छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी पूरा भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा शनिबार हुने म्याराथनको तयारी पूरा भएको अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
उनका अनुसार खेलाडीको नाम दर्तादेखि प्राविधिक काम सकिएका छन् । बिहीबार कर्णाली खेलकुद क्लबको कार्यालयमा पत्रकार सम्मेलन गरेर जुम्ला–रारा म्याराथनको तयारी बारेमा जानकारी दिइएको थियो ।
यसपालि जुम्ला–रारामा ५ सय ९१ जना दौडनेछन् । ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरको दौड हुने भएको हो । अध्यक्ष शाहीले पोल्यान्डबाट १, अमेरिकाबाट १, फ्रान्सबाट १ र भारतबाट एक जना गरेर ४ विदेशी खेलाडीले नाम दर्ता गराएका छन् । त्रिभुवन आर्मी क्लबबाट २ जनाले भाग लिएका छन् । जुम्लाबाहेक पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरी लगायतका जिल्लाबाट खेलाडीहरुले नाम दर्ता गराएका हुन् ।
म्याराथनमा खालीपाटन, चौथा, डाब, चुचेमारा बेसक्याम्प, चुचेमारा टप लगायतका ६ स्थानमा चेक प्वाइन्ट राखिएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनमा प्रथम हुनेले एक लाख नगद, प्रमाणपत्र र मेडल पाउनेछन् । द्वितीय हुनेले ७५ हजार र तृतीय स्थान हासिल गर्नेले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पाउनेछन् । आयोजकले चौथो र पाँचौ स्थान हासिल गर्ने खेलाडीलाई प्रतिव्यक्ति २०/२० हजार पुरस्कार प्रदान गर्नेछ ।