१६ जुलाई १९५० । रियो दे जेनेरियोमा घाम झुल्किसकेको थियो । समुद्र किनारका सडकहरू असाधारण रूपमा व्यस्त थिए । मानिसहरू एउटै दिशातर्फ बगिरहेका थिए, माराकाना रंगशाला । कसैको हातमा ब्राजिलको झन्डा थियो । कसैले अनुहारभरि राष्ट्रिय रङ पोतेका थिए । कोही छोराछोरीलाई काँधमा बोकेर आएका थिए ।
त्यो दिन ब्राजिलमा केवल एउटा फुटबल खेल मात्र हुँदै थिएन । एउटा राष्ट्रले आफ्नो सपना पूरा गर्न लागेको विश्वास गरिरहेको थियो । माराकाना रंगशाला त्यसबेला विश्वकै सबैभन्दा ठूलो फुटबल रंगशालामध्ये एक मानिन्थ्यो । आधिकारिक रूपमा १ लाख ७३ हजारभन्दा बढी दर्शक उपस्थित थिए, तर विभिन्न ऐतिहासिक विवरणहरूमा त्यहाँ झण्डै दुई लाख मानिस रहेको उल्लेख पाइन्छ ।
आजसम्म पनि त्यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो दर्शक उपस्थितिमध्ये एक मानिन्छ । ब्राजिल विश्व च्याम्पियन बन्न केवल एक खेल टाढा थियो । तर केही घण्टापछि त्यही रंगशालाले विश्व फुटबल इतिहासकै सबैभन्दा पीडादायी कथामध्ये एक जन्माउँदै थियो, जुन ब्राजिलियन समर्थकले कल्पना समेत गरेको थिएन ।

एउटा राष्ट्रको सपना
दोस्रो विश्वयुद्ध समाप्त भएको पाँच वर्ष मात्र भएको थियो । संसार पुनर्निर्माणको यात्रामा थियो । ब्राजिल पनि आफूलाई आधुनिक, शक्तिशाली र आत्मविश्वासी राष्ट्रका रूपमा संसारसामु प्रस्तुत गर्न चाहन्थ्यो । विश्वकप आयोजना गर्नु त्यसका लागि केवल खेलकुद कार्यक्रम थिएन, राष्ट्रिय प्रतिष्ठाको विषय पनि थियो । रियो दे जेनेरियोमा बनाइएको विशाल माराकाना रंगशाला त्यसको प्रतीक थियो ।
हजारौँ मजदुरको पसिना र राष्ट्रिय गौरवको आकांक्षाले निर्माण गरिएको त्यो रंगशाला ब्राजिलको भविष्यको प्रतिमूर्ति जस्तै थियो । त्यसमाथि, ब्राजिलको टोली शानदार लयमा थियो । अन्तिम राउण्डमा चार टोलीबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गराइएको थियो । त्यो विश्वकप मात्र फाइनल नभएको एक मात्र विश्वकप थियो ।स्वीडेनलाई ७–१ र स्पेनलाई ६–१ ले हराएपछि देशभर उत्सवको माहोल बनेको थियो ।
अन्तिम खेलमा उरुग्वेविरुद्ध बराबरी भए पनि ब्राजिल विश्व च्याम्पियन बन्ने थियो ।त्यसैले धेरै समर्थकले उपाधि लगभग निश्चित भइसकेको ठानेका थिए । कतिपय पत्रपत्रिकाले विजेताको बधाई शीर्षक तयार गरिसकेका थिए । स्मारक सामग्री छापिएका थिए । रेडियो उद्घोषकहरूले विजय उत्सवको वर्णन गर्ने तयारी गरेका थिए । तर फुटबललाई भविष्यवाणी मन पर्दैन ।
उरुग्वे : जसलाई कसैले गम्भीरतापूर्वक लिएन
ब्राजिलको उत्सवको छायाँमा उरुग्वे चुपचाप तयारी गरिरहेको थियो । सन् १९३० को पहिलो विश्वकप विजेता राष्ट्र भए पनि त्यो दिन उनीहरूलाई धेरैले बाहिरी टोलीका रूपमा मात्र हेरेका थिए । उरुग्वेका कप्तान ओबदुलियो वरेला भने फरक सोचिरहेका थिए । ऐतिहासिक विवरणहरूका अनुसार खेलअघि उनले आफ्ना खेलाडीहरूलाई भीडको आकार होइन, मैदानमा भएका खेलाडीहरूलाई हेर्न आग्रह गरेका थिए । लाखौँको दबाबबीच उनले टोलीलाई मानसिक रूपमा शान्त राख्ने प्रयास गरे ।
