अस्ट्रेलियाका सातवटा सहरमा नेपाली स्वर गुन्जाएर फर्केको नेपथ्यले अमेरिकाका सातवटा सहरमा कन्सर्ट गर्ने भएको छ । गत वर्ष पनि नेपथ्यले अमेरिकाको पूर्वीदेखि पश्चिमी किनारासम्मका सातवटा सहरमा डेढ महिना लगाएर प्रस्तुति दिएको थियो ।
आगामी मे १७ तारिख टेक्सास राज्यको राजधानी अस्टिनमा नेपथ्य गुन्जिनेछ । टेक्ससको ‘इमोज् अस्टिन’हलबाट सुरु हुने कन्सर्ट वासिङ्टन, क्यालिफोर्निया, पेन्सिलभेनिया, सिकागो, म्यासाचुसेट्स हुँदै नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुगेर टुंगिनेछ ।
नेपथ्यले सन् २००४ मा एरिजोना राज्यको फिनिक्स र राजधानी वासिङ्टन डिसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरुमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।
यसपालि अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रुपमा सम्हाल्ने भएका छन् । नेपथ्यसँगै ब्यान्डको व्यवस्थापन र प्राविधिक टोली पनि अमेरिका प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।