भाइरल पदयात्री बन्ने हुटहुटी !

‘गन्तव्यमा पुग्ने हुटहुटी’ भनौँ या ‘हतारो’। “अझै कति समय लाग्छ?” यात्रामा भेटिने हरेक समूहबीच हरेक पाँच–दस मिनेटमा यही प्रश्नोत्तर चलिरहन्छ। यसरी प्रश्न गर्ने पदयात्रीको संख्या दिनानुदिन बढ्दै गएको छ। गन्तव्यमा पुगेर फर्किएकासँग गरिने यस प्रश्नले तत्कालीन जवाफ त पाउँछ, तर यसको साथसाथै हाम्रो पदयात्रा शैली, गन्तव्यबारेको पूर्व जानकारी र तयारीका बारेमा अर्को प्रश्न पनि जन्माउँछ।

यदि पर्याप्त जानकारी भएको भए, सायद यस्तो प्रश्न उठ्दैनथ्यो। पहिलो पटक नयाँ गन्तव्यतर्फ गइरहेको व्यक्ति आफू उभिएको स्थानबाट पुग्न कति समय लाग्छ भनेर फर्किँदै गरेको व्यक्तिलाई सोध्छ। त्यो व्यक्तिलाई ठ्याक्कै थाहा नभए पनि अनुमान स्वाभाविक हुन्छ। तर, सबै पदयात्रीलाई गन्तव्यमा पुग्न समान समय लाग्छ भन्ने हुँदैन। यस्तो भ्रममा यात्रा सुरु गर्नु मूर्खता मात्र हो।

“हामी त दुई दिनमै पुग्यौँ, चार दिनको पदयात्रा दुई दिनमै सकिन्छ,” भन्नेहरू धेरै भेटिन्छन् । तर, प्रश्न उठ्छ  दिनमा कति घण्टा हिँड्ने ? कसरी हिँड्ने ? कहाँ विश्राम गर्ने, के खाने, के हेर्ने ? पदयात्राको वास्तविक मजा के हो, ‘ट्रेकिङ’ भन्नाले के बुझिन्छ भन्ने थाहा नहुने हो भने पुगेर फर्कनु मात्रै यात्राको सफलता होइन। त्यो भन्दा छिटो पुग्नु आश्चर्य होइन, तर के त्यो सुरक्षित हो ? सोच्नुपर्ने विषय यही हो।

हालका वर्षहरूमा नेपाली युवायुवतीमा ‘ट्रेकिङ कल्चर’ फेसनको रूपमा विकसित हुँदै गएको छ। लामो समयदेखि पदयात्रा गर्दै आएका र अरूलाई प्रेरित गर्नेहरूको तस्बिर वा भिडियो हेर्दा, नेपालमा घुम्ने संस्कृतिको विकास भएको अनुभूति हुन्छ। तर, फोटो–भिडियो खिच्ने र देखाउने मोहका कारण वास्तविक पदयात्रीहरू सास्तीमा परिरहेका छन्।आजकल भाइरल भिडियो वा तस्बिर हेरेर त्यसैको नक्कल गर्ने उद्देश्यले निस्किने ‘भाइरल पदयात्री’हरूको संख्या बढ्दै गएको छ।

टिकटक, फेसबुक र इन्स्टाग्रामका रिल्समा देखिएका हिमाल, ताल, फूल र पाटनका दृश्य हेरेर निस्किएका पदयात्रीहरूले आफू मात्र होइन, प्रकृति, पदमार्ग र स्थानीय व्यवसायसमेतलाई जोखिममा पारेका छन्। नेपालका पदमार्गमा साहसिक यात्रा गर्न रुचाउने विदेशी पर्यटकको नजरमा पनि यसको नकारात्मक असर पर्न सक्छ।

स्पिकरबाट निस्कने कर्कश ध्वनीले खोला, खोल्सा र वन्यजन्तुको प्राकृतिक ध्वनिलाई दबाएको छ। वर्षौँदेखि आफ्नो प्राकृतिक तालमा रमाइरहेका जनावर त्रसित बनेका छन्। पदयात्रीका झोलामा झुन्ड्याइएका स्पिकरबाट निस्कने ती ध्वनिहरूले वन्यजन्तुलाई थातथलो छोड्न बाध्य बनाइरहेका छन्। प्रकृतिसँग रमाउन चाहने, खोलाको कलकल, चराको चिरबिर र पातको सरसर सुन्न चाहने पदयात्रीका लागि यस्तो यात्रा भन्दा दिक्क लाग्दो अर्को केही हुनै सक्दैन।

वसन्त ऋतुबाट घुम्ने सिजन सुरु हुन्छ। यस पटक सुरुवातदेखि नै नेपालका धेरै स्थानमा आन्तरिक पर्यटकको ओइरो लाग्यो। वैशाख–जेठदेखि बागलुङको ढोरपाटन र त्यस क्षेत्रको बुकीपाटन, पूर्वी रुकुमको चौरीखर्क एकाएक भाइरल गन्तव्य बने। ढोरपाटन परम्परागत रूपमा विदेशी सिकार पर्यटकको रोजाइको गन्तव्य हो। तर, यस पटक त्यहाँ फुलेको बुकी (फूल) का कारण आन्तरिक पर्यटकको भिड लाग्यो  मानौँ, फूलमा भमराको ओइरो लागेको हो।