उनीहरूलाई थाहा थियो, संसार ब्राजिलको जितको प्रतीक्षा गरिरहेको छ । फुटबलसम्बन्धी वेबसाइट द फुटबल टाइम्समा प्रकाशित एक विश्लेषणअनुसार ब्राजिलले गोल गरेपछि वरेलाले रेफ्रीसँग गरेको बहस नियम परिवर्तन गराउने प्रयासभन्दा पनि खेलको लय तोड्ने र घरेलु समर्थकहरूको उत्साहलाई केही समयका लागि शान्त पार्ने मनोवैज्ञानिक रणनीति थियो । उक्त विश्लेषणमा यसलाई विश्वकप इतिहासकै सबैभन्दा चतुर नेतृत्वपूर्ण क्षणहरूमध्ये एक मानिएको छ । तर कहिलेकाहीँ इतिहास सबैभन्दा अप्रत्याशित पात्रले लेख्छ ।

जब माराकाना उत्सवमा बदलियो
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ब्राजिलियन समर्थकहरूलाई चिन्ता थिएन । त्यो समय बराबरी पनि पर्याप्त थियो । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै ब्राजिलका फ्रियासाले गोल गरे । माराकाना विस्फोट भयो । झण्डै दुई लाख मानिसको गर्जनले रंगशाला नै हल्लिएको जस्तो लाग्थ्यो । झण्डा फहरिए । गीत गुञ्जिए । अपरिचित मानिसहरू एकअर्कालाई अँगालो हालेर खुशी साट्न थाले । कतिपय समर्थकले खेल सकिनुअघि नै उपाधिको उत्सव सुरु गरिसकेका थिए । ब्राजिल अब केही बेरमै विश्व च्याम्पियन बन्ने बाटोमा थियो । कम्तीमा त्यतिबेलासम्म सबैले त्यही सोचेका थिए ।
एउटा कप्तानको धैर्य
ब्राजिलको गोलपछि उरुग्वे दबाबमा परेको थियो । तर कप्तान वरेला शान्त थिए । विभिन्न स्रोतहरूका अनुसार उनले रेफ्रीसँग केही समय बहस गरे र खेलको गति रोक्न खोजे । धेरै इतिहासकारले यसलाई मनोवैज्ञानिक रणनीतिका रूपमा व्याख्या गरेका छन् । उनको उद्देश्य आफ्ना खेलाडीहरूलाई पुनः व्यवस्थित हुने समय दिनु थियो ।फुटबल कहिलेकाहीँ केवल खुट्टाको खेल हुँदैन । यो धैर्य, नेतृत्व र मानसिक बलको पनि खेल हो ।
जब सन्नाटा सुरु भयो
६६औँ मिनेटमा जुआन स्कियाफिनोले उरुग्वेका लागि बराबरी गोल गरे । रंगशालाको वातावरण अचानक बदलियो । पहिले जस्तो उत्साह बाँकी थिएन । ब्राजिल अझै पनि बराबरीले विश्व च्याम्पियन बन्ने अवस्थामा थियो, तर पहिलो पटक समर्थकहरूको अनुहारमा डर देखिन थाल्यो । फुटबलमा कहिलेकाहीँ एउटा गोलले मात्र होइन, एउटा भावनाले पनि खेल बदल्छ
७९औँ मिनेट : जसले इतिहास बदल्यो
खेल सकिन करिब ११ मिनेट बाँकी थियो । उरुग्वेका अल्सिदेस घिगिया दायाँ विंगबाट बल लिएर अघि बढे । ब्राजिलका रक्षकहरू क्रस आउने प्रतीक्षामा थिए । गोलरक्षक मोइसिर बार्बोसा पनि त्यही अनुमानमा थिए । तर घिगियाले अप्रत्याशित निर्णय लिए । उनले पास दिएनन् । उनले पोस्टतर्फ सिधै प्रहार गरे । बल जालीभित्र पुग्यो । उरुग्वे २–१ ले अघि बढ्यो । त्यसपछि माराकाना रंगशाला लगभग मौन बन्यो ।
वर्षौंपछि घिगियाले एउटा प्रसिद्ध टिप्पणी गरेका थिए, ‘माराकानालाई मौन बनाउन सफल तीन जना मात्र छन्, पोप, फ्र्यांक सिनात्रा र म । फिफियासँगको अन्तर्वार्तामा घिगियाले आफ्नो गोलपछि माराकाना पूर्ण रूपमा मौन बनेको स्मरण गर्दै यो भनाइ व्यक्त गरेका थिए । त्यो अभिव्यक्ति आज पनि विश्वकप इतिहासका सबैभन्दा चर्चित भनाइमध्ये एक मानिन्छ । अन्तिम सिटी । खेल सकियो । उरुग्वे विश्व च्याम्पियन बन्यो । ब्राजिल पराजित भयो । समर्थकहरू स्तब्ध थिए । कसैले रोए । कसैले टाउको समाते । धेरै मानिसहरू केही नबोली रंगशालाबाट बाहिरिए । त्यो दिनलाई पछि एउटा नाम दिइयो, ‘माराकानाजो’ ।अर्थात्, ‘माराकानाको ठूलो आघात ।’ आज पनि धेरै इतिहासकारले त्यसलाई खेलकुद इतिहासकै सबैभन्दा ठूलो सामूहिक निराशामध्ये एक मान्छन् ।
बार्बोसा : एउटा मानिसले बोकेको राष्ट्रको पीडा
