विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले पाँचौं एनभीए महिला/पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् । नेपाल भलिबल संघको आयोजनामा शुक्रबारदेखि सुरु च्याम्पियनसिपमा पुरुषतर्फ दुवै विभागीय टोली विजयी भएका हुन् । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको समूह ए अन्तर्गत पहिलो खेलमा आर्मीले आरजीजीलाई २५-९, २५-१६, २५-९ ले पराजित गरेको हो । यस्तै समूह बी अन्तर्गत एपीएफले पहिलो सेट हारेर पनि बुबलबुले रारा क्लबलाई ३-१ सेटमा पराजित गर्यो । प्रतिस्पर्धात्मक पहिलो सेट बुलबुलेले २५-२३ ले जितेको थियो । त्यसपछि पुनरागमन गर्दै एपिएफले २५-१२, २५-२०, २५-१८ ले लगातार तीन सेट जित्दै खेल जितेको हो ।
महिलातर्फ न्यू डायमण्डको विजयी
यसैगरी महिलातर्फ शुक्रबार भएको एक मात्र खेलमा न्यु डायमण्डले जीत हात पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पुलिसलाई ३-२ को सेटमा हरायो । दुई पटक पछि परेर पनि डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै जीत हात पारेको हो । पहिलो सेट २५-१७ ले जित्दै पुलिसले खेलमा १-० को अग्रता बनाएको थियो । डायमण्डले पुनरागमन गर्दै दोस्रो सेट २५-१८ ले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट २५-२३ ले जित्दै पुलिसले फेरि अग्रता लियो । तर चौथो सेट डायमण्डले २५-१८ ले जित्दै खेललाई अन्तिम सेटसम्म पुर्यायो । निर्णायक सेट १५-११ ले जित्दै डायमण्डले खेल जितेको हो । च्याम्पियनसिपमा शनिबार पुरुष र महिलाको २-२ खेल हुनेछ । माघ १० गतेसम्म सञ्चाला हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टिमको सहभागिता छ ।