आर्थिक वर्ष २०८०/८१ मा ढोरपाटनमा १५ हजार ५७३ पर्यटक पुगेका थिए। २०८१/८२ मा यो संख्या २३ हजार ६९२ पुग्यो एक वर्षमा करिब आठ हजारले वृद्धि। जसमध्ये २१३ जना मात्र विदेशी र बाँकी सबै नेपाली हुन्।पूर्वाधार नबनेको चौरीखर्कले समेत यस वर्ष हजारौँ आन्तरिक पर्यटकलाई भेडी गोठमा सुतायो। तर, यी पदयात्राहरूमा धेरैजसोले नियम र जिम्मेवारीको ख्याल गरेनन्। निषेधित क्षेत्रमा मोटरसाइकल कुदाउने, फोहोर–प्लास्टिक छोड्ने, पदमार्ग र पाटनहरू प्रदूषित पार्ने काम बढे।यस्तो अव्यवस्थित यात्राले तत्काल चहलपहल देखाए पनि दीर्घकालमा पर्यावरणीय र आर्थिक असर गहिरो पार्ने निश्चित छ।

यस वर्ष ढोरपाटन र चौरीखर्कका किसानहरूले केही भेडा गुमाए  पदयात्रीहरूले छोडेका चाउचाउ, बिस्कुट र दालमोठका प्लास्टिक खाँदा भेडा बिरामी परेर मरे। यो केवल पर्यावरणीय होइन, सामाजिक क्षति पनि हो।

त्यस्तै, दसैँ सुरु नहुँदै म्याग्दीको नारच्याङस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा पदयात्रीको भीड असामान्य रूपमा बढ्यो। ४,१५० मिटर उचाइमा रहेको यस शिविरमा सिजनमा साधारणतया दुई हजार पदयात्री पुग्ने गर्थे, तर यस पटक दैनिक चार सयभन्दा बढी पुगे। यहाँ विद्युत् र सञ्चार सुविधा छैन। खाने–बस्ने निश्चित व्यवस्था नभएको ठाउँमा सयौँ पदयात्री अलपत्र परे। कसैले लेक लाग्यो, कसैले बेहोस हुने अवस्था आयो। रातभर सयभन्दा बढी जना एउटै कोठामा कोचिएर बस्नुपर्‍यो।

आधार शिविर नजिकको पञ्च कुण्ड ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर बनेको यो प्राकृतिक ताल धार्मिक आस्थासँग पनि जोडिएको छ। यही तालको पानी स्थानीयले पिउने र खाना पकाउने गर्छन्। तर, पदयात्रीहरूले त्यसमा पौडी खेलेर धार्मिक र पर्यावरणीय संवेदनशीलता बेवास्ता गरे। त्यसमाथि हातमा बियरका बोतल र चुरोट बोकेर यात्रा गर्ने प्रवृत्ति बढेको छ। ‘के खानु हुन्छ, के हुँदैन’ भन्ने सामान्य ज्ञान नभएका पदयात्रीहरूले पदमार्गभर रक्सीका बोतल र फोहोर छोडेर वातावरण कुरूप र जोखिमपूर्ण बनाइरहेका छन्। यो पदमार्ग खुल्ने मात्र दुई वर्ष भएको छ, तर ‘भाइरल पदयात्री’का कारण अहिले नै बिग्रँदै गएको छ।

साथीभाइको समूह बनाएर निस्किने धेरै आन्तरिक पदयात्रीले मौसम, उचाइ, जोखिम र स्थानीय आस्थाबारे कुनै जानकारी राख्दैनन्। चार दिनको यात्रा दुई दिनमा पुर्‍याउने होडले उनीहरूलाई ‘हाई अल्टिच्युड सिकनेस’ को सिकार बनाउँछ।

तिहार सकिएसँगै फेरि मुस्ताङ र मनाङमा पर्यटकको घुइँचो देखिएको छ। तिहारको भोलिपल्ट मात्रै मुस्ताङमा छ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगे। बेनी–जोमसोम बाटोमा ट्राफिक जामले तीन घण्टाको दूरी सात घण्टामा पार गर्नुपर्‍यो। खाने–बस्ने बासको टुङ्गो नलगाई निस्किएका पर्यटक पुनः अलपत्र परे। बिदाको समयमा घुम्ने र परिवारसँग समय बिताउने इच्छा स्वाभाविक हो। तर, जानकारी, तयारी र जोखिम विश्लेषणबिना निस्किने यो ‘भाइरल प्रवृत्ति’ घातक साबित हुँदैछ। मुस्ताङ, मनाङ र कास्कीमा लेक लागेर पाँच जनाको मृत्यु भइसकेको छ- एक विदेशी, एक भरिया र तीन नेपाली।

न्यानो लुगा लगाऔँ, पर्याप्त पानी पिऊँ, धूम्रपान र मद्यपानबाट टाढा रहौँ। होटल बुक गरेर मात्र यात्रा तय गरौँ। फलफूल र स्वास्थ्यकर खानेकुरा खाने गरौँ। यात्रामा आफ्नो मात्र होइन, अरूलाई पर्न सक्ने असर पनि सोचौँ। जसरी अहिले पदमार्गहरूमा नेपाली पदयात्रीको भीड छ, त्यसरी नै विदेशी पर्यटक आकर्षित गरौँ। सुरक्षित यात्रा गरौँ, जिम्मेवार यात्राको अभ्यास गरौँ। सुन्दर दृश्य र अनुभव साझा गरौँ  तर, फोहोर नगरी, होहल्ला नगरी, पदयात्राको मर्यादा पालन गरेर ।

प्रस्तुतिः सिर्जना पन्त