइक चढ्नेले विकासको विरोध गर्ने?” भन्ने तर्क पनि आउन सक्छ। हो, विकास जरुरी छ, तर दिगो विकास अवलम्बन गर्न त कानुनले नै भनेको छ नि ! अबका विकास परियोजनाहरू कार्यान्वयन गर्दा वातावरण आफ्नै हो भन्ने सम्झेर कानुनको उचित पालना गरौँ । अब हामीले स्व–विवेक प्रयोग गर्ने बेला भएको छ।

अब बिरुवा देखेपछि पानी हाल्न सम्झिऔँ । खाली भाँडोमा चराचुरुङ्गीका लागि थोरै पानी छुट्याउन थालौँ । अहिले जति मोबाइल र ल्यापटप चलाउँछौँ, त्योभन्दा ५ मिनेट कम चलाउने प्रयास गरौँ । च्याटजीपीटीलाई एउटा कम ‘प्रम्प्ट’ दिने बानी बसालौँ। चुरोट खाने बानी छ भने एउटा मात्र भए पनि कम गरौँ। जन्मदिनमा एउटा रुख रोप्ने संस्कार बसालौँ । यी स–साना कामले के हुन्छ र ? भन्ने लाग्न सक्छ। तर, १०० जनाले यसो गरे एउटा चरा बढी बाँच्ला, एक थोपा पानी कम प्रदूषित होला र फेरिने सास अलि स्वच्छ होला। यति मात्र गर्न सके पनि हिमालको हिउँ कम पग्लिन्थ्यो कि! अनि केही समय बढी “सगरमाथाको देश नेपाल” भनेर गर्व गर्न पाइन्थ्यो कि !
श्रावणको पानीमा रोइरहेको हिमालको आँसु होस् या नहोस्, तेजाबको अंश भने पक्कै देखिन थालेको छ। हामीले पानीमा नमिसाएको फोहोर केही छैन। तसर्थ, अबको मेहेनत पानीलाई स्वच्छ बनाउनतर्फ लाग्नुपर्छ। पृथ्वीका पाँच तत्व (पञ्चतत्त्व) संरक्षण गर्नु निकै जरुरी छ। सायद यही कारणले होला, राम शाहले ‘थिति’ बाँध्दा “रुख नकाट्नु, रुख काटे पानीको मुहान सुक्छ” भनेका थिए।

२०२१ सालको भूमिसम्बन्धी ऐनले पनि वातावरण संरक्षणलाई एउटा उद्देश्य बनाएको थियो। हाम्रा वेदहरूमा “सर्वे भवन्तु सुखिनः” र “माता भूमिः पुत्रोऽहं पृथिव्याः” (पृथ्वी मेरी आमा हुन् र म उनको पुत्र हुँ) लेखिएको छ। किरात सभ्यताले प्रकृति पुज्नु, थारु सभ्यताले जङ्गल संरक्षण गर्नु र नेवा: सभ्यताले ‘सिथि नखः’ का दिन पानीका मुहान सफा गर्नुको अर्थ एउटै हो- हाम्रो संस्कृति नै वातावरण मैत्री छ। हाम्रो चेतनाले बुझ्नुपर्छ: प्रकृतिका कारण हाम्रो अस्तित्व छ, हाम्रो कारणले प्रकृति होइन । आज हिमाल रोइरहेको छ। जलवायु परिवर्तन मानवले नै निम्त्याएको सङ्कट हो र यसलाई मानवले नै नियन्त्रण गरेर मानवताको उदाहरण पेश गर्नुपर्छ। बाराक ओबामाले भने जस्तै- “हामी जलवायु परिवर्तनको असर भोग्ने पहिलो पुस्ता र यसलाई सुधार्न सक्ने अन्तिम पुस्ता हौँ।” त्यसैले, अब प्रकृतिको सम्मान गर्ने बेला भइसकेको छ ।