हरेक ठूलो हारपछि एउटा पात्र इतिहासमा छुट्टिन्छ । सन् १९५० मा त्यो पात्र थिए, गोलरकिपर मोइसिर बार्बोसा । उरुग्वेका खेलाडी अल्सिदेस घिगियाको गोल रोक्न नसकेको कारण उनलाई वर्षौँसम्म आलोचना गरियो । उनीमाथि अन्यायपूर्ण रूपमा हारको प्रतीकको छाप लाग्यो । दशकौँपछि उनले पीडासाथ भनेका थिए, ‘ब्राजिलमा सबैभन्दा ठूलो सजाय ३० वर्षको जेल हो । तर मैले आफूले नगरेको अपराधको सजाय जीवनभर भोगेँ । फुटबलको भावनात्मक मूल्य कति ठूलो हुन सक्छ भन्ने उदाहरणका रूपमा बार्बोसाको कथा आज पनि सुनाइन्छ ।

हारबाट जन्मिएको पहेँलो जर्सी
आज ब्राजिलको पहेँलो जर्सी विश्व फुटबलकै सबैभन्दा चिनिने प्रतीकमध्ये एक हो । पेलेदेखि नेयमारसम्मका महान खेलाडीहरूले यही जर्सी लगाएर इतिहास रचेका छन् । तर धेरैलाई थाहा नहुन सक्छ, यो जर्सी एक हारको परिणाम हो । सन् १९५० को विश्वकपमा ब्राजिलले सेतो जर्सी लगाएर खेलेको थियो । तर माराकाना रंगशालामा उरुग्वेसँगको अप्रत्याशित हारपछि त्यो जर्सी राष्ट्रिय निराशासँग जोडियो । त्यसपछि नयाँ राष्ट्रिय पहिचान खोज्ने बहस सुरु भयो । स्कोरकीटमा प्रकाशित ‘द स्टोरी बिहाइन्ड १९७० वर्ल्ड कप जर्सी डिजाइन स्टोर’ अनुसार कोरेइओ दा मान्हा पत्रिकाले १९५३ मा नयाँ जर्सी डिजाइनका लागि राष्ट्रिय प्रतियोगिता आयोजना गरियो । प्रतियोगिताको सर्त थियो, ब्राजिलको झन्डाका चारै रङ जर्सीमा समावेश हुनुपर्छ ।
द गार्डियनमा प्रकाशित एक लेखका अनुसार सयौँ डिजाइनमध्ये युवा चित्रकार अल्दिर गार्सिया श्लीको प्रस्ताव छनोट भयो । उनले पहेँलो जर्सी, हरियो किनारा, निलो सट्र्स र सेतो मोजाको संयोजन तयार गरेका थिए । पहेँलो रङ आकर्षक, उज्यालो र राष्ट्रिय झन्डाको प्रमुख रङ भएकाले त्यसलाई मुख्य रूपमा प्रयोग गरिएको थियो । नयाँ जर्सी पहिलोपटक १९५४ मा मैदानमा देखियो । विडम्बना के छ भने, आज विश्व फुटबलको सबैभन्दा चर्चित बनेको सो जर्सीमध्ये एक मानिने ‘क्यानारिन्हो’ वास्तवमा सन् १९५० को हार र राष्ट्रिय पीडाको सम्झना हो ।

एउटा रोइरहेको बालक
माराकानाजोको दिन ब्राजिलमा नौ वर्षको एउटा बालक पनि रोइरहेको थियो । पछि फुटबल सम्राट बनेका पेलेले आफ्ना अन्तर्वार्ता र संस्मरणहरूमा सम्झँदै भनेका थिए, ‘आफ्ना बुबालाई निराश देखेपछि एक दिन ब्राजिललाई विश्वकप जिताउने सपना देखेको थिए ।’ उनले माराकानाजोको दिन अझै मानसपटलमा रहेको सुनाउँछन् ।आठ वर्षपछि, १७ वर्षको उमेरमा, उनले स्विडेनमा विश्वकप जित्दै विश्व फुटबलको इतिहास बदलिदिए । कहिलेकाहीँ एउटा हारले भविष्यको महानताको बीउ रोप्छ ।
किन आज पनि यो कथा जीवित छ ?
विश्वकपमा धेरै उलटफेर भएका छन् । तर माराकानाजो फरक छ । किनभने यो केवल फुटबलको कथा होइन । यो आशाको कथा हो । यो अत्यधिक आत्मविश्वास र धैर्यको कथा हो । यो लाखौँ मानिसले एउटै सपना देखेको र केही मिनेटमै त्यो सपना टुटेको कथा हो । ब्राजिलले त्यसपछि पाँच पटक विश्वकप जित्यो । उरुग्वेले पनि आफ्नो गौरवशाली इतिहास कायम राख्यो । तर १६ जुलाई १९५० को त्यो दिउँसो आज पनि विश्व फुटबलको सामूहिक स्मृतिमा जीवित छ । किनकि कहिलेकाहीँ खेलको सबैभन्दा ठूलो कथा ट्रफी जित्ने टोलीको मात्र हुँदैन । कहिलेकाहीँ त्यो कथा हार, आँसु र त्यसबाट जन्मिएको नयाँ आशाको पनि हुन्छ ।



